+
+
दृष्टिविहीन बुनाको अमेरिकासम्मको यात्रा :

आफू सफल भइन्, अब अरुलाई सक्षम बनाउँदैछिन्

अंगद सिंह अंगद सिंह
२०७९ वैशाख ५ गते १८:४१

५ वैशाख, काठमाडौं । काम गर्ने इच्छाशक्ति भए जिन्दगीमा जतिसुकै बाधा-व्यवधान आएपनि पार गर्न सकिन्छ भन्ने गतिलो उदाहरण हुन्, बुना दाहाल ।

अरुभन्दा केही फरक गर्ने अठोट र आँट बोकेर उनले तय गरेको यात्रा साँच्चिकै तारिफयोग्य छ । संघर्षले आफ्नो सपनाको क्षितिज फराकिलो बनाएकी बुनुका सपना संसारभर छरिएका छन् ।

मान्छेलाई मानव बनाउने अभियानमा रहेकी बुना दृष्टिविहीन छिन् । उनी संसारका दृष्टिविहीनहरुको सहारा, आशाको किरण र सपनाको उडान पनि हुन् ।

दृष्टिविहीनहरुलाई उनी सपनाको पछि दौडिन सिकाउँछिन् । अनि आफैं पनि उनीहरुसँगै दौडिरहेकी छन् ।

शरीरको कुनै एक अंगले काम गर्न छाड्दैमा संसार सकिंदैन भन्ने दृढ विश्वास लिएर अघि बढ्न उनी सिकाउँदैछिन् । बुनुले भरेको उडानको कुनै गन्तव्य छैन । उनको उडान निरन्तर उही गतिमा छ । शरीरले काम गरेसम्म र जिब्रो चल्मलाइरहुञ्जेल उनी रोकिन चाहन्नन् ।

एक दिन उनी अनामनगरबाट गाडी चढेर एक्लै त्रिपुरेश्वर पुगिन् । र, एक्लैले बाटो काटिन् । ‘त्रिपुरेश्वरको ट्राफिक जाममा एक्लै बाटो काटेपछि मलाई एक्लै हिंड्न सक्छु भन्ने भयो । त्यसले मलाई थप हौसला र विश्वास दिलायो,’ बुनाले सुनाइन् ।

विराटनगरमा जन्मेकी बुना अहिले अमेरिकामा दृष्ट्रिविहीन मोटिभेसनल स्पिकरका रुपमा परिचित छिन् । कुनै समय उनको वास्ता हुँदैन्थ्यो । उनको संसार निरस थियो । तर अहिले बुनाका शब्द सुन्न संसार लालायित हुन्छ । उनलाई लाखौंले प्रेरणाको स्रोत मान्छन् ।

‘मैले केही अनौठो काम गरेकी छैन । बस् मान्छेलाई मानव बनाउने काम गर्छु,’ बुना भन्छिन्, सपना देख्नुपर्छ । सपना देखेर मात्रै पुग्दैन, त्यसको पछि जतिसक्दो दौडिनुपर्छ ।’

मानिस दौडिनुका पनि विभिन्न कारण हुने उनको बुझाइ छ । ‘कोही रहरले दौडिन्छन् । कोही आफ्नो सपनाका खातिर दौडिन्छन् । कोही बाध्यताबाट पार पाउन दौडिन्छन् । जे जस्तो भएपनि दौडिरहनुपर्छ,’ उनी सुनाउँछिन् ।

दृष्ट्रिविहीन भएर आफूजस्तालाई मात्रै नभई सद्देलाई पनि जीवन र बाटो देखाउने काम गर्छिन् । जो बाँच्नका लागि संघर्ष गरिरहेका छन् । जो जिउन चाहन्छन् उनी तिनीहरुलाई दौडिन सिकाउँछिन् ।

सजिलै थिएन यात्रा

स–साना खुसी जोड्दै पाइला–पाइलामा व्यवधान खेप्दै यहाँसम्म आइपुगेकी हुन् बुना । बुनाको संघर्षको कथा निकै लामो छ । जो नेपालदेखि सुरु भएर अमेरिका–युरोपसम्म फैलिएको छ । ‘बाँच्नुको अर्थ तब मात्रै सार्थक हुन्छ, जब अरुका लागि केही गर्न सकिन्छ । आफ्नो कारणले कसैको जिन्दगी परिवर्तन भइदिन्छ । र, उनीहरु आफ्नो लागि आफैं गर्न सक्ने हुन्छन् भने त्यो भन्दा ठूलो खुसी अरु केही हुन सक्दैन,’ बुनाले भनिन् ।

यहाँसम्म आइपुग्दा उनले निकै पीडा र दुःख झेलेकी छन् । केही बन्न जिन्दगीमा कहीं न कहीं संघर्ष त गर्नैपर्छ जस्तो लाग्छ उनलाई ।

‘सामान्य मान्छेले बाँच्न त कति संघर्ष गर्छन् कति भौतारिन्छन् कति आत्तिन्छन् कति तड्पिन्छन् । झन् दृष्टिविहीनले कति गर्नुपर्छ होला । मैले यहाँसम्म पुग्न निकै पसिना बगाएकी छु । अनेकौं पीडा र दुःखका पहाड उधिनेकी छु,’ उनले भावुक हुँदै सुनाइन् ।

संघर्षका दौरान उनले सामाजिक विभेदलाई नजिकबाट महसुस गरेकी छन् । नेपालमा मात्रै होइन अमेरिकामा समेत दृष्टिविहीनलाई गरिने भेदभाव बुनुले सहिन् । नेपालमा हुँदा महिला हुनुको भेदभाव र दृष्टिविहीन हुनुको, दुवै प्रकारका विभेदको उनले सामना गर्नुपर्‍यो ।

‘नेपालमा हुँदा सेतो छडी समात्नेसँग कसैले बिहे गर्दैन । दृष्ट्रिबिहीनले समेत गर्दैनन् भन्थे । अमेरिकामा काम खोज्दा तिमी काम गर्न सक्दैनौ । समयमा अफिस आउन सक्दैनौं भनेर काम पाइएन,’ उनी सुनाउँछिन् ।

यिनै विभेदका घटनाले जिन्दगीमा केही गर्ने अठोट लिएको उनी बताउँछिन् । ‘एक व्यक्तिलाई बदल्नुु भनेको लाखौंको जिन्दगी बदल्नु हो,’ उनी भन्छिन्, ‘मैले आफूलाई यहाँसम्म पुर्‍याउन निकै दर्द झेलेकी छु ।’

दृष्ट्रिविहीन भएपनि बुना पढाइमा निकै तीक्ष्ण थिइन् । स्कुल–कलेजमा उनलाई कसैले जित्न सक्दैन्थ्यो । पढाइमा मात्रै होइन अतिरिक्त क्रियाकलापमा पनि टप थिइन् ।

‘शिक्षा नै सफलताको सिंढी चढ्ने टिकट हो । मलाई शिक्षाले यहाँसम्म ल्याइपुर्‍याएको हो,’ उनी सुनाउँछिन् ।

बुना दाहाल २०२८ सालमा विराटनगरको जनपद टोलमा जन्मिएकी हुन् । सामान्य किसान परिवारकी उनले स्थानीय जनपद स्कुलमा कक्षा १ मा भर्ना भइन् । कक्षा २ मा पढ्न लाग्दा उनको आँखाको दृष्टि कमजोर भयो । उनले बोर्डमा लेखेको नदेख्ने भएपछि शिक्षकले घरमा खबर गरे ।

बुनाको आँखाको उपचार गर्न भन्दै परिवारले उनलाई कोशी अञ्चल अस्पताल (हाल कोशी अस्पताल) पुर्‍यायो । अस्पतालले उनको आँखामा जलबिन्दु भइसकेको बताएपछि उपचार गर्न भारत लैजान सुझायो । उनलाई भारत लगियो । त्यहाँ एक महिना उपचार गरेपछि उनको आँखा फुट्नबाट जोगियो, तर दृष्टि भने फर्किएन ।

त्यसअघि घरमा दिदीभाइ र साथीहरुसँग सामान्य ढंगमै खेल्ने कुद्ने भएपछि परिवारले पनि वास्ता गरेको थिएन ।

जब भारतका डाक्टरले बुना हामीलाई देऊ भने

भारतमा उपचारका लागि जाँदा त्यहाँका डाक्टरले बुना आफूलाई दिन उनका बुवालाई आग्रह गरे । ती डाक्टरका छोराछोरी थिएनन् । उनी बुनालाई अपनाउन चाहन्थे । उनी देख्न सक्दिनन् । मलाई दिनुस् म पाल्छु पढाउँछु भनेर ती डाक्टरले भनेका थिए ।

तर बुवाको मन न हो, आफ्नो सन्तान अरुलाई सुम्पिन कहाँ सकिन्छ र । उनलाई डाक्टरको प्रस्ताव अस्वीकार गरे र म आफैं पाल्न सक्छु, पढाउन सक्छु भने । तर बुनाका बुवालाई कहाँ पढाउने के पढाउने केही थाहा थिएन । पछि ती डाक्टरले दृष्ट्रिविहीनलाई पढाउने स्कुल हुन्छ भनेपछि उनले स्कुल हेर्न लैजान आग्रह गरे ।

नर्सका साथ बुनाका बुवा स्कुल हेर्न गए । स्कुलमा बुना जस्तै स-साना बालबालिका फुटबल खेलिरहेको देखे । त्यसपछि उनलाई बुना पनि खेल्न पढ्न सक्छिन् भन्ने लाग्यो ।

बुनाको आँखाको उपचार भइसकेको थियो । स्कुल देखेपछि उनी अस्पतालबाट बिदा भए ।

स्कुल खोज्न भौतारिंदा

भारतबाट फर्केपछि उनको परिवार बुनाका लागि स्कुल खोज्न थाल्यो । साथीहरु स्कुल जाँदा उनी म पनि जान्छु भन्थिन् । एकातिर बुनाले पढ्छु भन्थिन् भने अर्कातिर शिक्षकले पढ्न कर नगर्नु भनेका थिए । परिवारलाई कसो गर्नु भयो । छोरीको पढाइप्रतिको लगाव देखेर उनीहरु स्कुल खोज्न थाले । पछि दार्जिलिङको कालिम्पोङमा दृष्टिविहीनका लागि स्कुल रहेको थाहा भयो । विराटनगरबाट सबैभन्दा नजिक पर्ने स्कुल थियो त्यो ।

तर त्यसै वर्ष धरानमा दृष्टिविहीनका लागि सरकारले ज्ञानचक्षु स्कुल खोलेपछि बुना त्यही स्कुलमा पहिलो ब्याचको विद्यार्थी भइन् । ज्ञानचक्षुमा कक्षा सातसम्म पढेकी बुना जहिल्यै प्रथम हुन्थिन् । पढाइका साथै अत्तिरिक्त क्रियाकलापमा समेत ज्ञानचक्षुका विद्यार्थीले जिल्लाभरका अरु स्कुललाई जित्थे ।

स्कुलमा विद्यार्थीले बगैंचा गोडमेल गर्नुपर्ने नियम थियो । स्कुल बिदा भएपछि युनिफर्ममै काम गर्नुपर्ने हुँदा लुगा जहिल्यै फोहोर हुन्थ्यो । एक दिन बुनाले स्कुलको युनिफर्म खोलेपछि मात्रै बगैंचामा काम गर्ने अड्डी कसिन् ।

अरु साथीभाइ स्कुल प्रशासनदेखि डराएपनि उनी डराइनन् । खुलेर आफ्नो कुरा राखिन् । विद्यालय प्रमुखले उक्साउने नायक को हो भन्दा उनले म हुँ भनिन् र त्यो कुराको समाधान पनि भयो । उनी अहिले सम्झिन्छिन् । यो नै उनले नेतृत्व गरेको पहिलो कार्य थियो ।

काठमाडौंमा भोगेको दुःख

धरानको ज्ञानचक्षु स्कुलमा सात कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । थप अध्ययनका लागि उनी काठमाडौं आउनुपर्ने भयो । त्यसका लागि आफन्तलाई बुझ्न लगाएर बुनाका बुवा उनलाई काठमाडौं लिएर आए ।

दृष्ट्रिविहीनलाई पढाउने स्कुल कीर्तिपुरमा छ भन्ने थाहा पाएपछि बुनालाई भाइसँग होटलमा राखेर कीर्तिपुरस्थित ल्याबरोटरी स्कुल पुगे । स्कुलले सिट सकिएको भन्दै भर्ना गर्न आनाकानी गर्‍यो । सिट सकिएको भन्दै पढाउने नै भए पैसा तिरेर पढाउन पाइने सर्त राख्यो ।

पैसा तिरेर पढाउन सक्ने परिवारको क्षमता थिएन । स्कुल प्रमुख र बुनाका बुवाबीच यो विषयमा भनाभन नै भयो ।  यो सबै दृश्य त्यहाँ भएका दृष्टिविहीन विद्यार्थीले सुनिरहेका थिए । पछि ती बालबालिकाले सिट खाली रहेको र उनीहरुलाई भर्ना गर्नुपर्नै भन्दै नाराबाजी गरे । निकै रस्साकस्सीबीच बुना ल्याबरोटरी स्कुलमा भर्ना भइन् । आठदेखि १० कक्षासम्म त्यहाँ पढेकी उनी स्कुलमा सधैं प्रथम हुन्थिन् । उनले एसएलसी फस्ट डिभिजनमा पास गरिन् ।

काठमाडौंमा यताउति गर्न उनलाई कसैको सहारा आवश्यक पथ्र्यो । तर उनी कसैको सहाराविना बाँच्न चाहन्थिन् । म एक्लै हिंड्न सक्छु, काम गर्न सक्छु भन्ने विश्वास दिलाउन चाहन्थिन् । एक दिन उनी अनामनगरबाट गाडी चढेर एक्लै त्रिपुरेश्वर पुगिन् । र, एक्लैले बाटो काटिन् । ‘त्रिपुरेश्वरको ट्राफिक जाममा एक्लै बाटो काटेपछि मलाई एक्लै हिंड्न सक्छु भन्ने भयो । त्यसले मलाई थप हौसला र विश्वास दिलायो,’ बुनाले सुनाइन् ।

एसएलसीपछि उनी पद्मकन्या कलेजमा अंग्रेजी मूल विषय लिएर प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्न थालिन् । पहिलो वर्षमा उनले क्याम्पस टप गरिन् । प्रमाणपत्र तहको दोस्रो वर्ष पढ्दापढ्दै अमेरिकाको ‘ओभर बु्रक स्कुल फर द ब्लाइन्ड’बाट नेपालका दृष्टिविहीन विद्यार्थीका लागि भन्दै टेक्नोलोजी फर द ब्लाइन्ड, इङ्ग्लिस इज अ सेकेन्ड ल्याङ्वेजको छात्रवृत्ति आयो ।

दृष्ट्रिविहीन विद्यार्थीहरुमा पढाइमा अब्बल बुना कलेज र शिक्षकहरुको जनरमा पर्न थालिसकेकी थिइन् । उक्त छात्रवृत्तिका लागि १८ जनाले आवेदन दिए जसमा बुनु छानिइन् ।

२०४६ सालको आन्दोलनमा हिंड्दा…

२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि जनआन्दोलन चलिरहेको थियो । उनी आफू जस्ता दृष्टिविहीन नागरिकको हक अधिकार सुनिश्चित हुनुपर्छ भन्दै आन्दोलनमा सहभागी हुन्थिन् ।

दृष्टिविहीन नागरिकले हातमा सेतो छडी बोक्न पाउनुपर्छ । सबै नागरिक समान हुन् । हामी  बिचरा होइनौं । हामी पनि काम गर्न सक्छौं भन्नु थियो । उनी दिनहुँ आन्दोलनमा सहभागी हुन अनामनगरबाट रत्नपार्क, न्युरोड पुग्थिन् । भीडमा जान नसकेपनि उनको टोली छेउछाउबाट हिंड्थ्यो ।

‘आफ्नो अधिकारका लागि आफैं लड्नुपर्छ । सबै नागरिक समान हुन् । समानताका लागि आवाज उठाउनु जरुरी थियो जसका लागि हामी पनि जाग्यौं,’ उनी सुनाउँछिन् ।

दृष्टिविहीन आफ्नो काम आफैं गर्न सक्छन् र आफ्नो पौरखले गरिखान सक्छन् भन्ने सन्देश दिन आन्दोलनमा सहभागी भएको उनी सुनाउँछिन् ।

अमेरिकाको बसाइ

सन् १९९० मा एक वर्षे कार्यक्रमका लागि भन्दै अमेरिका उडेकी बुना अहिले उतैको नागरिक भइसकेकी छन्। अमेरिकामा यो अवस्थामा पुग्न उनले धेरै संघर्ष गरेकी छन् ।

घरबाट जाँदा उनले व्यवस्थित नभएसम्म घर नफर्किने बताएकी थिइन् । अमेरिका जानुभन्दा पहिला काठमाडौंको पुतलीसडकबाट अंग्रेजी टाइपिङ सिकेकी थिइन् बुनाले । उनी त्यहाँ एक्लो दृष्टिविहीन थिइन् । उनको क्षमता देखेर सबै छक्क पर्थे ।

एक वर्षको कार्यक्रममा उनले अमेरिकामा पनि सबैलाई उछिनेर पहिलो स्थान प्राप्त गरिन् । छात्रवृत्ति कार्यक्रम सकिएपछि उनी मामा माइजूसँग बस्न थालिन् । उनी शिकागोमा रहेको ‘कलेज अफ डुपेज’मा भर्ना भइन् । त्यहाँ पनि उनी राम्रो अंक ल्याएर उत्तीर्ण भइन् । स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता पढ्न थालिन् । पढ्दापढ्दै उनी अमेरिकाको दृष्टिविहीन राष्ट्रिय महासंघमा आवद्ध भइन् ।

स्नातकमा पनि टप गरेपछि उनी महासंघमा आवद्ध रहेर सामाजिक काममा हात हाल्न थालिन् । उनको पढाइ र क्षमता देखेर धेरैले उनलाई चिनिसकेका थिए । उनको पहिचानको दायरा फराकिलो बन्दै गयो । कलेजमा उनले विद्यार्थी संघको अध्यक्ष र धेरै अंक ल्याउने विद्यार्थी संगठनको जनसम्पर्क सचिव भएर काम गरिन् ।

स्नातक सकिएपछि बुना ग्रीन कार्डका लागि सहज होस् भन्दै काम खोज्न थालिन् । उनले कोलोराडोको ‘सेन्टर फर द ब्लाइन्ड’मा काम गरिन् । पछि होस्टेल इन्चार्ज र स्किल वर्करको रुपमा काम गरिन् ।

काम सुरु गरेको एक वर्षभित्र बुना कोलोराडोका दृष्टिविहीनहरुको रोजगार प्रमुख भइन् । उनी दृष्टिविहीनहरुका लागि काम खोज्ने, तालिम दिने, सीप सिकाउने र हौसला बढाउने काम गर्थिन् । यसका अलावा बुनाले ठूलाठूला कम्पनी, उद्योग र संघसंस्थामा गई उनीहरुका लागि अवसरको खोजी गर्थिन् । दृष्टिविहीनको क्षमता र सीपबारे कम्पनी प्रमुखहरुलाई जानकारी दिन्थिन् र जागिरका लागि कन्सल्ट गर्थिन् ।

अमेरिका संसारकै विकसित देश भएपनि त्यहाँ जनचेतनाको कमी रहेको बताउँछिन् बुनु । ‘अमेरिकामा पनि जनचेतनाको कमी र अझै भेदभाव छ, जनचेतना र भेदभाव म आफैंले भोगेकी छु,’ उनी भन्छिन् ।

दृष्टिविहीनहरुका लागि काम खोज्दा कतिपयले तपाईंलाई नै काममा राख्न चाहन्छौं आउनुस् काम गरौं भन्थे । तर उनी आफूलाई काम नचाहिएको भन्दै अरुलाई सक्षम बनाएर काममा लगाउँथिन् । कोलोराडोमा बुनाले जनसम्पर्क अधिकृत भएर पनि काम गरिसकेकी छन् ।

धेरैलाई पखेंटा लगाएर उडाउन सिकाइसकेकी बुनालाई अब केही फरक गर्नुपर्छ जस्तो लाग्यो । अब उनी आफैं उड्न चाहन्थिन् । उनी सपनाको रंगीन उडान भर्न थालिन् । बुना अमेरिकाको पोलेसी एण्ड एड्भोकेसी प्रमुख भइसकेकी छन् ।

मेहनतको प्रतिफल 

स्नातक तेस्रो वर्ष अध्ययनका लागि बुनाले अर्को कलेज जानुपथ्र्यो । उनी कोलम्बिया कलेज गइन् । कलेजले छात्रवृत्ति खुलाएको थियो । तर त्यसका लागि अमेरिकाको नागरिक हुनुपर्ने सर्त थियो ।

तर उनले हिम्मत हारिनन् । ‘मसँग सबै खुबी थियो । शैक्षिक प्रमाणपत्र र कामका आधारमा काबिल थिए र अमेरिकाको नागरिक नभएपनि फारम भरे । कडा मेहनत र भाग्यका कारण मैले अमेरिकी बासिन्दा नभएपनि छात्रवृत्ति पाएँ,’ उनले विगत सम्झिंदै भनिन् ।

स्नातक टप गरेपछि उनको नाम फेरि चम्कियो । अमेरिकाभर उनको नामले स्थान पाउन थाल्यो । उनी फरक क्षमता भएकाहरुलाई तालिम दिन थालिन् । यति मात्रै नभई उनी उत्प्रेरण जगाउने कार्यक्रममा वक्ताको रुपमा जान थालिन् ।

अमेरिकाको अध्यागमनले बुनु नै किन भन्यो ?

११ सेप्टेम्बर २००१ मा अमेरिकाको ट्वीन टावरमा आक्रमण भएपछि अमेरिकी सरकारले विदेशीलाई कडा निगरानीमा राखेको थियो । बुना ग्रीन कार्डको खोजीमा थिइन् । बुनु दाहाल नै किन भनेर प्रश्न उठ्न थाल्यो । अध्यागमन विभागले बुनु काम गर्ने कम्पनीलाई स्पष्टीकरण नै सोध्यो । कम्पनीले बुना जस्तो क्षमतावान व्यक्ति अरु हुन नसक्ने भन्दै कम्पनीले अध्यागमन विभागलाई पत्राचार गर्‍यो ।

तैपनि अध्यागमनले उनलाई ग्रीन कार्ड दिएन । अमेरिकामा आफ्नै घर बनाएर बसिसक्दा पनि ग्रीन कार्ड पाएकी थिइनन् बुनाले । जुन कुराले निकै पोल्थ्यो उनलाई । ‘के छैन मसँग ? क्षमता छ । काम गरेर खान सक्ने आँट छ । बलियो शैक्षिक प्रमाणपत्र छ । घर छ,’ उनी सोच्थिन् ।

आफूलाई ग्रीन कार्ड दिन नखोज्ने अध्यागमन विभाग अधिकृतलाई भेट्ने बुनाको चाहना थियो, तर भेट्न पाइनन् । अमेरिका बसाइको १६ वर्षपछि सन् २००६ मा अध्यागमन विभागले हुलाकमार्फत ग्रीन कार्ड घरमै पठायो ।

‘ग्रीन कार्ड पाउन र आफ्नो पहिचान बनाउन अमेरिकामा निकै परिश्रम गरेकी छु । अमेरिकालाई रिझाएर पसिना बगाएर यहाँसम्म आइपुगेकी हुँ अझै धेरै गर्न बाँकी छ,’ उनी सुनाउँछिन् ।

केही फरक गर्ने सोच आयो

धेरैलाई पखेंटा लगाएर उडाउन सिकाइसकेकी बुनालाई अब केही फरक गर्नुपर्छ जस्तो लाग्यो । अब उनी आफैं उड्न चाहन्थिन् । बुना सपनाको रंगीन उडान भर्न थालिन् ।

बुना अमेरिकाको पोलेसी एण्ड एड्भोकेसी प्रमुख भइसकेकी छन् । उनी अमेरिकी सरकारलाई दृष्टिविहीनका हक अधिकारका बारेमा कस्तो नियम कानुन हुनुपर्छ भनेर सुझाव दिन्छिन् । अमेरिकाका सबै राज्यका प्रतिनिधि उनी मातहत रहेर काम गर्छन् ।

‘मैले आर्जन गरेको ज्ञान अरुलाई बाँड्नुपर्छ । सिकेका कुरा अरुलाई सिकाउनुपर्छ । आफू मात्रै सफल भएर हुँदैन, मजस्ता अन्यलाई पनि सक्षम बनाउनुपर्छ भनेर लागेकी हुँ,’ उनी भिन्छन् ।

केही नयाँ गर्ने सोचका साथ उनले रोजगार प्रमुखबाट राजीनामा दिएर सन् २००७ मा ‘डाइनामिक बुना’ नामक संस्था खोलिन् । उक्त संस्थाबाट उनी संसारभर नेतृत्व विकासको काम गर्छिन्, तालिम दिन्छिन् । संसारभर रहेका दृष्टिविहीनलाई उनी प्रेरणा दिन्छिन् । हौसला बढाउँछिन् ।  काम गर्न सक्षम र जागरुक बनाउँछिन् ।

स्तन क्यान्सर पत्ता लगाउने मेसिन ल्याउँदै

बुनाले नेपालमा रहेका दृष्टिविहीनलाई विभिन्न संघसंस्थासँग मिलेर तालिम र सीप सिकाइसकेकी छन् ।

उनी नेपालमा महिलाको स्तन क्यान्सर पत्ता लगाउने मेसिन ल्याउने तयारी पनि गरिरहेकी छन् । सन् २०२० सम्म मेसिन नेपाल ल्याइसक्ने भनेपनि कोरोना महामारीका कारण ढिलाइ भएको उनी बताउँछिन् । केही महिनाभित्रै नेपालमा स्तन क्यान्सर चेक गर्ने मेसिन आइसक्ने उनी बताउँछिन् ।

बुनुले सन् २०२१ मा श्रीलंकामा ‘हल अफ फेम’ पुरस्कार पाइसकेकी छन् । उनी वल्र्ड ब्लाइन्ड युनियनको एसिया रिजनको शिक्षादूत समेत हुन् ।

बुनु मोटिभेसनल स्पिच दिनका लागि २६ भन्दा बढी देशमा पुगिसकेकी छन् ।

विश्वविद्यालय टप

डाइनामिक बुना खोलिसकेपछि उनले विश्वविद्यालय भर्ना गरिन् । उनले आफ्नो नेतृत्व विकास तथा व्यवस्थापन र कार्यक्रम व्यवस्थापन पढ्ने सौख पूरा गरिन् । बुनाले कोलोराडोको रेजिस विश्वविद्यालयबाट डबल डिग्री लिइन् । यति मात्रै होइन उनले दुवै विषयमा विश्वविद्यालय नै टप गरिन् । विश्वविद्यालय टप गरेपछि उनले विश्वविद्यालयले प्रदान गर्ने एक मात्र पुरस्कार ‘डेभिड क्लार्क लिडरसिप अवार्ड’ पाएकी छन् ।

बुनाले सन् २००९ मा अमेरिकी नागरिक थोमस पावेलसँग विवाह गरिन् । नेपाली हिन्दू परम्परा अनुसार नै उनीहरुले विवाह गरेका थिए ।

‘नेपालको कमजोर धरातलबाट यहाँसम्म आएकी हुँ । अझै धेरै गर्न बाँकी छ । जीवन कर्तव्यका साथ जिउँछु र जिउन सिकाइरहन्छु,’ बुना भन्छिन् ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?