+
+

नागढुंगा–मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण हुने

रासस रासस
२०७८ चैत २५ गते १८:४१
नागढुंगा–मुग्लिन सडक/फाइल तस्वीर

२५ चैत, काठमाडौं । नागढुंगा–मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने भएको छ । विस्तार र सुधारका क्रममा रहेको सो सडकमा दुई/दुई लेनका पुल निर्माण गर्न लागिएको हो ।

हाल सो सडक खण्डमा २७ पुल छन् । तीमध्ये तीन पुल नयाँ र फराकिला भएकाले त्यहाँ नयाँ पुल आबश्यक नभएको नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ । पुराना पुल भएका स्थानमा तिनलाई मर्मत गर्नाका साथै सँगै नयाँ पुल पनि निर्माण गर्न लागिएको हो । सडकसँगै पुल निर्माण तीन वर्षमा सम्पन्न गरिने आयोजनाका प्रमुख किरण कार्कीले बताए । उनले भने, “सडकसँगै पुल निर्माण र मर्मत अघि बढाइनेछ ।”

पुराना पुल दुई लेनको रहेकामा नयाँ निर्माण हुन लागेको पुल पनि दुई–दुई लेनकै बनाइनेछ । अधिकांश स्थानमा तीन लेन र बजार क्षेत्रमा चार लेनको सडक निर्माण भइरहेको उक्त आयोजनाले जनाएको छ । सडक जत्तिकै चौडा पुल निर्माण भएपछि सवारी चाप व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

नागढुंगा चेकप्वाइन्टबाट सुरु भएर चितवनको मलेखुसम्मको सडकले काठमाडौं, धादिङ र चितवन गरी तीन जिल्लालाई समेट्छ । यो सडक विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ । सबैभन्दा बढी सवारीसाधन भित्रिने र बाहिरिने नाका भएकाले सडकको सुरक्षाका लागि आवश्यक निर्माणमा ध्यान दिइनेछ र मोड सुधार गर्ने, पुल पनि थपिनेलगायत काम गरिनेछ ।

यो खण्डको अधिकांश स्थानमा सडक झण्डै १० देखि ११ मिटरसम्म चौडा हुनेछ । ‘डेडिकेटेड’ दुई लेनमा चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ । यसले गर्दा सडक सुरक्षित हुने, गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिनेछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?