
२९ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको तर्क गरे । एमालेले ललितपुरमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले विप्लवलाई चुनाव सार्ने षड्यन्त्रको मतियार नबन्न आग्रह गरे ।
‘शेरबहादुरजी चुनाव रोक्ने षडयन्त्रमा लागि सक्नुभयो, मलाई थाहा छ । प्रचण्ड माधव नेपालहरु लागि सक्नुभयो । अहिले विप्लवलाई अगाडि सार्नुभएको छ । विप्लवका राजनीतिक कार्यकर्ता रिहा गर, चुनावमा भाग लिने वातावरण बनाऊ । तर त्यस बहानामा वा कुनै पनि बहानामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्न मिल्दैन’ उनले भने ।
अध्यक्ष ओलीले चुनाव सारेर स्थानीय तहलाई रिक्त बनाउने २०५९ सालमा आफूले गरेको गल्ती नदोहोर्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । स्थानीय तहको निर्वाचन सारे देशको हितविरुद्ध हुने उल्लेख गर्दै अध्यक्ष ओलीको त्यो आफ्नो पार्टी र नेपाली जनतालाई सह्य नहुने बताए ।
अध्यक्ष ओलीले माओवादी केन्द्रको भाँडो रित्तिएर बिर्को मात्रै बाँकी रहेको टिप्पणी गरे । माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई उनले कांग्रेसको पुच्छरको संज्ञा दिए ।
प्रतिक्रिया 4