+
+

कर्णालीका उपमेयर भन्छन् – पाँच वर्षे अनुभव छ, नगर हाँक्न सक्छौं

यज्ञ खत्री यज्ञ खत्री
२०७८ चैत २८ गते ७:५८

२८ चैत्र, सुर्खेत । संघीयताको पहिलो अभ्यास गर्दै गर्दा ०७४ को स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानीय तहमा उपप्रमुखको जिम्मेवारी महिलालाई दिइयो । उपप्रमुखको जिम्मेवारीमा रहँदा उनीहरूले आफ्नो क्षमतको परीक्षण गरिसकेका छन् । त्यसैले पाँच वर्षे कार्यकाल पूरा हुँदै गर्दा उपमेयरहरुले आफूलाई मेयरको स्वभाविक दाबेदारका रूपमा अघि सारेका छन् ।

संविधानले स्थानीय निर्वाचनमा एउटै दलबाट उम्मेदवारी दिंदा प्रमुख वा उप प्रमुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । तर कर्णालीको सबैजसो पालिकामा महिलामात्र उप-प्रमुख छन् ।

‘यसको मतलव यो हैन कि, महिलामात्र उप-प्रमुख हुनुपर्छ’ आठबीस नगरपालिका दैलेखकी उपमेयर दीपा बोहोरा भन्छिन्, ‘हामीले पाँच वर्षमा अनुभव संगालेका छौं, अब नगर हाक्ने पालो हाम्रो हो ।’

कर्णालीका ७९ स्थानीय तहमध्ये २५ वटा नगरपालिका छन् । यी मध्ये जुम्लाको चन्दननाथ नगरपालिकामा मात्र मेयर र उपमेयर दुवै महिला छन् । बाँकी २४ नगरपालिकामा भने मेयर पुरुष र उपमेयर महिला छन् । अधिकांश उपमेयरले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयर उठ्ने घोषणा गरिसकेका छन् ।

नेतृत्वमा महिला आएको खण्डमा सामाजिक मुद्दाहरूले प्राथमिकता पाउने र सामाजिक विकास नभएसम्म अन्य विकास सम्भव नहुने उनीहरूको तर्क छ ।

मोहनमाया ढकाल- वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

२०७४ को चुनावमा नेपाली कांग्रेसकी जानकी सिंहलाई पराजित गर्दै १६ हजार ६८ मतका साथ मोहनमाया ढकाल वीरेन्द्रनगर नगरपालिकाको उपमेयरमा विजयी भइन् । एमालेबाट उम्मेदवार बनेकी ढकालले कांग्रेसकी सिंहलाई २ हजार ४२ मतअन्तरले पराजित गरिन् ।

कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्लासमेत रहेको सुर्खेत त्यो बेला कांग्रेसको पकटक्षेत्र मानिन्थ्यो । मेयरमा कांग्रेसकै देवकुमार सुवेदीले जिते । त्यो बेला मेयरको टिकट मागेकी ढकाललाई पार्टीले पत्याएन । उनले उपमेयरमा पनि राम्रो मत ल्यायर विजयी भइन् ।

पाँच वर्ष वीरेन्द्रनगरको उपमेयर पद सम्होलेकी ढकालले आगामी स्थानीय चुनावमा आफू मेयरको दाबेदार भएको बताइन् । ‘मसंग उपमेयर भएर काम गरेको अनुभव छ, आफैले सुरुवात गरेका धेरै कामहरु अधुरा छन्, ती कामलाई पूरा गर्न पनि मेरो उम्मेदवारी रहन्छ’ ढकालले भनिन् ।

निमित्त प्रमुखको जिम्मा लिएर काम गरिसकेको हुँदा प्रमुखको भूमिका उत्कृष्ट रुपमा सञ्चालन गर्न सक्ने उनको दाबी छ । ‘विशेष परिस्थितिमा मैले कार्यवहाक नगरप्रमुखको भूमिका निर्वाह गरेको थिएँ, जसले गर्दा मेयर भएर नगरको विकास र समृद्धिमा आफ्नो भूमिका सहज रुपमा निर्वाह गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ’ अनलाइनखबरसँग कुरा गर्दै ढकालले भनिन् ।

अघिल्लो निर्वाचनमा महिलालाई उपमेयर पदमा मात्र सीमित गरे पनि यसपटक भने उपमेयर रहिसकेका महिला नै मेयरको पहिलो र स्वभाविक दाबेदार भएको ढकालको बुझाइ छ ।

दीपा बोहोरा-आठबीस नगरपालिका, दैलेख

आठबीस नगरपालिकाको उपप्रमुखमा एमालेकी गमता विकलाई पराजित गर्दै नेपाली कांग्रेसकी दीपा बोहोराले ४ हजार १८७ मत ल्याएर विजयी भइन् । गमताले ३ हजार ९९० मत ल्याएकी थिइन् ।

बोहोरा पनि यसपटकको स्थानीय चुनावमा मेयरमा आकांक्षी छन् । उसो त बोहोराले ०७४ को निर्वाचनमै मेयरमा दाबी गरेकी थिइन् । तर, पार्टीमा आफूभन्दा सिनियर व्यक्तिले चाहना भएपछि उनीले उपमेयरमा चित्त बुझाइन् ।

‘म ०७४ को निर्वाचनमै मेयरको दावेदार थिए, यसपालि नहुँने त कुरै भएन् । पार्टीभित्र पनि लबिङ भइरहेको छ । मेयर भएर काम गर्नसक्ने आँट, सीप, क्षमता सबै छ’ उनी भन्छिन्,’महिलाले उठाउनुपर्ने धेरै सामाजिक मुद्दाहरु छन् जो पुरुषहरुले उठान गर्न हिच्किचाउँछन, त्यसैले पनि प्रमुख पदनमा महिला आउनुपर्ने आवश्यकता देखिन्छ ।’

बोहोराले आफू कार्यकारी भूमिकामा नहुँदा पालिकामा घटेका सामाजिक मुद्दाले न्याय पाउन नसकेको बताइन् । ‘अब सामाजिक विकासबिना भौतिक विकासले अर्थ राख्दैन । सामाजिक विकासका लागी प्रमुख पदमा महिला नेतृत्व चाहिएको छ’ बोहोरा भन्छिन् ।

कल्पना पुन- बागचौर नगरपालिका, सल्यान

बागचौर नगरपालिका सल्यानकी उपमेयर कल्पना पुन पनि आगामी स्थानिय निर्वाचनमा मेयरकी दावेदार हुन् । ०७४ मा ५ हजार २१५ मत ल्याई माओवादी केन्द्रबाट उपप्रमुख बनेकी पुनले एमालेकी ओकादेवी खत्रीलाई १ हजार ६२५ मतले पराजित गरेकी थिइन् ।

उनले पाँच वर्षे कार्यकालबाट धेरै कुराको अनुभव भएकाले मेयरमा आˆनो दाबी रहने बताइन् । ‘पूर्वाधार विकासले मात्र हुँदैन्, मान्छेमा चेतनाको विकास र सुशासनका कुराहरु सुधार्न आवश्यक देखिन्छ’ पुनले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘सामाजिक विकास र सुशासन अव महिला नेतृत्वबाट मात्रै सम्भव छ । त्यस कारण पनि हाम्रो अनुभवले मेयरमै लड्ने भन्छ ।’

संविधानले उपमेयरमा महिला मात्र हुनुपर्ने बाध्यकारी व्यवस्था गरेझैँ गएको चुनावमा दलहरूले महिलालाई उपमेयर पदमा सीमित गराएको गुनासो गर्दै उनले भनिन्, ‘संविधाले मेयर वा उपमेयर दुई पदमध्ये एकमा महिला भनेको हो, महिलालाई नै उपमेयर दिनुपर्छ भनेर कतै तोकेको छैन ।’

आफ्नो पार्टीले पनि अनुभव र कार्यक्षमताका आधारमा बागचौरको मेयर पदको उम्मेदवार आफूलाई नै बनाउने पुनको विश्वास छ ।

रेणु आचार्य-भेरीगंगा नगरपालिका, सुर्खेत

भेरीगंगा नगरपालिका सुर्खेतकी उपमेयर रेणु आचार्यले पनि आफू मेयरमा लड्ने बताइन् । ‘उपमेयर भएर काम गरिसके, अब मेयरमा प्रतिस्पर्धा गर्ने हो । टिकटका लागि पार्टीभित्र पनि लविङ्ग भै रहेको छ’ आचार्यले भनिन् ।

०७४ को स्थानिय निर्वाचनमा आचार्यले भेरीगंगाको उपमेयरमा ७ हजार ५७४ मत ल्याएर विजयी भइन् । नेपाली कांग्रेसबाट जितेकी रेणुले एमालेकी चन्द्रा आचार्यलाई २७७ मतले पछाडि पारेकी थिइन् ।

आगामी स्थानीय निर्वाचनमा सत्तारुढ दलसँग गठबन्धन बनाएर जाने योजना बनाइरहेको छ कांग्रेसले । जस्तोसुकै गठबन्धन भए पनि भेरीगंगाको मेयरमा यसपटक आफ्नो दाबी हुने आचार्यको भनाइ छ । ‘यस पटक प्रमुखमा मेरो दाबी हुन्छ नै, गठबन्धन भए मेयर कांग्रेसले पाउनु पर्छ ।’ गठबन्धन भएपनि आफ्नो दल कांग्रेसले मेयरका रूपमा आफूलाई उभ्याउने उनको विश्वास छ ।

अप्सरादेवी न्यौपाने (महत)- चन्दननाथ नगरपालिका, जुम्ला

कर्णाली प्रदेशमा मेयर र उपमेयर दुवै पदमा महिला भएको एक मात्र नगर हो जुम्लाको चन्दननाथ । चन्दननाथकी उपमेयर अप्सरादेवी न्यौपाने (महत) पनि आफूलाई मेयरको स्वभाविक दाबेदार बताउँछिन् ।

नेकपा माओवादी केन्द्रकी अप्सराले ०७४ को स्थानिय तहको निर्वाचनमा दुई हजार ४६ मत ल्याएर विजयी भएकी थिइन् । उनले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत खत्रीलाई ३३२ मतले पराजित गरिन् । मेयरमा कांग्रेसकै कान्तिका सेजुवाल विजयी भइन् ।

१० वर्षे माओवादी जनयुद्धबाट आएकी अस्पसाले पाँच वर्षे अनुभव नै आगामी चुनावमा मेयर दाबी गर्ने आधार भएको बताउँछिन् । ‘म परिवर्तनका लागी सानै उमेरमा यूद्धमा होमियकी थिए, अहिले व्यवस्था बद्लिएको छ, त्यही व्यवस्थाको प्रमुख भएर परिवर्तन गर्ने सहास छ, अठोट छ । पाँच वर्षको अनुभव पनि छ,’ अप्सराले भनिन् ।

महिला पनि पुरष जत्तिकै सक्षम छन् । ‘अब महिला उपमेयरमै बस्नुपर्छ भन्ने छैन्, हाम्रो अनुभव र क्षमताले पनि मेयर बन्न सक्षम छौँ’ उनी भन्छिन् ।

विजया विष्ट-खाडाचक्र नगरपालिका, कालिकोट

खाडाचक्र नगरपालिका, कालीकोटकी उपमेयर विजया विष्ट पनि आगामी वैशाख ३० गते हुने स्थानिय तहको चुनावमा मेयरको दावी भएको बताउँछिन् । ०७४ को स्थानिय चुनावमा एमालेबाट खाडाचक्रको उपमेयरमा विजयी भएकी विष्ट हाल नेकपा (एकीकृत समाजवादी) दल रोजेकी छिन् ।

विष्ट एमाले छाडेर एकीकृत समाजवादीमा गएकै कारण पनि मेयरको टिकट पाउनेमा विश्वस्त देखिन्छिन् । ‘सकारात्मक सोच भएका व्यक्तिहरू कार्यकारी भूमिका आउनुपर्छ, मेयरको भूमिकालाई सहज रुपमा निर्वाह गर्छु भन्ने आँट छ । र, पार्टी बदलेकै कारण पनि मैले मेयरमा टिकट पाउँनु पर्छ भन्नेमा विश्वस्त छु’ उनले भनिन् ।

महिलाहरुले कार्यकारी भूमिका पाएको खण्डमा भ्रष्टाचार जस्ता क्रियाकलापमा कमी आउने उनको भनाइ छ । ‘महिला काममा इमान्दार हुन्छन्, जिम्मेवारी निर्वाह गर्छन्, त्यसैलेपनि महिलालाई प्रमुखको जिम्मेवादी सुम्पिने बेला आएको छ’ उनी भन्छिन् ।

विष्णु थापा (दुल्लु नगरपालिका -दैलेख)

दुल्लु नगरपालिका दैखेकी उपमेयर विष्णु थापा पनि पार्टीले टिकट दिए मेयरमा उम्मेदवारी दिने बताउँछिन् ।

नेपाली कांग्रेसकी कृष्ण कुमारी शाहीलाई ३६९ मतले पराजित गर्दै एमालेबाट दुल्लु नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित थापाले ०७४ को स्थानिय निर्वाचनमा कुल ६ हजार ४७८ मत ल्याएकी थिइन् । ‘अहिलेसम्मको काम गरेको अनुभव छ, चाहना पनि छ । पार्टीले विश्वास गरेर टिकट दिए मेयरको भूमिका निर्वाह गर्न तयार छु’ उनले भनिन् ।

कार्य अनुभवका हिसाबले पनि अबको निर्वाचनमा उपप्रमुखहरुलाई प्रमुख पदका लागि उम्मेदवार बनाउन उपयुक्त हुने उनी बताउँछिन् । ‘नयाँ व्यक्ति बाहिरबाट फ्याट्ट मेयर भएर आउँदा कार्यसम्पादनमा त्यति सहजता हुँदैन । त्यस्ले गर्दा पनि उपमेयरलाई नै मेयर बनाउँदा उपयूक्त हुन्छ’ उनले भनिन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा उपप्रमुख तथा उपाध्यक्षमा थन्किएका अधिकांशले यसपालि प्रमुखमा दावेदारी प्रस्तुत गरेका छन् । आकांक्षीको एउटै स्वर छ पाँच वर्षको कामको अनुभवले प्रमुख हाँक्न सक्ने हिम्मत मिलेको छ । तर, पार्टीबाट टिकट पाउनेमा भने उनीहरु विश्वस्त छैनन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?