News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा जेरियाट्रिक अन्कोलोजी विशेषज्ञ सेवा लगभग शून्य छ र राष्ट्रिय क्यान्सर नीति वा कार्यक्रममा यो स्पष्ट रूपमा समावेश छैन।
नेपालमा औसत आयु बढेसँगै क्यान्सरका नयाँ केसहरू तीव्र रूपमा बढिरहेका छन् । ग्लोबल बर्डन अफ डिजिज २०१७ को एक अध्ययनअनुसार नेपालमा क्यान्सरको आयु–समायोजित घटना १०१.८ प्रति १ लाख र मृत्युदर ८६.६ प्रति १ लाख थियो । क्यान्सर कुल मृत्युको करिब १० प्रतिशत कारण बनेको छ, र अस्वस्थ जीवन वर्षको लगभग ५.६ प्रतिशत ओगटेको छ ।
विशेष गरी, क्यान्सरको घटना ६० वर्षभन्दा माथिका उमेर समूहमा उच्च छ । ६०-७० वर्ष उमेर समूहमा क्यान्सरको संख्या सबैभन्दा बढी रहेको अध्ययनहरूले देखाउँछन् ।
तर ८० वर्षभन्दा माथिका व्यक्तिमा आयु–विशिष्ट दर उच्च हुन्छ किनकि उमेर बढ्दै जाँदा क्यान्सरको जोखिम बढ्छ । जनसंख्या–आधारित क्यान्सर रजिस्ट्री डाटाअनुसार, ग्रामीण क्षेत्रका वृद्धहरूमा पहिले नै क्यान्सर पत्ता लाग्ने तर उपचार पहुँच कम हुने देखिन्छ ।
नेपालमा धेरै देखिने क्यान्सरमा स्तन क्यान्सर, फोक्सो, पाठेघरको मुख, पेट र मुखको क्यान्सर हुन्, जसमध्ये धेरैजसो वृद्ध उमेरमा देखिन्छन् । वृद्ध बिरामीहरूमा बहुरोगको समस्या हुन्छ । जस्तै: मधुमेह, उच्च रक्तचाप, मुटु रोग र कमजोरीले उपचारलाई जटिल बनाउँछ ।
जेरियाट्रिक अन्कोलोजीको आवश्यकता र नेपालको वर्तमान अवस्था
जेरियाट्रिक अनकोलोजी भन्नाले वृद्ध क्यान्सर बिरामीको स्वास्थ्यलाई हेर्ने दृष्टकोण हो । वृद्ध क्यान्सर रोगीको स्वास्थ्यलाई धेरै कोणबाट हेरिन्छ । जस्तै: शरीर कति कमजोर छ, सम्झने÷सोच्ने क्षमता कस्तो छ, धेरै औषधि खानुपरेको छ कि छैन, खानपिन राम्रो छ कि छैन, अनि घर–परिवारको सहयोग कति छ ?
यी कुराको आधारमा बिरामीलाई उचित र व्यक्तिगत उपचार योजना बनाइन्छ । यसका लागि ‘कम्प्रिहेन्सिभ जेरियाट्रिक असेसमेन्ट’ भन्ने मूल्यांकनविधि प्रयोग हुन्छ, जसले उपचार धेरै कडा वा धेरै कम हुने अवस्थाबाट बचाउँछ ।
तर नेपालमा जेरियाट्रिक अन्कोलोजी विशेषज्ञ सेवा लगभग शून्य छ । अधिकांश क्यान्सर केन्द्रहरू जस्तै नेपाल क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल, नेपाल मेडिसिटी, केसीसीमा सामान्य मेडिकल÷सर्जिकल÷रेडिएसन अन्कोलोजी सेवा छन्, तर जेरियाट्रिक–विशेष टिम छैन ।
राष्ट्रिय क्यान्सर नीति वा कार्यक्रममा जेरियाट्रिक अन्कोलोजी स्पष्ट रूपमा समावेश छैन । २०१७ मा प्यालिएटिभ केयर नीति आए पनि, जेरियाट्रिक अन्कोलोजीलाई अलग्गै व्याख्या गरिएको छैन ।
स्वास्थ्यकर्मीहरूलाई जेरियाट्रिक अन्कोलोजी तालिम कम छ । धेरै अस्पतालमा जेष्ठनागरिकमैत्री दिशानिर्देश वा नीति छैन । वृद्ध बिरामीहरू उमेरकै आधारमा उपचारबाट वञ्चित हुन्छन् वा अवस्था मूल्यांकन नगरी आक्रामक उपचार पाउँछन्, जसले जटिलता बढाउँछ ।
थप चुनौतीहरू:
बहु–विषयक टिम अन्कोलोजिस्ट, जेरियाट्रिसियन, प्यालिएटिभ केयर स्पेशलिस्ट, न्यूट्रिसनिस्ट, फिजियोथेरापिस्ट, मनोवैज्ञानिक र सामाजिक कार्यकर्ताको अभाव ।
ग्रामीण र शहरी असमानता : ग्रामीण क्षेत्रमा पहुँच कम, उपचार ढिलो ।
आर्थिक बोझ : वृद्धहरू प्रायगरी परिवारका अरू सदस्यमा निर्भर हुन्छन् । उपचार महँगो ।
प्यालिएटिभ केयर : केही अस्पतालमा प्यालिएटिभ युनिट छन्, तर जेरियाट्रिक विशेष छैन ।
सुझावहरू:
-राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति तत्काल बनाएर जेरियाट्रिक अन्कोलोजी समावेश गर्नुपर्छ ।
-प्रमुख क्यान्सर केन्द्रहरूमा जेरियाट्रिक असेसमेन्ट भन्ने मूल्यांकन सेवा अनिवार्य गर्नु पर्छ र जेरियाट्रिक अन्कोलोजी एकाई स्थापना गर्नुपर्छ ।
-स्वास्थ्यकर्मीका लागि जेरियाट्रिक अन्कोलोजी तालिम कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
-वृद्ध क्यान्सर बिरामीका लागि विशेष बजेट, सहुलियतको व्यवस्था हुनुपर्छ ।
स्वास्थ्य संस्था तथा अस्पतालका संरचना जेष्ठनागरिकमैत्री बनाउनुपर्छ ।
जेरियाट्रिक अन्कोलोजी उपचार सही बिरामीलाई सही समयमा, सही मात्रामा र गुणस्तरीय जीवन जोगाउने उपचार हो । नेपालले अब वृद्ध बिरामीलाई स्वास्थ्य प्रणालीको केन्द्रमा राख्नुपर्छ—यो मात्र नैतिक दायित्व होइन, आवश्यकता पनि हो ।
प्रतिक्रिया 4