+
+

सुनौलो कागतीको अमिलो कथा

चालु आर्थिक वर्षको ८ महिनामा ७८ लाख ५७ हजार ८७८ किलो कागती भारतबाट आयात गर्दा नेपालले ६० करोड २३ लाख ६१ हजार रुपैयाँ खर्च गरेको देखिन्छ । गत आर्थिक वर्षमा नेपालले ९१ करोड ९६ लाख रुपैयाँको कागती आयात गरेको थियो । यो तथ्यांक क्रमिक बढ्दै गएको देखिन्छ ।

राजेन्द्र देवकोटा राजेन्द्र देवकोटा
२०७९ वैशाख ५ गते ८:११

कागतीको उत्पत्ति उत्तरी मलेसियाको गर्मी स्थानमा भएको मानिन्छ । यसै ठाउँबाट क्रमशः चीन, भारत, मध्यपूर्व हुँदै युरोप, अफ्रिका र अमेरिकामा कागती पुगेको हो । नेपालमा कागती कहिले प्रवेश गर्‍यो र खेती सुरु भयो भन्ने ऐतिहासिक तथ्य प्राप्त हुन सकेको छैन ।

नेपालमा सुन्तला पछि अमिलो वर्गमा कागती खेतीले दोस्रो स्थान ओगटेको पाइन्छ । नेपालमा कागती खेतीको सुरुवातको यकिन तथ्यांक नभए पनि हजारौंवर्ष अघिबाट नेपालमा कागती खेती गरिएको हो, तर जुनार र भोगटे भने राणाकालीन प्रधानमन्त्रीको बेलामा भएको भन्ने विश्वास गरिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालका ३९ जिल्लामा कागती खेती हुन्छ भनिन्छ, तर ९ प्रतिशत मात्र आन्तरिक उत्पादन कागतीको रहेको एक अध्ययनले देखाउँछ ।

अमिलो कागती अथवा एसिड लाइम दुई प्रकारका हुन्छन् । साना फल हुने कागती नै नेपालमा खेती हुने कागतीको प्रमुख प्रकार हो । यस प्रकारका कागतीलाई पहाडी कागती वा सुन कागती पनि भनिन्छ । मद्रासी कागती तथा बनारसी कागती पनि यसै प्रकारका कागती हुन् ।

त्यस्तै, अर्को प्रकारमा ठूला फल हुने कागती यस प्रकारका कागतीको उत्पत्ति साना फल हुने कागती र निबुवा प्रजातिका बालीको बीचमा क्रस भएर वर्णशंकर भई उत्पत्ति भएको मानिन्छ । यस प्रकारका कागतीको खेती युरोप र अमेरिकामा हुने गरेको छ । नेपालमा यस प्रकारको कागतीको खेती गरिएको छैन । तर हालसम्म सानु प्रजातिको कागतीको जातमा सुन कागती १, सुन कागती २, तेह्रथुम स्थानीय, एनसीआरपी ५३, यूरेका, बनारसी, मद्रासी, सीडलेस आदि रहेका छन् ।

नेपालमा धेरै कागती बिजु र कलमीबाट तयार गरिएका बिरुवा लगाएर गर्ने गरिन्छ । बिजु फल्ने समय धेरै लाग्ने, बोट झाम्मिने र प्रति एकाई क्षेत्रमा कम बिरुवा अट्ने हुन्छ भने कलमीमा ज्यादा रोग तथा किराको सक्रमण विशेषत मूल जरा नै विकास नहुने हुँदा ५–६ वर्षमा सुक्ने गर्दछ । अहिले नेपालका केही ठाउँमा मात्र ग्राफ्टेड कागती लगाउने गरिएको छ । व्यवसायिक कागती खेतीको लागि ग्राफ्टिङ गरिएका कागती नै रोप्नु राम्रो हुन्छ । सरकारले ग्राफ्टेड बिरुवा उत्पादन र सोको खेतीमा प्रोत्साहन हुने नीति रणनीति बनाउनुपर्ने देखिन्छ ।

कागती खेती नेपालको मध्यपहाड, बेंसी र भित्री मधेशमा एक महत्वपूर्ण नगदे बालीको रूपमा विकास हुनुपर्ने हो तर हुन सकिराखेको छैन । नसकेको अवस्थालाई मध्यनजर गरी कागती फल उत्पादनको व्यवसायिक विकास गरी आयात प्रतिस्थापन र कृषकको आयस्तर वृद्धि गर्ने मूलभूत उद्देश्यले कागती अभियान कार्यक्रम वि.सं. २०६४/६५ देखि पहिलो चरणमा तीन जिल्ला धनकुटा, भोजपुर र तेह्रथुम जिल्लामा सुरु भएको थियो । दोस्रो चरणमा १ जिल्ला मकवानपुर र तेस्रो चरणमा ६ जिल्ला गरी १० वटा जिल्लाबाट सुरु भएको थियो तर बजेटको अभावका कारणले यस कार्यक्रम निरन्तर हुन सकेन । सरकारले कागती मिसन २०७५ लाई आधार वर्ष मानेर कार्यक्रम सञ्चालन गरे पनि सफल हुन सकेन ।

कागती खेती कहाँ उपयुक्त ?

व्यवसायिक रूपमा कागती खेतीको लागि तराई र भित्री मधेशको पानी नजम्ने जमिन मध्यपहाडी क्षेत्रको बेंसी, खोंच, नदी किनार हुँदै १७०० मिटरसम्मको क्षेत्र उपयुक्त हुन्छ । गुणस्तरीय फल उत्पादनको लागि दिनमा ८ देखि १० घण्टा सूर्यको प्रकाश पर्ने, तापक्रम १० देखि ३५ डिग्री सेल्सियस बीच रहने र हुस्सु नलाग्ने स्थानहरू उपयुक्त हुन्छन् । यस्ता क्षेत्र पहाड तथा तराईमा धेरै छन् । जमिन खाली छन् तर बजार भएका यस्ता बाली लगाउने ध्यान र सोच नेपाली जनतामा छैन ।

सुन्तला पछिको बजार बोकेको कागती खेती नेपालमा खासै हुन नसक्दा आयात बर्सेनि बढेको छ । नेपाली भान्छामा प्रतिदिन कागतीको प्रयोग बढ्दो छ । तर खेतीको क्षेत्र र उत्पादन बढ्न भने सकेको छैन । उत्पादन वृद्धि गर्न सही जात, वनस्पतिक विधिद्वारा तयार गरिएको बिरुवाको अभाव, बगैंचा व्यवस्थापन, रोग जस्तै ट्रिटिजा– भाइरस, सिट्रस क्यानकर–ब्याक्टेरिया, फाइटोफथोरा– ढुसी किराहरूमा कत्ले किरा, पात खन्ने किराको कारणले उत्पादन वृद्धि हुन सकिराखेको छैन ।

नेपालमा आर्थिक वर्ष २०७७/०७८ मा ८ हजार ५ सय हेक्टर क्षेत्रफलमा ४६ हजार एक सय १८ टन कागती उत्पादन भएको अनुमान छ । उत्पादित कागती ठूलो र कम रस भएको हुँदा बजारमा समेत जान नसकी बोटमै कुहिने समेत गरेको देखिन्छ । बोक्रा पातलो, सुनौलो कागती नेपाली उपभोक्ता माझ लोकप्रिय भएको छ । सो कागती भारतमा भने व्यापक उत्पादन हुने गर्दछ । चालु आर्थिक वर्षको ८ महिनामा ७८ लाख ५७ हजार ८७८ किलो कागती भारतबाट आयात गर्दा नेपालले ६० करोड २३ लाख ६१ हजार रुपैयाँ खर्च गरेको देखिन्छ । गत आर्थिक वर्षमा नेपालले ९१ करोड ९६ लाख रुपैयाँको कागती आयात गरेको थियो । यो तथ्यांक क्रमिक बढ्दै गएको देखिन्छ ।

उत्तरी गोलाद्र्धको अति चिसो हावापानी हुने राष्ट्र बाहेक संसारका प्रायः सबै देशमा अमिलो जातका फलफूल व्यावसायिक रूपमा खेती गरिन्छ । सन् २०१९ को तथ्यांक अनुसार संसारमा सबैभन्दा बढी कागती र निमुको खेती गरिने देशहरू चीन, अमेरिका र भारत पर्दछन् । चीनमा ३०० मिलियन, अमेरिकामा १८ र भारतमा १६ मिलियन मेट्रिकटन कागती उत्पादन हुन्छ । त्यस्तै स्पेन, ईरान, ब्राजिल, इटाली, टर्की पनि कागती र निमुको मुख्य उत्पादन गर्ने देशमा पर्दछन् । यी सबै देशहरूले विश्वको कुल ८५ प्रतिशत उत्पादन गर्ने गर्दछन् । नेपालमा धेरैजसो भारतको नागपुर, आन्ध्रप्रदेश र गुजरातबाट कागती भित्रिने गर्दछ ।

भारतको धेरै कागती उत्पादन हुने गुजरातमा केही समयअघि आँधीले कागती खेतीमा क्षति पुर्‍यायो र हाल पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च पनि बढ्यो । यिनै कारणले नेपालमा कागती भाउ चैत अन्तिमदेखि नै बढेको देखिन्छ । नेपालमा मात्र होइन, भारतको दिल्ली क्षेत्रमा पनि कागतीको भाउ उच्च रूपमा बढेको देखिन्छ ।

नेपालमा बाँझो जमिनको आंकलन २५ देखि ४० प्रतिशत रहेको छ भन्ने विश्वास गरिन्छ । त्यस्तै नेपालमा २५ प्रतिशतभन्दा बढी किसान भूमिहीन छन् भनिन्छ, तर त्योभन्दा धेरै प्रतिशत जमिन खाली छ । यसको मतलब कृषिमा परनिर्भरताको खाडल बढ्दै छ भन्ने बुझिन्छ । जमिन बाँझो रहनुको मुख्य कारणहरूमा वैदेशिक रोजगारी तथा शहरतिर बसाइँ सर्ने प्रवृत्ति हो ।

अन्य कारणहरूमा ग्रामिण कृषिमा जनशक्तिको अभाव, वन्यजन्तुको प्रकोप, जलवायु परिवर्तनका कारण पनि उत्पादनमा ह्रास, लाभभन्दा लगानी बढी, सिंचाइ र मलको अभाव, बजारमा पहुँचको अभाव लगायत हुन् ।

हामीले विदेशीको नक्कल गर्न थाल्यौं र हरित क्रान्तिको कुरा गर्यौं । तर हरित क्रान्तिको ढाँचा अनुसार कृषिका लागि सिंचाइ, रासायनिक मल, उन्नत बीउ, विषादी तथा ट्याक्टर जस्ता उपकरण चाहिन्छन् । यो ढाँचामा खेती गर्दा आधारभूत आवश्यकतामध्ये जमिन मात्र किसानसँग उपलब्ध हुने र अन्य स्रोत–साधनका लागि अन्यत्र निर्भर हुनुपर्ने हुनाले मानिस खेती गर्न निरुत्साहित भैरहेको देखिन्छ ।

अन्न बाली र तरकारीमा भन्दा हाम्रो परनिर्भरता फलफूलमा झन् बढेको देखिन्छ । बाँझो जमिनको ओखती कागती खेती नै हो । व्यवसायिक कागती उत्पादन गरी आयात प्रतिस्थापन र ग्रामिण रोजगारी सिर्जना गर्नु नितान्त खाँचो देखिन्छ । यसका लागि प्रदेश, स्थानीय र संघ बीचमा तारतम्य र कागती खेतीमा युवा संलग्न हुन सक्ने आधार खोजी अघि बढ्नुपर्ने देखिन्छ ।

(देवकोटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृषि क्षेत्रमा नवीनतम विधि र प्रविधिमा लामो समय काम गरिसकेका कृषि विज्ञ हुन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?