+
+

विल स्मिथले दिए ओस्कारबाट राजीनामा, विश्लेषक भन्छन्- कथाको अन्त्य होइन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते ११:१५

काठमाडौं । ओस्कार अवार्ड थप्पड प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । कमेडियन क्रिस रकलाई थप्पड हानेपछि चर्किएको विवादका बीच अभिनेता विल स्मिथले ओस्कार एकेडेमीबाट राजीनामा दिएका छन् । राजीनामा पत्रमा उल्लेख छ, ‘९४ औं एकेडेमी अवार्ड प्रस्तुतिमा मेरा कार्यहरु स्तब्ध, पीडादायी र अक्षम्य थिए ।’

स्मिथले बुझाएको राजीनामालाई स्वीकृत गर्दै एकेडेमीले उनीविरुद्धको अनुशासन कारबाहीको प्रक्रिया निरन्तर रुपमै अघि बढ्ने जनाएको छ ।

एलोपेसिया रोगको कारण कपाल झर्ने स्वास्थ्य अवस्थासँग संघर्ष गरिरहेकी पत्नी जेडा स्मिथलाई लिएर क्रिस रकले सोमबार बिहानको ओस्कार समारोहमा ठट्टा गरेपछि स्मिथले थप्पड हानेका थिए ।

त्यसको एक घण्टापछि नै विश्व टेनिसका दुई स्टारहरु सेरेना र भेनसमाथिको बायोपिक फिल्म ‘किङ रिचर्ड’ फिल्मबाट स्मिथले सर्वोत्कृष्ट अभिनेताको अवार्ड उचालेका थिए ।

‘मैले चोट पुर्‍याउनेहरुको सूची लामो र यसमा क्रिस र उनको परिवार, मेरा धेरै प्रिय साथी र विश्वभर रहेका मेरा दर्शक छन्,’ स्मिथले विज्ञप्तिमा भनेका छन् ।

उनले अगाडि उल्लेख गरेका छन्, ‘मैले एकेडेमीको विश्वासलाई धोका दिएँ । मैले अन्य मनोनित र विजेतालाई उनीहरुको असाधारण कामको लागि उत्सव मनाउने अवसरबाट वञ्चित तुल्याएँ । म यसप्रति दुःखी छु ।’

द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेज विश्वभर १० हजार जना सदस्य भएको संस्था हो । संस्थामा मनोनित हुन केही मापदण्ड छन्, त्यहाँ दुईपटक मनोनयन भएको सदस्यले मात्र नयाँ सदस्यलाई सिफारिस गर्न पाउँछ ।

एकेडेमी अध्यक्ष डेभिड रुबिनले अभिनेता स्मिथको राजीनामालाई स्वीकार गरिएको र उनीविरुद्धको अनुशासन कारबाहीको प्रक्रिया अघि बढ्ने बताएका छन् । रक भने यतिबेला अमेरिकाव्यापी कमेडी सोमा व्यस्त छन् ।

बुधबार बोस्टनमा स्ट्यान्ड-अप शो प्रस्तुत गरेका रकले स्मिथविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे विचार गरिरहेको बताएका थिए । तर विश्लेषकहरु राजीनामाले मात्र कथाको अन्त्य नहुने बताउँछन् ।

बीबीसीका विश्लेषक पिटर भोउजले केही सातामै यो विवादले एउटा आकार लिने बताउँछन् । ‘हलिउड क्षमा दिने थलो हो । स्मिथ अहिले पनि त्यहाँ लोकप्रिय छन् । उनी आगामी फिल्म ओफ्रा विन्फ्रेसँग गर्दैछन्, सायद यसले विवादलाई एउटा किनारा दिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?