+
+

बर्खामा राष्ट्रिय खेलकुद- प्रतिस्पर्धा फितलो हुने डर

नवौं खेलकुदबाट एसियाडका लागि टिम छनोट हुने

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७८ चैत ३० गते २०:१०
महेश्वर गहतराज र टंकलाल घिसिङ ।

३० चैत, काठमाडौं । दुई वर्षअघि नै हुनु पर्ने राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरकारले बल्ल घोषणा गरेको छ । नवौं राष्ट्रिय खेलकुद २२ जेठदेखि २८ सम्म गण्डकी प्रदेशमा हुनेछ ।

२०७५/०७६ मा तत्कालीन प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुद सम्पन्न हुँदा नै २०७७ फागुनमा गण्डकीमा नवौं संस्करण आयोजना हुने घोषणा गरिएको थियो । कोराना महामारी र राष्ट्रिय खेलकुद परिषद (राखेप)मा कार्यकारी नेतृत्वको विवादका कारण दुईपल्ट सारिएको यो प्रतियोगिता आउन अब ५२ दिन बाँकी छ ।

यसबीचमा राखेपले खेलाडी छनोटदेखि प्रशासनिक कामहरु सम्पन्न गर्नुपर्ने छ । यो ५२ दिन भित्र स्थानीय तहको चुनाव पनि पर्ने छ ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले चुनौतिलाई अवसरका रुपमा लिने बताएका छन् ।

‘यो प्रतियोगिताका लागि तयारी गरिरहेकै थियौं । बीचमा राखेपको कार्यकारी नेतृत्वका लागि जुन समस्या भयो, त्यसका कारण जुन स्तरमा तयारीको काम हुनुपर्ने थियो त्यो हुन सकेको छैन,’ उनले अनलाइनखबरसँग भने, ‘अब धेरै मिहिनेत गर्नुपर्ने अवस्था आएको छ । यो चुनौति र जटिलतालाई मैले एउटा अवसरका रुपमा लिएको छु ।’

कोरोना महामारीका कारण दुई वर्षदेखि प्रतियोगिताबिहीन भएका खेलाडीहरु राष्ट्रिय प्रतियोगिताको व्यग्र प्रतीक्षामा छन् । तर, प्रस्तावित मिति राष्ट्रिय खेलकुदका लागि कति उपयुक्त थियो भनेर खेलकुद मन्त्रालय र राखेप वस्तुगत समीक्षामा चुकेका छन् ।

जेठको अन्तिम सातादेखि नेपालमा मनसुन सुरु हुन्छ । पोखरा नेपालमै सबैभन्दा धेरै वर्षा हुने स्थान भएको कारणले पनि प्रतियोगितामा प्रत्यक्ष असर पर्न सक्छ । राष्ट्रिय खेलकुद गण्डकीमा भने पनि अधिकांश खेल पोखरा र आसपासमा नै हुने छन् ।

‘देशमा चुनावी माहोल सुरु भइसकेको छ । हामीले जेठभन्दा पर सार्दा यो वर्षभरि नै प्रतियोगिता गर्न नसकिने हो कि भन्ने खतरा बढ्न थाल्यो । जेठपछि मौसमको कारणले भदौसम्म प्रतियोगिता गर्न सकिँदैन । कात्तिक/मंसिरको कुरा आउँछ । त्यतिबेलादेखि संघ र प्रदेश निर्वाचनमय हुन्छ,’ युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अनलाइनखबरसँग भने ।

सररकारले राष्ट्रिय खेलकुदका लाग तोकेको समयमा सबैभन्दा लोकप्रिय खेलहरु फुटबल र क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुँदै छन् । क्रिकेट टिमले ओमान र अमेरिकासँग अमेरिकामा त्रिकोणात्मक श्रंंखला खेल्दैछ भने फुटबल टिमले एएफसी एसियन कप छनोट तेस्रो चरणमा कुवेत, जोर्डन र इण्डोनेसियासँग कुवेतमा खेल्ने पूर्वघोषित तालिका छ ।

टंकलाल घिसिङ ।

‘यसबारे राष्ट्रिय खेल संघहरुसँग आवश्यक समन्वय गरेर कतिपय खेलहरुको सन्दर्भमा आवश्यक निर्णय गर्नुपर्ने हुनसक्छ । यसमा धेरै समस्या नहोला,’ मनसुनले प्रतियोगिता प्रभावित हुनसक्नेतर्फ राखेप सदस्यसचिव घिसिङले थपे, ‘आउटडोर खेलमा पनि क्रिकेटबाहेक अन्य खेलमा धेरै समस्या हुन्छ जस्तो लाग्दैन । प्रतियोगिताभर नै त पानी नपर्ला भन्ने आशा छ । अवस्था हेरेर प्रतिस्पर्धा सञ्चालन गर्न पनि सकिन्छ ।’

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद हिरा भट्टराईले दुई महिनापछिको मनसुनी अवस्थाबारे अहिले नै भन्न नसकिने भए पनि त्यो समय नेपालमा वर्षा सुरु हुने समय भएको बताए । ‘सामान्यतः १३ जुनदेखि नेपालमा मनसुन सुरु हुन्छ । कहिलेकाहीं एक साताजस्तो अगाडि वा पछाडि पनि हुनसक्छ,’ भट्टराईले भने ।

नवौं राष्ट्रिय खेलकुदका लागि राखेपले कार्यविधि निर्धारण गरेको छ । घरेलु खेलकुदको महामेलाका लागि तीन महिनाको तयारी समय आवश्यक हुने राखेपका पूर्व निमित्त सदस्यसचिव कुलबहादुर थापा बताउँछन् ।

यसअघि आठौं राष्ट्रिय खेलकुद सञ्चालन गर्दा पनि खेलाडी छनोट र प्रशासनिक तयारीका लागि तीन महिनाको समय लागेको थियो ।

मन्त्री गहतराजले मन्त्रालयको तर्फबाट बनेको कार्यविधिमा समयानुकुल परिमार्जन गरी तयारीलाई तीव्रता दिन राखेपलाई निर्देशन दिइसकेको बताए । उनले भने, ‘हामीले छोटो समयमा धेरै कामहरु गर्नुपर्नेछ । राखेपको नेतृत्व पनि त्यसप्रति गम्भीर छ । मैले त सदस्यसचिवलाई आफ्नो कार्यालय नै पोखरा सार्नुस् भनेको छु ।’

चालू आर्थिक वर्षको वजेटमा सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि १६ लाख रुपैयाँ बजेट छुट्याएको थियो । राज्यको प्राथमिकतामा परेको कार्यक्रम भएकाले प्रतियोगिता सञ्चालनका लागि वजेटको समस्या नहुने सदस्यसचिव घिसिङले बताए ।

‘संघीय संरचनामा गइसकेको हुनाले स्थानीय तहमा खेलकुद गतिविधि र प्रतियोगिताहरु नियमित भइरहेका छन् । प्रदेश संरचना नभएका प्रदेशमा पनि राष्ट्रिय खेलसंघ मातहत काम भइरहेको छ । त्यसैले खेलाडी र टिम छनोट गर्न समस्या छैन,’ घिसिङले थपे, ‘मन्त्रिपरिषदले नै मिति घोषणा गरी तयारी सुरु गर्न भनेको हुनाले यो राज्यको प्राथमिकताको कार्यक्रम हो । वजेटकै कारणले प्रतियोगिता सन्चालन गर्न अप्ठेरो हुँदैन ।’

उनले टिम छनोट र अन्य प्रक्रियात्मक कुराकानीका लागि प्रदेश सदस्यसचिवसँग छिट्टै छलफल गर्ने बताए ।

राखेप सदस्यसचिव नियुक्त भएलगत्तै अदालती प्रक्रियाका कारण काम गर्न नपाएका घिसिङ झण्डै चार महिनापछि गत साता राखेप फर्किएका थिए । प्राथमिकताअननुसार आफूले एक साताभित्रै प्रतियोगिताको मिति घोषणा गरेको भन्दै राष्ट्रिय खेलकुदमय बनाउन सबै खेलकर्मीलाई अपीलसमेत गरेका छन् ।

‘मैले सुरुदेखि नै नवौं खेलकुदलाई प्राथमिकता दिएको थिए । अब मिति घोषणा भएपछि सबैको साथ पाउने आशा गरेको छु । अहिले देश चुनावमय भएको छ । हामी खेल क्षेत्रमा मानिसहरु राष्ट्रिय खेलकुदमय बनाउन लागि परौं,’ उनले भने ।

सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद बाटै आगामी सेप्टेम्बरमा चीनमा हुने एसियाली खेलकुदका लागि राष्ट्रिय टिम छनोट गरिने बताए । उनले भने, ‘यो प्रतियोगिता १९औं एसियाली खेलकुदमा नेपालको सहभागिता प्रक्रियाकै एउटा अंग हुनेछ ।’

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?