+
+
स्थलगत ४ : स्थानीय निर्वाचन २०७९ :

रातो कागज !

‘एउटा सेतो कागज दिएका छन् दिन त’ ५९ वर्षकी कुमालले भूमि आयोगले बाँडेको अस्थायी पुर्जा देखाउँदै भनिन्, ‘यो नक्कली हो भन्छन् क्यार ! सक्कली रातो पुर्जा दिन्छु भनेका छन् । तर, कहिले हो थाहा छैन ।’

बिनु सुवेदी, रामकुमार डिसी, सुवास पण्डित बिनु सुवेदी, रामकुमार डिसी, सुवास पण्डित
२०७८ चैत २२ गते २१:०६

२२ चैत, चितवन । ‘ल है ! यी पाँच जना सुकुम्बासीलाई कार्यक्रममा लिएर आउने जिम्मा तपाईंको भयो’, भरतपुर महानगरपालिकाका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपाने वडा नम्बर २ आँपटारीका आफ्ना प्रतिनिधिलाई निर्देशन दिंदै थिए ।

बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा लालपुर्जा पाउँदै गरेका ५० जना सुकुम्बासी भूमिहीनहरूको सूची तयार पारेको महानगरमा मंगलबार दिनभरजसो यही कार्यक्रमको चटारो चलिरह्यो ।

चुनाव आउनै लाग्दा महानगरभित्रका १० हजार ७६१ भूमिहीन सुकुम्बासी घरपरिवारमध्ये ५० परिवारलाई मात्रै लालपुर्जा बाँड्न लागेको महानगरले यसलाई आफ्नो ठूलो सफलताका रूपमा लिएको छ । तर महानगरका छेउछाउ बस्ने अति–सीमान्तकृत भूमिहीनहरूको अवस्था भने असाध्यै फरक छ, जसलाई महानगरपालिकाले यो पाँचवर्षे कार्यकालभर नजरअन्दाज गर्‍यो ।

अनलाइनखबरले कुराकानी गरेका चेपाङ, बोटे, कुमाल, मुसहर समुदायका नागरिकका अनुसार महानगरका जनप्रतिनिधि चुनाव जितेपछि एकपटक पनि फर्किएर आएनन् । अहिले चुनाव लागेपछि भोट माग्न भने बस्तीमा बारम्बार धाइरहेका छन् । बस्तीमा पुग्ने प्रत्येक पार्टीका प्रतिनिधिको प्रतिबद्धता आफूहरूलाई भोट दिए, आफ्नो नाममा जग्गा नभएका नागरिकलाई लालपुर्जा उपलब्ध गराउने छ ।

तर यसपालि ती नागरिकले नेताहरूको यो प्रतिबद्धतालाई पत्याएकै छैनन् । किनभने यसअघिका चुनावमा पनि उनीहरूले सुकुम्बासीलाई वितरण गरिने अस्थायी प्रमाणपत्र र चुनाव जितेपछि जग्गा नै दिन्छौं भन्ने आश्वासन धेरैपटक पाएका छन् । तिनैमध्येकी एक हुन् भरतपुर महानगरपालिका वडा नम्बर २८ मेघौलीमा बसिरहेकी सुकुम्बासी हरिकला कुमाल ।

हरिकला कुमाल

‘दिन त एउटा सेतो कागज दिएका छन्’ ५९ वर्षकी कुमालले भूमि आयोगले बाँडेको अस्थायी पुर्जा देखाउँदै भनिन्, ‘यो नक्कली हो भन्छन् क्यार, सक्कली रातो पुर्जा दिन्छु भनेका छन् । तर, कहिले हो थाहा छैन ।’

कुमाल मेघौलीमै जन्मिइन्, बिहे पनि त्यहीं भयो । उमेरले ६ दशक टेक्नै लाग्दा परिवारको आकार बढ्दै गयो, घर भरिभराउ भयो । तर बसिरहेको घरको न क्षेत्रफल बढ्यो, न हुर्केको जमिन आफ्नो हो भन्ने अनुभूति भयो । त्यसैले हरिकला र उनी जस्ता सुकुम्बासीको साझा सपना भन्नु नै उनीहरूकै भाषामा रातो कागज हो, जसलाई राज्यले लालपुर्जा नाम दिएको छ । ‘आफू बसेको थलोलाई मेरो नाममा बनाउन पाए खुसी हुन्छु’ उनको चाहना छ, ‘अरू त केही चाहिएको छैन मलाई ।’

लालपुर्जा पाए, त्यो छोराछोरीलाई दिने योजना छ । उहिल्यै एउटा मिर्गौला गुमाएकी उनले आफ्नो घरमै एउटा सानो किराना पसल थापेकी छिन् । उनको यो अल्झने बाटो हो । गुजारा चलाउन उनको परिवारले अरूको जमिन ठेक्कामा लिएर खेतीपाती गथ्र्यो । अहिले त्यो पनि टुटेको छ । यसको कारण सुनाउँदै हरिकलाले भनिन्, ‘पहिले ठेक्का लिन्थ्यौं । त्यसको पैसा तिर्न सकेनौं । त्यो पनि अहिलेदेखि छोडिदियौं ।’

६१ वर्षकी गंगा बोटेको पनि सपना उही हो, रातो कागज अर्थात् सक्कली लालपुर्जा पाउने । ‘रातोमा दिए पो पक्का लालपुर्जा’ उनी सुनाउँछिन्, ‘एक पानाको सेतो कागज दिएको छ । यो त सक्कली होइन रे !’

चुनावको मुखैमा पुगेका नेताहरूले यस्ता सेता कागज धेरैचोटि बाँडिसकेका छन् उनीहरूलाई । त्यही कागजको रङ बदलिएर रातो होला भन्ने पर्खाइमा बस्दाबस्दै यसपालिको चुनावले पनि छोपिहाल्यो । घरदैलो गर्दै विभिन्न नेता–कार्यकर्ता उनीहरूको बस्तीमा पुगिसकेका छन् ।

गंगाको बस्तीमा पनि दलहरूलाई चुनाव लागेको छ । थरी–थरीका पार्टीका नेता–कार्यकर्ता आएर भोट मागिरहेका छन् । भोट माग्न बस्ती छिरेका दलहरूले दिने आश्वासन पनि दिइरहेका छन् । गंगाका श्रीमान् मंगले यसपालि भोट दिए, पक्का लालपुर्जा दिने आश्वासन दलहरूले बाँडेको हामीलाई सुनाए ।

‘यसपालि भोट हाल्नुहोस्, अर्कोपालि लालपुर्जा नै दिन्छौं भनेको छ’, उनले भने ।

गंगा थप्छिन्, ‘सबै आएर हामीलाई भोट दिनैपर्छ भन्छन् । दिन्छौं भन्नै पर्‍यो ।’

गंगा बोटे

गंगा र मंगलेको परिवारको दुई कट्ठा जमिन छ, जग्गा–जमिनको भोगचलन वर्षौंदेखि गर्दै आएका छन् । तर जमिन आफ्नो नाममा छैन । धेरैले धेरै पटक उनीहरूलाई यस्ता सेतो कागज बाँडेका छन् । सरकारले दिन चाहेमा कुनै अप्ठ्यारो पनि छैन । तर कसैले पनि सक्कली लालपुर्जा हात पारिदिएका छैनन् । सायद दलहरू लालपुर्जा बोटे, कुमाल परिवारका हातमा थमाए भोटको राजनीति सकिन्छ भन्ने सोच्छन् ।

‘पहिले कांग्रेसले पनि यही कागज दिएको हो, अहिले पनि यही कागज दिएका छन्’ मंगले बोटे भन्छन्, ‘लालपुर्जा दिने, नदिने उनीहरूकै हातको कुरा हो क्यारे !’ एकातिर आफूहरूको दुःख नहेर्ने अर्कातिर रोजीरोटीका लागि गर्दै आएको परम्परागत पेशा पनि खोस्ने राज्यको रवैयाले मंगलेको मन दुखेको छ । पश्चिम चितवनको राप्ती र नारायणी किनारमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरूले अहिले त्यो पनि गर्न पाउँदैनन् ।

मत माग्दै एमाले, कांग्रेस, माओवादी घरदैलो अभियान लिएर त्यहाँ पुगेका छन् । गंगाको परिवारमा चार भोट छन् । कसलाई मत दिनुहुन्छ भन्ने प्रश्नमा मंगलेले भने, ‘भोट त दिनैपर्‍यो । सबै पार्टीलाई बाँडेर एउटा–एउटा दिनुपर्ला ।’

सबै पार्टीलाई भोट दिए जसको सरकार आए पनि लालपुर्जा देओस् भन्ने उनको चाहना छ ।

मेलापात, ज्याला मजदुरी र अरूको जमिन ठेक्कामा लिएर उब्जेको अन्नबाट जसोतसो यहाँको बस्तीले काम चलाउँछ । एकातिर लालपुर्जा नपाउनुको चिन्ता, अर्कोतिर जंगली जनावरको आक्रमणमा परिने डर छ । सामुदायिक वनको छेउमै रहेको यो ऐलानी बस्ती सधैं जंगली जनावरको त्रासमा बाँच्नुपर्छ । त्यही भएर ‘यहाँ भन्दा अन्तै सारिदिए हुन्थ्यो’ भन्छिन् गंगा ।

६० वर्षका सोमबहादुर बोटेको पनि यो ठाउँ छोड्ने चाहना छ । ‘अन्तै सारिदिए जाने हो’ उनले भने, ‘हात्ती, गैंडाको डर हुन्छ । रोनाल्डो, ध्रुवे र गोविन्दे तीन वटा हात्ती यहाँ छन् । दुईवटा हात्ती अलि डराउँछन्, ध्रुवे त ठाडै हान्न आउँछ ।’

‘हिजो पनि मान्छे लखेट्यो रे !’ उनले थपे ।

सोमबहादुर दाउरा काट्ने, बुटा ढाल्ने काम गरेर गुजारा चलाउँछन् । लालपुर्जा नभएको थोरै ऐलानी जमिन छ, त्यसमा पनि उनले खेती गर्न पाउँदैनन् ।

सोमबहादुर बोटे

भएको जमिनमा पनि उनले झुप्रो छाउन खर रोपेका थिए । ‘घर बचाउनैपर्‍यो’ बाँझो जमीन र भर्खर छाएको घर देखाउँदै उनले भने, ‘किन्न पैसा हुन्न, (खर लगाउँदा) भएको यत्ति जमिनमा पनि खेती गर्न पाइनँ ।’

भरतपुर महानगरपालिकाको तथ्यांक अनुसार महानगरभित्र अव्यवस्थित बसोबास गरिरहेका ५ हजार २, भूमिहीन सुकम्बासी ३ हजार ७८५, भूमिहीन दलित १ हजार ९७४ घरपरिवार छन् ।
शहरभित्रका गरिबको यो संख्याबारे महानगरलाई थाहा छैन । यद्यपि लक्षित समूहलाई भनेर यो आर्थिक वर्षमा करिब १६ करोड छुट्याएको छ । विनियोजित बजेटमध्ये अधिकांश रकम न्यानो कपडा र राहत बाँड्दै सकिन्छ ।

तर सुकुम्बासी, भूमिहीन र सीमान्तकृत समुदायले चाहेको समस्याको स्थायी समाधान हो । ‘हामी यहाँ बसेको अहिलेदेखि होइन । एउटा आउँछ, एउटा कुरा गर्छ । केही टुंगो लगाउने होइन’ ४२ वर्षका ब्रह्मदेव बोटेले अनलाइनखबरसँग भने, ‘अस्ति कुपन दिएको भन्दै थिए क्यारे ! दुई तीन चोटि भइसक्यो यस्तो दिएको । अहिलेसम्म केही पनि भएको छैन ।’

आशबहादुर कुमाल

वडा नम्बर २८ का वडाध्यक्ष आशबहादुर कुमाल निस्सा बाँड्ने बाहेकका धेरै काम हुन नसकेको स्वीकार गर्छन् । यसका पछाडिको कारण वडाले पाउने कम बजेट रहेको उनको भनाइ छ । वडाले पाउने १ करोड ७० लाख रुपैयाँ सबैतिर बाँड्दा बाँड्दै सकिने उनको भनाइ छ ।

‘महत्वपूर्ण भनेकै अहिले निस्सा वितरण गर्ने काम भएको छ, अरू नयाँ केही हुनसकेको छैन’, वडाअध्यक्ष कुमालले अनलाइनखबरसँग भने ।

तैपनि उनले केही काम गरेको सुनाए । जनता आवास कार्यक्रम अन्तर्गत पहिलो लटमा २२ घरधुरीको छाना टिनले छाएको उनको भनाइ छ । ‘केही पनि नभएका ८ घरधुरीलाई महानगरले टहरो बनाइदिएको छ’ उनले भने, ‘साविक वडा ४ को टाँची होटलको काखमा रहेको ऐलानी जग्गामा ८ घर बनाएका छौं । अब उद्घाटन गरेर हस्तान्तरण गर्न बाँकी छ । यो काम पनि चाँडै हुन्छ ।’ तर उनले हुन्छ भनेको चाँडैको भाका कहिलेसम्मको हो नागरिकले बुझ्न सकेका छैनन् ।

हेर्नुहोस् भिडियो

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?