+
+
Shares

एमाले पुनर्गठन विवाद : भोलि सचिवालय, पर्सिदेखि केन्द्रीय कमिटी बैठक बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते २१:४१

३ असोज, काठमाडौं । नेकपा एमालेको पुनर्गठन विवाद अब केन्द्रीय कमिटी बैठकसम्म पुग्ने देखिएको छ । पार्टी नेतृत्वबीच सहमति जुट्न नसकेपछि सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

जसअनुसार भोलि बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाइएको छ । त्यसपछि दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक बस्नेछ । दुवै बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछन् ।

त्यसपछि पर्सि सोमबारदेखि तीन दिनसम्म चल्नेगरी केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठक भने ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने तय भएको छ ।

फागुन २१ को निर्वाचनमा नराम्रो नतिजा आएपछि एमालेभित्र पुनर्गठनको बहस उठेको थियो । यो बहसलाई विगतमा अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले नै तीव्र पारेका थिए ।

पार्टीको सचिवालयस्तरकै नेताले बहस थालेपछि त्यसबारे छलफल गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन भएको थियो ।

उक्त कार्यदलले सातै प्रदेशमा पुगेर नेताकार्यकर्ताको धारणा सुनेर आएको थियो । त्यसपछि महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओलीले पद छाडेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने समीक्षा गरिएको छ ।

त्यसमा असन्तुष्ट बनेका अध्यक्ष ओलीको निर्देशनअनुसार कार्यदल संयोजक बादललाई अर्को प्रतिवेदन तयार पार्न भनेका थिए । जसमा ओलीले नेतृत्व छाड्न नहुने समीक्षा गरिएको छ ।

त्यसपछि दुवै प्रतिवेदनलाई समायोजन कार्यदलमा भएको प्रयासमा सहमति जुटेको थिएन । सहमति नजुटे पनि ओलीले नेता प्रदीप ज्ञवालीलाई अर्को प्रतिवेदन तयार पार्न निर्देशन दिएका थिए । त्यो प्रतिवेदन शनिबार तयार भइसकेको छ ।

त्यसमा पुनर्गठन पक्षधरले चित्त नबुझाएको एमाले स्रोत बताउँछ । यसरी यो विषय नेतृत्व तहमा विवादित हुँदै केन्द्रीय कमिटीसम्म पुग्ने देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?