+
+

पर्साको पोखरीया अस्पतालमा आमरण अनशन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते २१:१६

२७ चैत, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका सतबरिया निवासी ३० वर्षीय लहबर साह कानु अचानक शनिबार अचानक बेहोस भए ।

अस्पतालका लागि पोखरीया अस्पताल ल्याइयो । अस्पतालका चिकित्सकले सीपीआर गरेर होसमा ल्याउने प्रयास गरेपनि उनी होसमा आउन सकेनन् । पोखरीया अस्पतालले रिफर गरेर वीरगञ्ज पठायो, वीरगञ्जको बयोधा अस्पतालले उनलाई मृत घोषित गर्‍यो ।

पोखरीया अस्पतालमा गुणस्तरीय सेवा पाउन सकेको भए उनलाई बचाउन सकिन्थ्यो भन्ने स्थानीयलाई लागेको छ । भौतिक संरचना राम्रो हुँदाहुँदै पनि अन्य स्रोत साधनको अभावमा अस्पतालबाट गुणस्तरीय सेवा पाउन नसकेको स्थानीयको गुनासो छ । जसका कारण धेरैले अकालमा ज्यान गुमाउनु परेको स्थानीय बताउँछन् ।

शनिबारको घटनापछि पोखरीया अस्पतालबाट प्रदान गरिने सेवामा सुधार हुनुपर्ने माग राखेर एक युवक आमरण अनशनमा बसेका छन् । पोखरीया युवा समाजको उपाध्यक्षसमेत रहेका ४० वर्षीय दिनेश मिश्र आमरण अनशनमा बसेका हुन् । दुई दिनदेखि अस्पताल परिसरमा आमरण अनशनमा बसेका उनले माग सम्बोधन नभएसम्म पानी मात्रै खाने अडान राखेका छन् ।

अस्पताललाई आवश्यक पर्ने समान खरीद गर्ने जिम्मा अस्पताललाई नै दिनुपर्ने, सरकारले निशुल्क उपलब्ध गराएका र स्वास्थ्य बीमा पाइने औषधि पाउनुपर्ने, एक्स–रे तथा प्याथोलोजीको सम्पूर्ण जाँचको सुविधा हुनुपर्ने, कर्मचारी र डाक्टरहरुको नाम र फोन नं सूचना बोर्डमा टाँसिनुपर्ने माग उनको छ ।

त्यस्तै कोरोनाकालमा खटिएका कर्मचारी र डाक्टरको बक्यौता भत्ता र मासिक तलब भुक्तानी हुनुपर्ने, व्यवस्थापन समिति सुधार तथा थप स्थानीयको सहभागितामा गठन हुनुपर्ने, कर्मचारी नियुक्ति गर्दा सार्वजनिक सूचना मार्फत गर्नुपर्ने, दक्ष जनशक्ति नियुक्त गर्नुपर्ने माग पनि उनले राखेका छन् ।

एक वर्षदेखि थन्किएको भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुपर्ने, अपरेशन थिएटर र आईसियु सञ्चालनको व्यवस्था मिलाउनुपर्ने र अस्पतालको आम्दानी खर्च हिसाब जनतामा सार्वजनिक गर्नुपर्ने पनि माग उनको छ ।

अस्पतालको सेवामा सुधार ल्याउन दबाव दिने उद्देश्यले आफू आमरण असशनमा बसेको मिश्रले बताए ।

‘पोखरीया अस्पताल बाहिरबाट हेर्दा ठूलो भवन देखिन्छ, भित्र खोक्रो छ, आएको समान पनि सञ्चालन गर्ने मान्छे छैन’, उनले भने, ‘सेवा पाउन कत्ति गाह्रो छ भोग्नेलाई थाहा छ, एउटा ग्याष्ट्रिकको औषधि पनि अस्पतालमा पाइदैन, सानो तिनो घाउ सफा गर्नुपर्दा पनि बाहिर मेडिकलबाट समान किनेर दिनुपर्छ ।’

अस्पतालमा विद्यमान समस्या समाधान गर्न जनप्रतिनिधि र अस्पताल व्यवस्थापन समिति जिम्मेवार हुनुपर्ने उनको धारणा छ । भेन्टिलेटर आएको एकवर्ष वितिसक्दा पनि सञ्चालनमा आउन नसकेको, एक थान अक्सिजन सिलिण्डर समेत अस्पतालमा नभएकोले बाध्य भएर अनशनमा बस्नु परेको मिश्रले बताए ।

‘अस्पतालको फितलो व्यवस्थापनका कारण सानो तिनो सुविधा पनि नपाउने अवस्था बनेको छ । आवश्यक स्रोत, साधन जनशक्तिको बन्दोबस्त गरेर अस्पताललाई व्यवस्थित गर्नुपर्छ’, उनले भने, ‘अहिले पानी त पिइरहेको छु, मागको बेवास्ता गरे त्यो पनि पिउन बन्द गर्छु ।’

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय गुप्ताले स्रोत, साधन र जनशक्तिको अभावमा जन चाहना अनुसार सेवा दिन नसकिएको बताए । ‘भेन्टिलेटर छ, चलाउने जनशक्ति छैन, एनेस्थेसियाको डाक्टर चाहिन्छ’, उनले भने, ‘सेवा प्रवाहका लागि स्रोत, साधनसँगै दक्ष जनशक्तिको आवश्यकता पर्छ । ’

शनिबार भर्ना भएका युवकलाई बचाउन अस्पतालले सकेको प्रयास गरेको उनको दावी छ । आमरण अनशन बसेका मिश्रसँग वार्ता गरेर समस्या समाधानका लागि प्रयास भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?