+
+

भरतपुरमा माओवादीसँग किन चिढियो कांग्रेस ?

कांग्रेस नेताहरुका अनुसार नेकपा फुटेर माओवादी ब्यूँतिनुका साथै केन्द्रमा सत्ता गठबन्धन हुँदा पनि मेयर रेनुले कांग्रेसका नेताहरुलाई समेटेर अघि बढ्ने प्रयास पटक्कै गरिनन् । बरु कांग्रेस कार्यकर्तालाई विभिन्न प्रलोभन देखाएर माओवादी बनाएको नेताहरुको आरोप छ ।

सुवास पण्डित सुवास पण्डित
२०७८ चैत २९ गते २१:३२
भरतपुरको मेयरमा तालमेल नगर्न खबरदारी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै चितवन जिल्लाका सभापति राजेश्वर खनालसहितको टोली ।

२९ चैत, काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर कुनै हालतमा नछाड्ने भन्दै डेलिगेसन आएका नेपाली कांग्रेस, चितवनका नेताहरुले अघिल्लो साता पार्टीका शीर्ष नेताहरुलाई भेटे ।

जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वको टोली सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री शंशाक कोइराला भेटेर फर्कियो । २० चैतमा बसेको जिल्ला कार्यसमिति चितवनको बैठकको निर्णय (भरतपुरको मेयर नछाड्ने, मेयर नपाए एक्लै चुनाव लड्ने) बोकेर गएका नेताहरुले शीर्ष तहबाटै सकारात्मक प्रतिक्रिया पाएको बताएका थिए ।

तर टोलीका सदस्यहरु चितवन फर्किएलगत्तै महानगर समितिले मेयरका आकांक्षीहरुको आवेदन माग्यो, जसमा २५ जनाले नाम दर्ता गराए । मंगलबार १९ वटै वडाका सभापतिको बैठक बसेर कडा निर्णय गरेको छ :– अब कुनै पनि गठबन्धन नगर्ने ।

उनीहरुले भनेका छन्, ‘हाम्रो निर्णय विपरीत गठबन्धन गरिए भरतपुर महानगरको मेयर, उपमेयरसहित सबै वडामा अध्यक्षसहित ५ जना उम्मेदवार उठाउने निर्णय गर्नुका साथै गठबन्धनका सबै उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय गरियो ।’

सत्तारुढ गठबन्धनमा भइरहेको छलफल र त्यसबारे आएका खबरहरुले कांग्रेस नेताहरुलाई चिढ्याएको छ ।

सत्ता गठबन्धनको बैठकमा कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महागरपालिकाको नेतृत्व लिने, माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्ज लिने प्रस्ताव नेताहरुले राखेका थिए ।

पछिल्लो समय प्रधानमन्त्री देउवा भरतपुरको मेयर माओवादी केन्द्रलाई दिएर पनि चुनावी गठबन्धन गर्न तयार रहेको खबरहरु सार्वजनिक भएपछि कांग्रेसका स्थानीय नेताहरु आक्रोशित भएका हुन् ।

भरतपुरको वडा नम्बर १५ का सभापति ज्योति कँडेल भन्छन्, ‘हामीले २० गते बैठक बसेर भरतपुरमा मेयर कांग्रेसले लिएर गठबन्धन गर्ने भनेका थियौं । तर अहिले भरतपुरमा माओवादीलाई मेयर दिन भनेर जसरी आएको छ, यसले हामीलाई अक्रोशित बनाएको छ । नेताहरुमाथि विश्वसनीयता गुमेको हो कि भन्ने आभास भयो ।’

त्यही कारण मंगलबार वडा सभापतिहरुको बैठक बसेर सबै पदमा उम्मेदवारी दिने र गठबन्धनको उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय गरेको कँडेलले बताएका छन् ।

देउवा र प्रचण्ड दुबैलाई दबाव

२०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादीले थुप्रै स्थानीय तहमा तालमेल गरेको थियो ।

तर भरतपुरको अवस्था फरक रह्यो । दिनेश कोइरालाले मेयरको टिकट लिएर गइसकेको अवस्थामा कांग्रेस सभापति देउवाले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई समर्थन गर्ने निर्णय मात्र गरेनन्, कोइरालाले निर्वाचन कार्यालयमा दर्ता गराएको उम्मेदवारी केन्द्रबाटै खारेज गर्न लगाए । यसले तालमेल तनावपूर्ण भयो । मेयरको मत गणनाका क्रममा मतपत्र च्यातिएको घटनाले चितवनका कांग्रेस शुभेच्छुकलाई अघात पुग्यो ।

अनेक ‘जालझेल’ गरेर मेयर जितेको माओवादी त्यसको केही महिनापछि भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँग मिल्न पुग्यो । एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि यसले मेयर दाहाल र उपमेयर पार्वती शाहको सम्बन्ध पनि सौहार्दपूर्ण हुन सकेन ।

कांग्रेस नेता कार्यकर्ताले आफ्ना गुनासा र काम लिएर भेट्न जाँदा मेयर रेनुको सचिवालयबाट अपमानित हुनु परेको कांग्रेस नेताहरु सुनाउँछन् । कांग्रेस चितवनका पूर्व सभापति समेत रहेका केन्द्रीय सदस्य टेकप्रसाद गुरूङ भन्छन्, ‘हामीले मत दिएर जितायौं, तर नेकपा भएपछि एमालेको मेयर जस्तो बन्नुभयो, कांग्रेसले धेरै घाटा र अपमान भोगेको छ ।’

कांग्रेस नेताहरुका अनुसार नेकपा फुटेर माओवादी ब्यूँतिनुका साथै केन्द्रमा सत्ता गठबन्धन हुँदा पनि मेयर रेनुले कांग्रेसका नेताहरुलाई समेटेर अघि बढ्ने प्रयास पटक्कै गरिनन् ।

बरु कांग्रेस कार्यकर्तालाई विभिन्न प्रलोभन देखाएर माओवादी बनाएको नेताहरुको आरोप छ । ‘मेरो टोलमा नियमानुसार नमिल्ने बाटो बनाइदिन्छु, तिमीहरू माओवादी बन भनेर टीका लगाइएको छ । कांग्र्रेसलाई कमजोर बनाउन लागेपछि अब हामीले उहाँलाई बोक्न सक्छौं ?’ केन्द्रीय सदस्य गुरुङले प्रश्न गरे ।

‘चितवनका कांग्रेस नेताले भनेर केही हुँदैन’ भन्ने प्रचण्डले प्रतिक्रियाले पनि कांग्रेस नेता कार्यकर्तालाई थप चिढ्याएको छ । यो अभिव्यक्तिले चुनौती गपिएको उनीहरुले अनुभूति गरेका छन् । जसमा कांग्रेसको आन्तरिक शक्ति संघर्षले पनि धेरथोर काम गरेको छ ।

चितवनमा सभापति देउवा इतर पक्ष बलियो छ । चितवनबाट केन्द्रीय समितिमा रहेका पाँच जनामध्ये तीन जना शेखर कोइराला समूहमा छन् भने जिल्ला सभापति पनि कोइराला समूहकै हुन् । तर देउवाले १४औं महाधिवेशनमा आफूसँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत ल्याएका कोइरालालाई साथमा लिएर अघि बढ्ने प्रयास गरेका छैनन् । एक नेता भन्छन्, ‘यदि सभापतिले सबैलाई समेटेर अघि बढ्ने प्रयास गरेको भए तालमेलको प्रयासलाई मद्दत नै गर्थ्यो ।’

सबभन्दा महत्वपूर्ण चितवनका कांग्रेस नेता कार्यकर्तामा भरतपुरको मेयर कुनै हालतमा छाड्न नहुने मत बलियो छ । तर पार्टी नेतृत्वले भरतपुरको मेयर माओवादीलाई दिँदैनन् भनेर ढुक्क हुन सकेका छैनन् । त्यसैले नेतृत्वलाई दबाव दिएका हुन् ।

जिल्ला पार्टीको सर्वसम्मत निर्णय लिएर सभापतिसहितका शीर्ष नेताको दैलो दैलोमा पुगेर सम्भावित अवस्थाको पूर्व जानकारी वा ‘अप्रिय निर्णय’ नलिन दिएको दबाव र केन्द्रका नेताहरुको आश्वासनले कति काम गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?