+
+

उपमहानगरको विद्यालय : तातो टिनको टहरामा कक्षा

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ चैत २५ गते १७:२३

२५ चैत, दाङ । चैतको पारिलो गर्मी । वरिपरि टिनले बेरिएको र टिनकै छाप्रोको टहरो । त्यही टहरोमा ७५ बढी विद्यार्थी अध्ययनरत छन् ।

दाङकै सुगम मानिने तुलसीपुर उपमहागरपालिका भित्रकै एक विद्यालयको कक्षाकोठाको अवस्था हो, यो । विद्यालयमा पढाउनका लागि भवनसमेत नभएपछि तुलसीपुर उपमहानगरपालिका– ३ अम्बासस्थित मावि प्रतापपुरका कक्षा १, २, ३, ५ र ६ का विद्यार्थी चैतको धुपमा टिनको टहरामुनि हत्केलाले सूर्य छेकेर पढ्न बाध्य छन् ।

विद्यालयमा अध्यनका लागि प्रयाप्त भवन नभएपछि गत कार्तिक महिनादेखि पाँच कक्षाका ७५ जना विद्यार्थीहरु टिनको छाप्रोमा पढिरहेका छन् । ‘हिउँदमा पढाउँदा समस्या भएन’ शिक्षिका कमला शर्माले भनिन्, ‘गर्मी बढेपछि कक्षाकोठा घामले तात्न थालेका छन्, पढाउनै समस्या छ ।’

हावाहुरी लाग्दा टिन खसेर चोट लाग्ने जोखिम रहने उनले बताइन् । कक्षा ७ का २३ जना विद्यार्थी भने बाहिर चौरमा पढ्छन् ।

समयमै भवन नबन्दाको समस्या

विद्यालयमा नयाँ भवन बनाउन भन्दै पुरानो भवन भत्काएपछि छ महिना यता विद्यार्थीहरु टिनको टहरामा छन् । विद्यालय भवन निर्माण कार्यले गति नलिएपछि विद्यार्थी टिनको टहरा र चौरमा पुगेका छन् ।

असार मसान्तसम्म भवन तयार गर्ने गरी ठेक्का सम्झौता भएर शिलान्यास भए पनि काम अघि बढ्न सकेका छैन । ‘पुराना भत्काएर भवन नयाँ बनाउने योजना बन्यो’ विद्यालयका प्रधानाध्यापक फस्टबहादुर रानाले भने, ‘तर नयाँ भवन निर्माणले गति लिएको थिएन ।’ चार दिन यता भने निर्माण अघि बढेको उनले बताए ।

उनले विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेपछि बालबालिकालाई टिनको टहरो र चौरमा पढाउनुपर्ने बाध्यता भएको बताए । बर्खामा कसरी कक्षा कसरी सञ्चालन गर्ने भन्नेबारेमा उनी अन्योलमा छन् ।

एउटै टहरोमा पाँचवटा कक्षा सञ्चालन गर्दा पठनपाठनमा समस्या भएको छ । ‘एउटा कक्षामा पढाएको अर्काे कक्षामा प्रष्टै सुनिन्छ’, कक्षा ७ मा अध्ययनरत छात्रा प्रतिक्षा गुरुङले भनिन्, ‘दुईतीर पढाउँदा होहल्ला हुन्छ, पढाएकै बुझिँदैन ।’ उनले छिटो कक्षाकोठा बनाएको भए हुन्थ्यो, पढ्न निकै समस्या भयो ।’ कक्षा १० सम्म सञ्चालित विद्यालयमा २ सय ४५ विद्यार्थी छन् । अन्य कक्षा पनि जीर्ण चलिरहेका छन् ।

पुराना भवनलाई भत्काउने काम भएपनि निर्माण अघि नबढ्दा यसरी बाहिर राखेर पठन–पाठन गराउनु परेको प्रधानाध्यापक रानाले बताए ।

छाया नेपाल नामक संस्थाको ८० प्रतिशत र उपमहानगरपालिकाले २० प्रतिशत लागत गरी नयाँ भवन निर्माणका लागि एक करोड ४३ लाखमा ठेक्का लगाइएको छ । भवन गत कात्तिकमा भत्काएर नयाँ निर्माण थालिएको हो । तर निर्माण काम भर्खरैमात्र सुरु भएको छ । छाया नेपालले सँगसँगै निर्माण थालेको तुलसीपुर–७ मावि कालाखोला भवनको काम अन्तिम चरणमा पुगेको छ । तर, अम्बासको भवन निर्माणको काम सुस्त छ ।

विद्यालयका प्रधानाध्यापक रानाका अनुसार भवन निर्माण असारमसान्तसम्म सक्ने गरि सम्झौता भएको थियो । तर काम नहुँदा अहिले विद्यालयले छाप्रामा पढाउनु पर्ने बाध्यता भएको हो ।

उपमहानगरभित्र अवस्थित भए पनि यो विद्यालयको दुःख यतिमै सीमित छैन । विद्यालयमा पढ्न थापापानी, बल्ले, टिमगैरा, टुनापानी, सितेधारा, सिस्नेरी, कल्ले, बल्ले, अम्बास, बोहरागाउँ, गहिरा नाउलालगाायतबाट पढ्न आउने गर्दछन् । यी गाउँबाट विद्यालयमा पुग्न तीन घण्टा हिड्नुपर्छ ।

नजिकमा विद्यालय नभएकाले धनवासका विद्यार्थी दैनिक २/३ घण्टा हिडेर विद्यालय आउनु पर्ने बाध्यता छ । ‘यो विद्यालयमा १२ बढी गाउँको केन्द्र हो’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष लिलामणी बाँठाले भने, ‘करिब २/३ घण्टा हिडेर विद्यालयमा पढ्न आउँछन् ।’

शौचालयको समेत समस्या

दुई सय ४५ जना अध्यनरत यो विद्यालयमा दुई शौचलय छ । त्यो पनि निकै फोहर छ । पानी नभएकाले गर्दा शौचालय निकै दुर्गन्धित हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाँठाले बताए ।

‘यहाँ पानीको निकै अभाव छ’ उनले भने, ‘खानेपानी समेत पाउन गाह्रो हुने ठाउँमा शौचालयमा पानी हुने कुरो भएन ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?