
हरेक अवसरलाई अर्थपूर्ण बनाउनु र त्यसको सार्थकतालाई आत्मसात गर्नसक्नु नै वास्तविक रुपमा नयाँ वर्ष वा अन्य उत्सवप्रति न्याय गरेको ठहरिन्छ । वर्षभरि हामीले विभिन्न चाडपर्व र उत्सवहरु मनाउँछौ, तिनीहरुको महत्वलाई बुझेर सही ढंगले मनाउन सके जीवन नै उत्सवमय हुनेमा शंका छैन ।
उत्सवलाई विकृति, विसंगतिको रुपमा परिभाषित गरी जीवनको महत्वपूर्ण समयलाई बुझ्न र त्यसको सदुपयोग गर्न सकेनौं भने क्षणिक रुपमा लिएको बेहोसी आनन्दले जीवनलाई खुसी र सार्थक बनाउन सक्दैन ।
कसरी मनाउने त नयाँ वर्षलाई ?
समीक्षा गर्ने बानी बसालौं

जीवनमा खुसी, प्रगति, नाम, दाम, सम्मान सबैलाई मनपर्छ नै । यी कुराको प्राप्तिका लागि हामी कहाँ र कसरी चुकेका छौं त ? पहिले आफूले आफैंलाई नियाल्ने कोशिश गरौं । हामीले आफूलाई नियाल्न सकेनौं र आफ्ना कमी-कमजोरीलाई सच्याउन सकेनौं भने सार्थक जीवन बाँच्न सक्छौं त ? तसर्थ सार्थक जीवन जिउनका लागि आत्मसमीक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्नो व्यक्तिगत, पारिवारिक, पेशागत, संस्थागत बहुआयामिक समीक्षा गरेर आफ्ना कमी-कमजोरीलाई सच्याउने र सबल पक्षलाई अगाडि बढाउने प्रण मात्र गर्न सक्यौं भने नयाँ वर्षले पनि हामीलाई खुसीका साथ स्वागत गर्दछ कि ? जीवनको सबैभन्दा महत्वपूर्ण तत्व आफूलाई व्यवस्थित बनाउने र बाँकी अन्य कुरा आफैं व्यवस्थित हुँ जान्छ । किनकि हरेक क्षेत्रमा व्यक्तिको आनीबानीको प्रत्यक्ष तथा परोक्ष रुपमा प्रभाव पर्ने गर्दछ ।
योजना बनाऔं
व्यवस्थित जीवनको रहर सबैलाई हुन्छ, तर यसका लागि चाहिने आधारभूत तत्व योजना हो । हामीमध्ये धेरैजसो योजनाविना जे जस्तो कार्य वा परिस्थिति आयो त्यसैअनुसार जीवन निर्वाह गरिरहेका हुन्छौं । जसकारण हामी आफूले चाहेजस्तो उन्नत र सफल जीवन जिउन सक्दैनौं ।
नयाँ वर्षमा जीवनको रोडम्याप बनाएर अघि बढ्न तयार बनौं । योजना निर्माण तथा कार्यान्वयनका लागि आधारभूत विषयवस्तुको व्यवस्थापनका लागि चाहिने आवश्यक साधन स्रोतको पहिचान गरौं र प्रभावकारी ढंगले परिचालनका लागि प्रष्ट भएर अघि बढौं ।
जीवनमा प्रत्येक सेकेण्डको त महत्व छ भने एक वर्षले धेरै ठूलो महत्व राख्छ । तसर्थ पूरै एक वर्षलाई भरपुर मनाउन तयारी गरौं ।
प्रतिबद्घता गरौं
हाम्रो समीक्षा र योजना हाम्रा राजनीतिक दलका घोषणापत्र जस्ता आश्वासनका झुटा सपना नबनुन्, जे सकिन्छ जुन सम्भव छ त्यही मात्र हाम्रो कार्ययोजनामा राखौं । योजना शतप्रतिशत सफल त नहोला, तर कम्तीमा कार्ययोजनासहित व्यवस्थित कार्यान्वन पद्घतिको विकास हुन्छ । हामीलाई समीक्षा गर्न र योजना बनाउन खासै कठिन नहोला, तर कार्यान्वयन पक्ष गाह्रो हुने गर्छ । कार्यान्वयनका क्रममा थुप्रै चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ । हरेक कठिन तथा विषम परिस्थिति सामना गर्नका लागि दृढ संकल्प गरौं । जसले योजनालाई कार्यान्वयनमा ल्याउन सक्छ उसैको भविष्य उज्ज्वल हुन्छ ।
नराम्रा बानी-व्यवहार त्याग गरौं
धुम्रपान, मध्यपान, जुवा-तासको बानी छ भने नयाँ वर्षबाट यसलाई हटाउने प्रण गरौं । यति मात्र होइन अरुको कुरा काट्ने, हरेक विषयमा नकारात्मक टिकाटिप्पणी गर्ने, आफूले केही नगर्ने, तर गर्नेलाई पनि जस नदिने, आफ्नो काम गर्न छाडी अनावश्यक गफ गरेर बस्ने, अल्छी गर्ने, क्षणिक रमाइलोमा मात्र ध्यान दिने, घमण्ड, इष्र्या, वैमनस्यता, प्रतिशोध जस्ता कुरालाई नयाँ वर्षबाट नदोहोर्याउने प्रण गरौं ।
राम्रा बानी बसालौं
सुस्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर दैनिक योग, व्यायाम, प्राणायाम तथा ध्यान गरौं । हरेक काम गर्दा जोश, जाँगर, उत्साह र आनन्दका साथ गरौं । तत्काल गर्न आवश्यक र महत्वपूर्ण काम पहिले गर्ने गरौं । सबैसँग राम्रो व्यवहार गरौं, सबैलाई सहयोग गरौं । सहकार्य र सहअस्तित्वमा विश्वास गरौं ।
पारिवारको लागि समय निकालौं
हामीमध्ये कतिपय आफ्नो काम र कार्यालयलाई मात्रै भरपुर समय दिन्छौ । अतिरिक्त समय तथा बिदाको दिनमा समेत आफ्नो पेशा व्यवसायमा संलग्न हुन्छौं । यसले आर्थिक तथा व्यावसायिक जीवनमा त सफल भइएला, तर पारिवारिक खुसी तथा सुसम्बन्धमा खलल पर्न सक्छ ।
त्यसैले बिदाको दिन तथा चाडपर्वमा परिवारको लागि समय निकाल्नुपर्छ । रमाइलो गफगाफ तथा घुमफिर लगायतले परिवारमा खुसी ल्याउँछ ।
(जोशी शिक्षा अभियन्ता हुन् ।)
प्रतिक्रिया 4