+
+

पृथ्वीबहादुर शाहले नेपाल भित्र्याउन खोजेको रकम ‘आपराधिक क्रियाकलापबाट आर्जित’

नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी ईकाई (एफआईयु) ले तयार पारेको गोप्य आन्तरिक प्रतिवेदन अनुसार शाहले पटक पटक अमेरिकाबाट भित्र्याएको रकम आपराधिक क्रियाकलापबाट आर्जित हो ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७९ वैशाख ४ गते २०:५८

४ वैशाख, काठमाडौं । अछामको दर्ना– ८ का पृथ्वीबहादुर शाहले अमेरिकाबाट शंकास्पद रुपमा नेपाल भित्र्याएको करिव ४० करोड रुपैयाँ अमेरिकामा अपराध गरी नेपाल भित्र्याइएको रकम भएको खुलेको छ । नेपाल राष्ट्र बैंक उच्च स्रोतबाट अनलाइनखबरलाई प्राप्त विवरण अनुसार, उक्त रकम ‘कम्प्यूटर ह्याक गरी ठगीजन्य क्रियाकलापबाट आर्जित’ हो ।

अछामका पृथ्वीबहादुर शाह लगायतको समूहले अमेरिकाबाट विभिन्न कम्पनीका नाममा ४० करोड रुपैयाँ नेपाल भित्र्याएको थियो । वित्तीय शुद्धिकरणवारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले उक्त रकम भुक्तानी रोक्न पत्राचार गरेको थियो । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) ले गरेको पत्राचारका आधारमा रकम रोक्का भएको हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले विभिन्न बैंकमा पत्र पठाएर रकम रोक्का गरेपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकमा पत्र नै पठाएर रकम फिर्ताका लागि दबाव दिएका थिए । त्यही दबाव अस्वीकार गरेको र सूचना बाहिर चुहाएको आरोपमा अर्थमन्त्री शर्माले मन्त्रिपरिषदबाट छानविन समिति गठनको निर्णय गराई गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेका थिए । अर्थमन्त्रीले फुकुवा गर्न दबाव दिएको त्यो रकम अमेरिकामा अपराध गरी नेपाल भित्र्याइएको खुलासा भएको हो ।

राष्ट्र बैंक उच्च स्रोतका अनुसार, १८ चैत २०७७ मा अमेरिकाको न्यूयोर्कस्थित स्टाण्डर्ड चार्टर बैंकबाट स्विफ्ट (बैंकहरुले अन्तर्राष्ट्रिय कारोवार गर्ने प्रणाली) गरी व्यापारिक लगानी (विजनेस इन्भेष्टमेन्ट) का लागि भन्दै नेपालमा रकम भित्र्याइएको थियो ।

‘कम्प्यूटर ह्याक गरेर ठगीजन्य क्रियाकलापबाट (आर्जित) रकम पठाएको हुँदा फिर्ता गरिदिन उक्त बैंकले नेपालमा अनुरोध गरेको हो’ राष्ट्र बैंकको वित्तिय जानकारी ईकाई (एफआईयू) को पत्र उधृत गर्दै स्रोतले भन्यो, ‘त्यही पत्रका आधारमा रकम रोक्का गरिएको हो ।’

राष्ट्र बैंकले आफूले तयार पारेको आन्तरिक विवरणपत्रमध्ये केहीमा ‘अति गोप्य अन्तर्राष्ट्रिय सूचना सञ्जाल मार्फत प्राप्त जानकारीका आधारमा’ रकम रोक्का गरिएको भनी उल्लेख गरेको छ भने केहीमा अमेरिकी निकाय फिनसेनको नाम उल्लेख गरेको छ ।

विवरण पत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाका खातामा अस्वभाविक रुपमा विदेशबाट रकम पाएको र सारेको आधारमा इकाई (एफआईयू) ले विश्लेषण गर्दा एउटै समूहसँग आवद्ध केही व्यक्ति÷ंसंस्था यस्तो कारोवारमा संलग्न देखिदै आएकाले खाता रोक्का राख्न अनुरोध गरिएको हो ।’

राष्ट्र बैंक उच्च स्रोतका अनुसार, यो कारोबारमा अछामका पृथ्वीबहादुर शाह, उनका भाइ विजयविक्रम शाह, उनीहरुको कम्पनीमा काम गर्ने भनी खुलाइएका लक्ष्मण रेग्मी लगायतको नाम छ । करिव आधा दर्जन कम्पनी भनिए पनि अरु त्यति नै कम्पनीको नाममा रकम भित्र्याउने प्रयास भएको स्रोतले बतायो ।

उनीहरुले कतै अमेरिकामा नेपाल आउने पर्यटकबाट संकलित रकम नेपाल पठाइएको दावी गरेका छन् भने कतै नेपालका लागि भित्र्याइएको व्यापारिक लगानी भनेका छन् । अधिकांश कारोबारमा अमेरिकाको फिनसेनले पत्राचारमार्फत ठगी, राजस्व छली लगायतका क्रियाकलापबाट आर्जित रकम नेपाल भित्र्याइएकाले रोक्का राख्न र फिर्ता गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

एउटा बैंकमा बचत भएको रकमवारे राष्ट्र बैंकले टिप्पणीमार्फत भनेको छ, ‘जम्मा भएको रकम ठगीसँग सम्बन्धित भएकाले सम्बन्धित देशबाट फिर्ताको माग भएको (देखिन्छ) ।’

आफ्नो रकम रोक्का भएपछि ११ चैत २०७८ मा पृथ्वीबहादुर शाहले अर्थमन्त्री जनार्दन शर्मालाई निवेदन लेख्दै रकम फुकुवाको पहल गरिदिन अनुरोध गरेका थिए । जवाफमा अर्थमन्त्री शर्माले सचिवलाई तोक लगाउदै खाता रोक्काको कारण खुलाउन र स्पष्ट जानकारी माग्दै खाता फुकुवा गराउन निर्देशन दिएका थिए ।

सचिव मधु मरासिनीले ‘मन्त्रीको निर्देशन अनुसार गर्नु’ भनी राष्ट्र बैंकमा पत्राचार गरेका थिए । त्यही विवाद उत्कर्षमा पुगेका बेला सरकारले गभर्नर अधिकारीमाथि छानबिन समिति बनाएर उनलाई निलम्बन गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पनि शाहको सम्पत्तिको स्रोतमाथि शंका व्यक्त गर्दै आपराधिक क्रियाकलापबाट आर्जित लाभ हुनसक्ने जवाफ लेखेको थियो । उसले शाहको कारोबारमाथि प्रश्न उठाउदै उक्त रकम राजस्व छली, सम्पत्ति शुद्धिकरण, ठगी लगायतका क्रियाकलापबाट आर्जित आपराधिक लाभ हुनसक्ने भएकाले आफूले अनुसन्धान गरेको भनी सर्वोच्च अदालतमा जवाफ लेखेको थियो ।

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?