+
+
संस्कृति :

जात्रैजात्राको योग, १२ वर्षे मेलाको संयोग

हरिसिद्धिको १२ वर्षे नाच पनि काठमाडौं उपत्यकाका यही वर्ष नाचिँदै छ । विभिन्न समयमा छुट्टाछुट्टै ठाउँमा गएर नाचिने यो नाच काभ्रेको धुलिखेल, काठमाडौंको जय बागेश्वरी, ललितपुरका विभिन्न ठाउँमा छुट्टाछुट्टै मितिमा नाच्ने गरिएको छ । यो पौराणिक कथामा आधारित जात्रा हो ।

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ चैत २१ गते ८:१६

२१ चैत, काठमाडौं । हरेक महिना कुनै न कुनै जात्रा/पर्वले विशेष बनाउने काठमाडौं उपत्यकामा १२ वर्षे नाच/जात्राहरुले झनै सांस्कृतिक माहोल चुलाएको छ । अमूर्त सांस्कृति सम्पदाको रुपमा मानिने यस्ता जात्रा पर्वमध्ये पनि उपत्यकामा मनाइने महत्वपूर्ण ३ वटा १२ वर्षे मेला यही वर्ष मनाइएको छ । यसले पनि उपत्यकाको सांस्कृतिक गतिविधिमा थप योगदान दिएको छ ।

वैशाखमा ललितपुरमा हुने रातो मत्स्येन्द्रनाथको रथयात्राको तयारी तीव्र रुपमा चलिरहेको छ । त्यस्तै, भक्तपुरमा पनि वैशाखमै हुने बिस्का जात्राको तयारी चलिरहेको छ । ललितपुरको हरिसिद्धिबाट सुरु हुने हरिसिद्धि नाच र नरदेवीको १२ वर्षे नाच अहिले चलिरहेको छ भने पनौतीमा चल्ने १२ वर्षे मकर मेला सम्पन्न भइसकेको छ ।

आइतबारदेखि काठमाडौंको नरदेवीमा ऐतिहासिक १२ वर्षे देवी नाच सुरु भएको छ । आइतबार रातिबाट सुरु भएको यो नाचमा मूल देवघरबाट देवगणको आगमनसँगै कान्तिपुर नगर भित्रका देवगण हिँड्ने मूल मार्ग परिक्रमा गरेर यसको शुभारम्भ गरिएको हो । काठमाडौंको प्राचीन बस्ती नरदेवीमा रहेकी ङतभुलु अजिमाको पर्वका रूपमा विभिन्न रुपधारण गरेर नाचिने नाच पाटनको कार्तिक नाच डबली, काठमाडौँको दश अवतार डबली र कीर्तिपुरको लायकु डबलीमा समेत नचाउने गरिन्छ ।

लिच्छविकालीन राजा मानदेवको पालादेखि सुरु भएको मानिने पनौतीको १२ वर्षे मकर मेला माघमा सकिइसकेको छ । कोरोनाको तेस्रो लहरको जोखिमका बीच पनौतीस्थित त्रिवेणीघाटमा आयोजना भएको मेलामा ५० लाखभन्दा धेरै तीर्थालुले भ्रमण गरेको आयोजकको दाबी थियो ।

पनौतीको मकर मेला

१२ वर्षमा मनाइने पनौतीको मकर मेला कोरोना महामारीको भयका बीच माघ महिनामा सम्पन्न भयो । स्थानीय प्रशासनले मेला भव्य रुपमा नमनाउने निर्णय गरेपनि नेपाल तथा भारतबाट आएका दर्शनार्थीहरुको घुइँचो देखिन्थ्यो । पुण्यमाता, रोशी र पद्मावती नदीलाई गंगा, यमुना र सरस्वती नदीको प्रतिरुप मानेर त्रिवेणीघाटलाई प्रयाग जस्तै पवित्र तीर्थ मान्ने गरिन्छ । अहिले त्रिवेणीमा दुईवटा मात्रै नदी भेटिन्छ । तर पद्मावती नदी गुप्त रुपमा बगेको भन्ने स्थानीयको विश्वास छ । ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती हो भन्ने स्थानीयको विश्वास छ ।

त्यसो त ऐतिहासिक स्रोतले पनि त्यो ठाउँलाई महत्वपूर्ण मानेको छ । वि.सं. १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि रानीपोखरीमा राखेर प्रताप मल्लले पनौतीको त्रिवेणीको महत्व पुष्टि गरेको भन्ने इतिहासकारहरुको मत छ । उनले पनौतीको त्रिवेणीको जल समेत राखेको कुरा शिलालेखमा पनि उल्लेख गरेका छन् ।

हरिसिद्धीको १२ वर्षे मेला

हरिसिद्धिको १२ वर्षे नाच पनि काठमाडौं उपत्यकाका यही वर्ष नाचिँदै छ । विभिन्न समयमा छुट्टाछुट्टै ठाउँमा गएर नाचिने यो नाच काभ्रेको धुलिखेल, काठमाडौंको जय बागेश्वरी, ललितपुरका विभिन्न ठाउँमा छुट्टाछुट्टै मितिमा नाच्ने गरिएको छ । यो पौराणिक कथामा आधारित जात्रा हो । यसको पनि काठमाडौं उपत्यकामा जात्रा सुरु भएको छ ।

ललितपुरको उक्त पौराणिक तथा ऐतिहासिक हरिसिद्धि १२ वर्षे नाच यही चैत्र १८ देखि २१ गतेसम्म धुलिखेलमा देखाइने भएको स्थानीयले बताएका छन् । ललितपुरको हरिसिद्धिबाट देवघान आई धुलिखेल नगरमा नाच्ने गर्दछन् ।

नेपालमा हरिसिद्धि देवीसित सम्बद्ध स्थलहरु अनेकौं भएपनि ललितपुर र धुलिखेलको देवीलाई बढी प्रसिद्ध मानिन्छ । धुलिखेलमा हरिसिद्धिलाई ललितपुरबाटै लगेर स्थापना गरिएको स्थानीयको विश्वास छ ।

त्यसो त हरिसिद्धि जात्राको माहोल कात्तिकदेखि नै सुरु भएको हो । ललितपुरस्थित हरसिद्धि त्रिशक्ति भवानीको स्वाँ तपुली प्याखँमा प्रत्येक १२ वर्षमा भाइटीकाको राति तान्त्रिक नाच देखाएर हरिसिद्धि जात्राको तयारी गरिन्छ । हरिसिद्धि मन्दिर अगाडिको डबलीमा बिनामुकुण्डो नाच निकालिन्छ । नाचमा देवगणले मुकुण्डोको बदलामा फूलको पगडी लगाई नृत्य प्रस्तुत गर्ने भएकोले ‘स्वाँ तपुली प्याखुँ’को नामले नाच प्रसिद्ध रहेको स्थानीय बताउँछन् ।

शताब्दीपछि दोलखामा पनि १२ वर्षे मेला

हरिसिद्धि नाचलाई यसपटक दोलखामा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ । फागुन दोस्रो साता हरिसिद्धि नाचका देवगणहरुले भीमेश्वर नगरप्रमुख भरत बहादुर केसीलाई भेटेर यो चैत मसान्तसम्म दोलखामा पनि नाच नाच्ने प्रतिबद्धता जनाएका थिए । नगरप्रमुख केसीका अनुसार यही चैत २१ देखि २५सम्म मनाउने तयारी छ । १२ वर्षे नाचलाई दोलखासम्म नचाउने परम्परा राजा अमर मल्लले नेपाल सम्वत ६८० (वि.सं. १६१६) तिर बसालेको देवमाला वंशावलीमा उल्लेख छ ।

हरिसिद्धि मन्दिरको गुठियार तथा देवगण खलकले करिब एक शताब्दीपश्चात् दोलखाको अभयपुर शहरको तल्लो टोलमा अवस्थित चक्र डबलीमा हरसिद्धि देवी नाच यो वर्ष मनाउने निर्णय गरेका हुन् ।

नरदेवीको १२ वर्षे जात्रा

त्यस्तै, काठमाडौंको नरदेवीबाट सुरु हुने श्वेतकाली अजिमाको १२ वर्षे जात्रा पनि सुरु भएको छ । नरदेवीमा मल्लकालीन समयदेखि सुरु भएको मानिन यो जात्रा हरेक १२ वर्षमा धुमधामका साथ मनाइन्छ । जात्रासँगै श्वेतकाली अजिमा नरदेवीको देवी नाच पनि प्रदर्शन गरिन्छ । देवीको मन्दिरअगाडि रहेको मूल डबलीमा देवी नाच प्रदर्शन गर्ने परम्परा रहेको स्थानीय बताउँछन् ।

जय बागेश्वरीमा २५–२७ चैतमा १२ वर्षे मेला

हरिसिद्धि नाच अन्तर्गत् नै जयबागेश्वरीमा १२ वर्षपछि यसवर्ष चैत २५ गते दिउँसो जयबागेश्वरी ल्याउने कार्यक्रम छ । साथै, २६ र २७ गते जात्रा गरेर टोलीलाई बिदा गरिने जयवागेश्वरी युवा क्लवका अध्यक्ष दीलिप वैद्यले जानकारी दिए । यो पनि हरिसिद्धि जात्राको एउटा भाग रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?