+
+

उम्मेदवार तय नहुँदै मतपत्र छपाइ : चुनाव चिह्न हुने, उम्मेदवार नहुने !

समय अभाव हुने भन्दै निर्वाचन आयोगले उम्मेदवार तय हुनुभन्दा पहिले नै मतपत्र छापेर वितरण गर्दा उम्मेदवार नभएका चिह्नमा पनि मतदान र मत बदर हुने क्रम बढ्दो छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०७८ चैत २३ गते ७:३०
फाइल तस्वीर

२३ चैत, काठमाडौं । अघिल्लो अर्थात् २०७४ सालको स्थानीय तह निर्वाचनमा १ करोड ४ लाख मत खसेकोमा ३.४४ प्रतिशत मत बदर भएको थियो । त्यतिबेला निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी नहुँदा धेरै मत बदर भएको प्रतिक्रिया दिएको थियो ।

आयोगले २०७४ सालको स्थानीय निर्वाचनमा मतदाता शिक्षा तथा तालिमका लागि १ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको थियो । त्यसमध्ये ५० करोड ४० लाख ७१ हजार तालिमका लागि थियो भने मतदाता शिक्षाका लागि ८५ करोड ४३ लाख १२ हजार छुट्याएको थियो । प्रतिमत बराबर ४९० रुपैयाँ खर्च भएको आयोगले हिसाब देखाएको थियो । त्यति हुँदा पनि मत बदर हुने क्रम घटेन ।

अघिल्लो स्थानीय निर्वाचनमा अधिकांश ठाउँमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन थियो । बदरको तथ्यांक हेर्दा राजनीतिक दलले गठबन्धनको उम्मेदवार र मतपत्रमा भएको चुनाव चिह्नबारे बुझाउन नसकेको देखिन्छ ।

हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका आनन्दराम पराजुली उम्मेदवार थिए भने उपमेयरमा नेकपा माओवादीको तर्फबाट बलराम बल । तर मतपत्रमा चुनाव चिह्न भने दुवै दलको थियो । मतदान हुँदा गठबन्धनबारे नबुझेका मतदाताले उम्मेदवार नभएका चुनाव चिह्नमा पनि मत दिए । जसको कारण धेरै मत बदर भएको थियो ।

त्यहाँ जस्तै गठबन्धनबाट उम्मेदवार भएको धेरै स्थानीय तहमा मतपत्रमा चुनाव चिह्न हुने तर त्यो दलको उम्मेदवार नहुने हुँदा मत बदर देखिएको थियो । निर्वाचन आयोग र राजनीतिक दलबीच समन्वय नहुँदा अघिल्लो स्थानीय तहको चुनावमा देखिएको समस्या यो स्थानीय तहको चुनावमा पनि देखिन सक्ने आकलन छ ।

उम्मेदवार भए मात्रै चुनाव चिह्न : गुरुङ

नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक देव गुरुङले निर्वाचन आयोगले पालिकामा उम्मेदवार अनुसार मतपत्र छाप्नुपर्ने बताउँछन् । ‘निर्वाचन आयोगले सकेसम्म उम्मेदवार हेरेर मात्रै मतपत्र छाप्नुपर्ने हो, चुनाव चिह्न भएका तर उम्मेदवार नभएको स्थानमा मत बदर हुने सम्भावना बढी हुन्छ’ उनले भने, ‘पाँच उम्मेदवार र २० उम्मेदवार भएका स्थानीय तहमा एउटै मतपत्र हुनु आफैैंमा अव्यवस्थित हो ।’ दलहरूले आफ्नो हिसाबले मतदाता शिक्षा दिए पनि छाप्न सक्ने विषय आयोग व्यवस्थापनको कुरा भएको उनको भनाइ छ । आयोगको क्षमताले नभ्याउने भएकाले छुट्टै मतपत्र नछापे पनि असर गर्ने उनले बताए ।

आयोग भन्छ– समय र बजेट दुवै छैन

३० वैशाखमा हुने स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले धमाधम मतपत्र छाप्न सुरु गरिसकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुँदैछ । उनले भने, ‘दुर्गम जिल्लामा मतपत्र पठाउन समय लाग्ने भएकाले पहिला दुर्गम र पछि सुगम जिल्लाका लागि मतपत्र छाप्न सुरु गरेका हौं । ८ प्रतिशतदेखि २५ प्रतिशतसम्म थप मतपत्र छाप्ने आयोगको तयारी छ ।’

प्रवक्ता पौडेलले स्वतन्त्र उम्मेदवारहरूको लागि अनुमानित केही चुनाव चिह्न आयोग आफैंले छापेर रोज्न दिने बताए । ‘राजनीतिक दलले गठबन्धन गर्छन्, गर्दैनन् भन्ने हाम्रो चासोको विषय होइन । हामीले हाम्रो कार्यालयमा दर्ता भएका राजनीतिक दलको चुनाव चिह्न छाप्छौं’ उनले भने, ‘त्यसबाहेक केही स्वतन्त्र उम्मेदवार हुनसक्ने आकलन गरेर चुनाव चिह्न अंकित मतपत्र छाप्छौं । पालिका अनुसार छुट्टाछुट्टै मतपत्र छाप्न समय र बजेट दुवैको समस्या छ ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?