+
+

५ वर्षमा ७५ सय विकास आयोजना पूरा गरेको ललितपुरका मेयर महर्जनको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १३:०८

२५ चैत, काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको दाबी गरेका छन् ।

पत्रकार सम्मेलन गरेर आफ्नो पाँच वर्षे कार्यकालको उपलब्धी सुनाएका उनले सडक बत्ती जडानदेखि खेलाडीलाई गरेका सम्मानसम्मको फेहरिस्त प्रस्तुत गरे ।

उनले महानगर भित्र वडास्तरीय तथा नगरस्तरीय गरी सात हजार पाँच सय विकास आयोजना सम्पन्न गरेको बताए ।

पूर्वाधार निर्माणमा पाँच वर्षको अवधिमा अस्फाल्ट कंक्रिटसहतिको ३२ किलो मिटर सडक निर्माण भएको भन्दै मेयर महर्जनले सडक निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको जिकिर गरे ।

महानगरका चार वटा रुटको सडकमा ६ सय ७९ वटा स्मार्ट सडक बत्ती जडान गरेको भन्दै मेयर महर्जनले निर्माण सम्पन्न पूर्वाधार अपाङ्ग मैत्री रहेको दाबी गरे ।

उनले चक्रपथका ५ ठाउँमा इन्टरसेक्सन फ्लाइओभर र पुल्चोक कुपण्डोल फ्लाइओभरको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको बताए । ग्वार्कोमा इन्टरसेक्सन फ्लाइओभर निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेको उनले दाबी गरे ।

सम्पदा निर्माणको लागि ललितपुर महानगर पालिकाले उच्च प्राथमिकता राखेर काम गरेको दाबी गर्दै उनले भने, ‘अमूर्त सम्पदा निर्माणको काम प्रमुख प्राथमिकतामा राखेर आर्थिक अभावमा ऐतिहासिक, धार्मिक,सास्कृतिक महत्व बोकेका जात्रा, पर्वका अमूर्त सम्पदा लोप हुन नदिन महानगरले अक्षय कोष स्थापना गरि त्यस्ता सम्पदालाई प्रवर्द्धन गर्ने नीति लिएको छ ।’

पर्यटनलाई आम्दानीको श्रोत बनाउन नगरले काम गरेको दावी गर्दै उनले थपे, ‘महानगरले ललितपुरमा पर्यटक बसाइ बढाउनको लागि नेपाली पन झल्काउने होटल तथा रेष्टुरेन्टको विकास र निर्माणलाई प्राथमिकतामा राखिएको छ ।’

पाँच वर्षमा महानगरबाट पारित कुल २३ अर्ब ५२ करोड ८१ लाख ४८ हजार ९८१ रुपैयाँको बजेटमा फागुनसम्ममा १३ अर्ब ३३ करोड ८३ लाख ५३ हजार ८९४ रपैयाँ खर्च गरेको उनले जानकारी दिए ।

पाँच वर्षमा महानगरपालिकाले ७ अर्ब ७६ करोड ४४ लाख ४८ हजार २१४ राजश्व संकलन गरेको उनले बताए । महानगरले संकलन गरेको राजश्व नगरले विकास निर्माणका काममा प्रयोग गरेको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?