+
+

निफमा ‘महानगर’को प्रिमियर, चाँडै हलमा प्रदर्शन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १२:१७

काठमाडौं । मोहन राई निर्देशित फिल्म ‘महानगर’लाई काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा प्रिमियर गरिएको छ ।

निर्माता, निर्देशकसहित फिल्मका प्रमुख कलाकार कर्मा र मेनुका प्रधान प्रिमियरमा उपस्थित थिए । अभिनेत्री प्रधान तीन वर्षपछि कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएकी हुन् ।

सडक दुर्घटनामा घाइते भएकी मेनुका त्यसयता स्वास्थ्यलाभ गरिरहेकी थिइन् । प्रिमियरमा बोल्दै निर्देशक राईले फिल्मलाई हलमा प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी दिए । फिल्मको प्रदर्शन मिति चाँडै घोषणा गरिने पनि उनले बताए ।

अभिनेता कर्माले गम्भीर दर्शकले ‘महानगर’लाई रुचाउने बताए । उनले फिल्म छायांकनको अनुभव सुनाउँदै राम्रो क्राफ्ट बनेको बताए ।

केही अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत स्क्रिनिङ भइसकेको फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारीमा निर्माता थिए । तर महामारी ओरालो लागेको र दर्शक फर्कन सुरु गरेको बेला फिल्मलाई हलमै रिलिज गर्ने तयारी भएको छ ।

कर्मा र मेनुकाको मुख्य भूमिका रहेको फिल्मले एक रातको कथा प्रस्तुत गर्छ । सानो घटनाको कारणसँगै रात बिताउन बाध्य उनीहरुको जीवनमा उक्त रातले ल्याउने परिवर्तन फिल्मको कथा हो । अनोज पाण्डे, शोभिता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा र चन्द्र पाण्डेले पनि यो फिल्ममा अभिनय गरेका छन् ।

निर्देशक राई स्वयंको लेखन रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् भने संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ ।

आफू अभिनित फिल्म ‘साइँली’ रिलिजताका स्कुटर दुर्घटनामा परेर घाइते भएपछि मेनुका फिल्म प्रचारप्रसारमा पनि हिंडेकी थिइनन् । त्यसपछि कोरोना महामारीले फिल्म क्षेत्र नै ठप्प रह्यो । जसकारण तीन वर्षपछि मेनुका फिल्मी कार्यक्रममा सहभागी भएकी हुन् ।

शुक्रबारदेखि जारी निफमा आइतबार फिल्म र अभिनयका विविध विषयवस्तुमा छलफल कार्यक्रमको समेत आयोजना गरिएको छ । शनिबार कस्तोलाई राम्रो अभिनय मान्ने भन्ने विषयमा विपिन कार्की र सुरक्षा पन्तले छलफलमा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?