
काठमाडौं । सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’को गीत ‘तिम्रै हुँ भन्छ यो मनले’ सार्वजनिक भएको छ । अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर समावेश गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ । गीतमा सौगात र नायिका दीया पुनबीचको रोमान्स चित्रण छ ।
वैशाख १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मले हिमाली क्षेत्रको प्रेमकथा प्रस्तुत गर्छ । मनास्लु क्षेत्रमा छायांकन गरिएको फिल्मले त्यहाँको आञ्चलिक संस्कृतिलाई पनि चित्रण गरेको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिए ।
फिल्मले यसअघि नै ट्रेलरबाट राम्रो प्रतिक्रिया बटुलेको छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा फिल्म बनेको हो ।
गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बा लगायतका रमणीय दृश्य कैद गरिएको छ ।
फिल्ममा बुद्धि तामाङ, नमिता घिसिङ र पासाङ टी शेर्पाको पनि मुख्य भूमिका छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।
प्रतिक्रिया 4