+
+

मुम्बई इन्डियन्सको खराब कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १३:३५

४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक सफल टोली हो मुम्बई इन्डियन्स । अहिलेसम्म १४ संस्करण आयोजना हुँदा मुम्बईले सर्वाधिक ५ पटक उपाधि जितिसकेको छ । चेन्नई सुपर किंग्सले ४ पटक जितेको छ ।

तर भारतीय कप्तान रोहित शर्माकै नेतृत्वमा रहेकाे मुम्बईले यस पटक भने पुरानो लय देखाउन सकेको छैन । मुम्बईले यस सिजन सुरुवाती ६ खेलमा लगातार हार ब्यहोरेको छ । अहिलेसम्म ६ खेलबाट मुम्बई अंकविहिन हुँदै पुछारमा छ । मुम्बई मात्र त्यस्तो टोली हो जसले यस सिजन अंक जोडेको छैन ।

मुम्बईले लगातार ६ खेल हार्दै आईपीएलमा खराब कीर्तिमान बनाएको छ । यसअघि दुई टिमले यो खराब कीर्तिमान बनाइसकेका छन् र त्यसमा मुम्बई पनि थपिएको छ ।

शनिबार लखनउ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएपछि मुम्बईले लगातार ६ हारको खराब कीर्तिमान बराबरी गरेको हो ।

यसअघि सन् २०१३ मा दिल्ली क्यापिटल्स र २०१९ मा रोयल च्यालेन्जर्स बैंगलोर सुरुवाती ६ खेलमा पराजित भएका थिए ।

मुम्बईले यसअघि सन् २०१४ मा सुरुवातकै लगातार ५ खेलमा हार ब्यहोरेको थियो । त्यस बेला भने मुम्बई प्लेअफ पुग्न सफल भएको थियो । तर यसपटक लगातार हारपछि शीर्ष चारमा रहेर प्लेअफ पुग्ने मुम्बईको अभियानमा धक्का समेत लागेको छ ।

यसअघि दिल्ली र बैंगलोरले सुरुवातको ६ खेल हारेपछि सातौं खेलमा पुगेर पहिलो जित निकालेका थिए ।

अब यस पटक एक्लै खराब कीर्तिमानबाट बच्ने हो भने मुम्बईले आउने बिहीबार नाभी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा हुने चेन्नई सुपर किंग्स विरुद्धको खेल जित्नैपर्नेछ । साविक विजेता चेन्नईले पनि यस पटक बिर्सनलायक सुरुवात गरेको छ । चेन्नईले ५ खेल खेल्दा जम्मा १ खेल जित्दै दुई अंक जोडेर अंकतालिकामा मुम्बई भन्दा मात्र अघि छ ।

लगातार हारपछि कप्तान रोहित शर्माले यसको पूरा जिम्मेवारी आफैं लिने र अबको खेलमा टिमकाे रुपमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।

यस्तै मुख्य फास्ट बलर जसप्रित बुमराहले पनि टिम अहिले राम्रो अवस्थामा नरहेको र सबैजना निराश रहेको बताएका छन् । साथै उनले जीवन नै नसकिएको भन्दै अब आउने खेलमा राम्रो प्रदर्शन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?