+
+

महोत्तरीमा चैते बाली थन्क्याउन माटाका कोइठको अभाव

लोप हुँदै थारु संस्कृति

रासस रासस
२०७८ चैत २१ गते १२:५६

२१ चैत, महोत्तरी । चैतेबाली धमाधम काटिन थालेपछि जिल्लाको भङ्गाहा नगरपालिका-४ पलार बस्तीका चौठी बाँतर बाली थन्क्याउने चिन्ताले पिरोलिएकी छिन् ।

गहुँ, रहर, चना, मसुरोसहितका चैते बाली धमाधम काटिन थालिएसँगै यी बाली कसरी सुरक्षित राख्ने कुराले उनलाई पिरलेको हो ।

पछिल्लो समयमा गाउँघरतिर चाँडै घुन लाग्ने चामल, गहुँ, मुसुरो, चना (बदाम) र रहरलगायतका खाद्यान्न भण्डारण गर्न बनाइने माटाका कोइठ बन्न लगभग छाडिसकेको छ । यसबाट किसानमा बाली सुरक्षित भण्डारण गर्नेबारे चिन्ता देखिएको हो ।

अन्नपात सुरक्षित भण्डारणका लागि विगतमा घरघरै माटाका कोइठ बनाइन्थे । यसको अभावमा चाँडै घुन लाग्ने खाद्यान्न सुरक्षित भण्डारणमा समस्या भएको किसानको भनाइ छ ।

‘प्रत्येक घर÷घरमा माटाका कोइठ (भकारी)मा बाली राखेपछि घुन लाग्दैनथ्यो’ ८० वर्षीया बाँतर भनिन्, ‘अब पुराना कोइठ फुटेर गए, नयाँ बन्न छाडेपछि चैतेबाली सुरक्षित कसरी राख्ने भन्ने चिन्ता छ ।’

लिसाइलो माटो मुछेर बनाइने कोइठमा राखिने बालीमा घुन नलाग्ने भएकाले पाका किसानलाई यसको अभाव खट्किएको छ । ‘माटाका कोइठमा बाली राखेपछि ढुक्क भइन्थ्यो, न घुनले खाने डर..न पोखिने चिन्ता !’ भङ्गाहा-४ कै रामनगर बस्तीकी इजोतीया चौधरीले भनिन्, ‘अब त घरमै आफै खान राखिने खाद्यान्न घुनबाट बचाउन पनि जानाजान विषादी मिसाउन पर्ने भयो ।’

चामल, चना, रहर, गहुँ र मुसुरोजस्ता चाँडै घुन लाग्ने खाद्यान्न अब माटाका कोइठ बन्न छाडेपछि विषादि मिसाएर राख्नु परेको किसानको गुनासो छ । ‘हेर्नोस न जानाजान विष खान तयार छौं’ उनले भनिन्, ‘माटाका कोइठमा यी खाद्यान्न राखेर माटाकै ढक्कनले घ्याप्प छोपेपछि वर्षौंसम्म जस्ताको त्यस्तै रहन्थ्यो, खै अबका छोरी, बुहारी त के हो कोइठ भनेर सोध्न थाल्याछन् , खै के भनौँ ?’

खास गरी थारु समुदायमा माटाका कोइठ बनाउने कुरा कौशलको रुपमा लिने गरिन्थ्यो । माटाका कोइठ खाद्यान्न सुरक्षाका लागि भरपर्दो हुने र यो बनाउने कुरा कौशल र थारु संस्कृतिसँग जोडिदा बुहारी छनौट गर्दा कन्यार्थीले यो सीपबारे सोधपुछ गर्ने गरेका गौशाला नगरपालिकाको बिसरपुरका बासिन्दा अमरेन्द्र चौधरी थारुले बताए ।

‘हाम्रो जातिमा दुई दशक पहिलेसम्म जतिसुकै सम्पन्न भए पनि कन्या खोजिदा तिनले माटाका कोइठ बनाउन, काँस (एक प्रकारको वनस्पति)को गुवोबाट ढकी बनाउन जानेका छन् कि छैनन् सोधिन्थ्यो’, उनले भने, ‘अब त ती सबै कुरा हराइ सके, अनि के कोइठ देखिनु ?’ माटाका कोइठ बन्न छाडेपछि आफ्नो जातीय संस्कृति र पहिचानको कुरा पनि ओझेलमा परेको उनको थप भनाइ छ ।

कोइठ बन्न छाडेपछि सघन थारु बसोबासका जिल्लाका भङ्गाहा, धर्मपुर, भीमगढ, बखरी, मेघरोल, मझौलिया, बनरा, गोरहन्ना, हरखपुर, विशरपुर, पर्सा, निगौल र रजखोरसहितका बस्तीका थारु पनि अब खाद्यान्न थन्क्याउन प्लाष्टिकका डोल, बाल्टिन र ड्रम प्रयोग गर्न थालेका छन् ।

‘के गर्नु बाबु, आफ्ना नौ नाडि बसी हाले’ बखरी थारु बस्तीकी पारोवती राय भनिन्, ‘अबका छोरी, बुहारीले यसौ सिकौ भन्ने चासो नै देखाउँदैनन्, अब केही वर्षपछि त कोइठ भनेर देखाउने कुरा के रहला र ?’ पछिल्लो पुस्ताको अरुचीले अब हस्तसीपको खास नमुना मानिने कोइठ बन्न छोडेको कुरामा आम थारु सहमत देखिन्छन् ।

तराई क्षेत्रमा थारु महिलाकै सामिप्यताले अन्य जातजातिका महिलाले पनि माटाका भाडो (कोइठ) बनाउन सिक्ने गरे पनि थारु समुदायमै यो कुरा हराउन थालेपछि अन्त के खोज्नु ? भन्ने बुढापाकाले गुनासो गर्दै आएका छन् ।

विगतमा कस्का कस्ता कोइठ भनेर सामाजिक प्रदर्शन र चर्चा नै हुने गरेको कुरा अब पछिल्लो पुस्तालाई कथा बन्न पुगेको शिक्षण पेसाबाट अवकास लिनुभएका भङ्गाहा–७ मेघरोल बस्तीका ६५ वर्षीय चन्द्रनारायण सिंह थारुले बताए ।

प्रत्येक दिनको अलिकति फुर्सतको क्षण निकालेर महिनौं लगाएर तयार गरिने कलात्मक कोइठ हेर्न बस्तीमा हल्लीखल्ली नै हुने गरको विगत सम्झँदै चेतन ठाकुरले भने, ‘अब यो कुरा नातिनातिनालाई सुनाउने कथाजस्तै भयो ।’

चार दशक अघिसम्म तराईमा बिघौंबिघा जग्गाका मालिक हुँदा एउटै घरमा निक्कै गहुँ, चना, रहरलगायतका फसल हुने र चामल पनि निक्कै थन्क्याउनुपर्ने भएकाले त्यतिबेला घुनबाट खाद्यान्न बचाउन कोइठ बनाउने चलन रहेको बुझिन्छ तर पछिल्ला वर्षहरूमा जग्गाको स्वामित्व घट्दै गएर केही कठ्ठा बिघाको स्वामित्व बाँकी रहेपछि कोइठ बनाउने कुरा प्राथमिकतामा पर्न छाडेको बताउने पनि छन् ।

‘नयाँ पुस्ताको माटोको कोइठ बनाउने हस्तसीपबारे चासो नहुन त मुख्य कुरो छँदैछ’, मिथिला कला संस्कृतिबारे निरन्तर अध्ययन, अन्वेषण गरिरहनु भएका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलले भने, ‘अब जग्गाको स्वामित्व खुम्चँदै गएर चैते बाली उत्पादन मात्रा पनि परिवारमा कम हुन थालेपछि यसको आवश्यकता पनि महसुस हुन छाडिएजस्तो छ ।’

मिथिला कला, संस्कृति र परम्पराका पारखीले भने मिथिलाको यो पुरानो परिचयलाई बचाइ राख्नुपर्नेमा जोड दिएका छन् । स्थानीय परम्परा, संस्कृति, कला र साहित्य आफ्नो विशिष्ट पहिचान हुने भएकाले लोप हुँदै गएको माटोको कोइठ बनाउने परम्परालाई जोगाउन नयाँ पुस्ताले चाख देखाउन पर्ने बर्दिबास-९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका प्रधानाध्यापक हरिदेव महतोको भनाइ छ ।

यसका लागि आफूले साप्ताहिक एउटा अतिरिक्त कक्षा सीप जानेकाबाट माध्यमिक तहका छात्रालाई अभ्यास गराउन चाहेको उनले जानकारी दिए ।

माटोको कोइठमा विषादी नमिसाई खाद्यान्न सुरक्षित हुने भएकाले स्वच्छ र स्वस्थ खानेकुराको रक्षाका लागि कोइठको प्रचार र प्रवद्र्धन अहिले पनि आवश्यक भएको मत बढ्न सके यहाँका बस्तीमा फेरि यो सिर्जनशील हस्तसीपबारे चासो बढ्ने सामाजिक अभियानकर्मी बताउँछन् ।

माटोका कोइठमा राखिएका खाद्यान्न वर्षौंवर्षसम्म सुरक्षित रहने, स्वाद नबिग्रने र स्वस्थ्यकर हुने भएकाले यो सीप प्रवद्र्धन गर्न यहाँका स्थानीय तहले पनि चासो बढाउन पर्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाको सुझाव छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?