+
+

निरन्तर बढ्दै तरकारीको मूल्य, उपभोक्ता मारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते २०:२६

२ वैशाख, काठमाडौं । ‘अघिल्लो महिना ३५ रुपैयाँमा किनेको अदुवा अहिले ९० रुपैयाँ पुगेछ । किनेर खान सक्ने अवस्था नै छैन’, कीर्तिपुरमा डेरा लिएर बसिरहेका अजय चौधरीले शुक्रबार तरकारी किन्दै गर्दा भने ।
चौधरी मात्र हैन, सबै उपभोक्ता महँगीको मारमा छन् ।

‘सधैं किनेर खानुपर्ने ग्राहकको लागि महँगीले धेरै समस्या परेको छ, अब काठमाडौंमा कसरी टिक्ने हो थाहा छैन’, चौधरी चिन्ता व्यक्त गर्छन ।

उनले काठमाडौंको चिन्ता गरे पनि उपत्यका बाहिर पनि महँगी उस्तै छ । तरकारी किनेर खानु पर्ने उपभोक्ताले महँगीको सामना गर्नु परिरहेको छ ।

पछिल्लो समय दैनिक भान्छामा प्रयोग हुने तरकारी तथा फलफुलको मुल्य लगातार बढिरहेको छ । सब्जीमण्डीमा जाँदा केहि सस्तो परे पनि खुद्रा पसल र ठेलामा तरकारीको भाउ छोइ नसक्नु छ ।

चैतमा अधिकतम् १५ रुपैयाँ प्रतिकेजी रहेको रायोको साग अहिले ११५ रुपैयाँसम्म पुगेको छ । चम्सुरको सागको मुल्य पनि त्यस्तै छ । ५० रुपैयाँ प्रतिकेजी औसत रहेको चम्सुर अहिले १५५ रुपैयाँ प्रतिकेजी परिरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार १ चैतमा रातो आलुको प्रतिकिलो मूल्य औसतमा २५ रुपैयाँ थियो । अहिले रातो आलु किलोको ३१ रुपैयाँ पर्छ ।

१ चैतमा १५ देखि २० रुपैयाँ प्रतिकेजीमा पाएको स्थानीय काउली शुक्रबार ५० देखि ६० रुपैयाँ प्रतिकेजीमा उपभोक्ताले किनिरहेका छन् ।

१ चैतमा १७ रुपैयाँ प्रतिकेजी पाइने गाजर अहिले ३० रुपैयाँ प्रतिकेजी पर्छ ।

माछामा पनि प्रतिकेजी १० रुपैयाँ दरले महंगो भएको छ । २० देखि ३० रुपैयाँमा पाइने ब्रोकाउली अहिले ९० रुपैयाँ प्रतिकिलोसम्म परेको छ ।

भेँडे खुर्सानीमा एक महिनाको अवधीमा १५ रुपैयाँ प्रतिकेजी बढेको छ । चाइनिज लसुनदेखि नेपाली लसुुनसम्मको मूल्य नि १५–२० रुपैयाँ प्रतिकेजी बढिरहेको छ । धनियाँको मुल्यवृद्धि हेर्दा निम्न र मध्यम वर्गको परिवारले उपभोग नै गर्न नसक्ने अवस्था छ ।

हरियो धनियाँ एक महिनाको अवधीमा १२ गुणा बढि मुल्यवृद्धि भएको देखिएको छ । समितिका अनुसार १ चैतमा औसतमा ३५ रुपैयाँ प्रतिकेजी परेको हरियो धनियाँ शुक्रबार ४ सय ५० सम्म पुगेको छ ।

गोलभेंडामा भने मुल्यवृद्धि खासै देखिँदैन । शुक्रबारको अधिकतम मुल्य ५५ छ भने एक महिना अगाडी गोलभेंडाको मुल्य पनि ५५ नै थियो । केहि मौसमी तरकारीहरुमा मुल्य स्थिर भए पनि धेरै प्रयोग हुने तरकारीहरुको मुल्य नै आकाशिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?