+
+
भिडियो श्रृंखला-१ :

‘धेरैलाई कोरोना आयो, मलाई आएन !’

किनाराका बस्ती अनलाइनखबरको भिडियो श्रृंखला हो । यो श्रृंखलामा हामीले राज्यले सधैंभरि किनारामा पारेका बस्तीका कुराहरु उधिन्छौं, दु:खसुख–अप्ठ्यारा, सप्ठ्याराका कुरा गर्छाैं । पहिलो श्रृंखलामा हामी काठमाडौंको वाग्मती किनारका सुकुम्बासी बस्तीमा पुगेका छौं ।

बिनु सुवेदी बिनु सुवेदी
२०७९ वैशाख ५ गते १८:३५

काठमाडौं । निरन्तर बगिरहने नदीले पीर पनि बगाउँथ्यो भने बर्षाैदेखि वाग्मती किनारामा बसिरहेका सुकुम्बासी सबैभन्दा धेरै खुसी देखिन्थे होला । तर हरेक बर्षायाममा आउने बाढीले पीर होइन, उनीहरुको थातथलो बगाउँछ ।

बेलाबेला आउने राज्यले ठाउँ छोड्न उर्दी गर्छ । बस्ती उठाउँछ भन्ने सुनेपछि थापाथली सुकुम्बासी बस्तीकी ६२ वर्षीया सीता नेपाली आलसतालस हुन्छिन् ।

जिन्दगीको उर्बर समय वाग्मती किनारमै बिताएकी सीता उठेर जाने अर्काे ठाउँ छैन । उसो त यो देशको नागरिक हुँ भन्नका लागि उनीसित नागरिकतासमेत छैन । ‘के गर्नु दुःख सुख बाँच्नै पर्ने रहेछ, सबैलाई आएको यत्रो कोरोना मलाई नै आएन,’ सीताले भनिन् ।

कहिलेकाहीँ त सीतासहितका सुकुम्बासीलाई उठाउने विषयमा सरकार र वाग्मतीको बाढीबीच प्रतिस्पर्धा चलेजस्तै लाग्छ ।

काठमाडौंको तिलगंगादेखि टेकुसम्म यस्तै अनिश्चितता बोकेर ७५ बस्तीमा करिब ३० हजार घर परिवार बसेका छन् । हरेक चुनावमा लालपूर्जा दिन्छौं भन्दै भोट माग्न आउने दलका नेता कार्यकर्ता सत्तामा पुगेपछि बस्ती उठाउँछौं भन्न आइपुग्छन् ।

चुनावमा हुँदा र सत्तामा हुँदा नेताहरुको फेरिएको अभिव्यक्ति सुन्न अभिसप्त सुकम्बासीलाई अब त राज्यले झुट नबोले पनि हुन्थ्यो नि भन्ने लाग्छ ।

सरकारी तथ्यांकअनुसार मुलुकभर ८० लाख सुकुम्बासी छन् । ती मध्ये करिब ४० लाख त मतदातामात्रै छन् । त्यसैले दलहरुले सुकुम्बासी आफ्नो चुनावी जितका लागि महत्वपूर्ण साध्यका रुपमा लिन्छन् । संभवतः त्यसकारण उनीहरुको कुनै त्यस्तो घोषणापत्र छैन जहाँ सुकुम्बासीको कुरा उठेको नहोस् ।

आन्दोलनका हरेक मोर्चामा, दलहरुका अभियानमा र एजेण्डामा सुकम्बासी छुट्दैनन् । तर मुलुकको संविधानले नै भनेको आवासको हकसमेत समाजवादउन्मुख राज्यले पूरा गर्दैन ।

दलहरुले उनीहरुले पाउनै पर्ने सामान्य सुविधालाई मौसमी नारा बनाइदिन्छन् । तर एक टुक्रो जमिन आफ्नै नाममा नहुनुको किमत केबल सुकुम्बासीले मात्रै चुकाइरहेका छन् ।

(किनाराका बस्ती अनलाइनखबरको भिडियो श्रृंखला हो । यो श्रृंखलामा हामीले राज्यले सधैंभरि किनारामा पारेका बस्तीका कुराहरु उधिन्छौं, दु:खसुख–अप्ठ्यारा, सप्ठ्याराका कुरा गर्छाैं । दलहरुले चुनावमा भोट बढाउनुपर्दा, दलहरुकै आन्दोलनका बेला सडकमा नाराबाजी गर्नुपर्दा अहिले पनि अग्रपंक्तिमा देखिने नागरिकले आफू अप्ठ्यारोमा परेका बेला कहिल्यै राज्यको साथ पाउन्नन् । संविधानले नै प्रत्याभूत गरेको गाँस, बास, शिक्षा र स्वास्थ्यको सुविधाबाट समेत किनारामा पारिएका नागरिकका समस्यालाई कम्तीमा आफ्नो आँखाबाट ओझेल पर्न नदिने हाम्रो प्रयास हो । यही प्रयास अन्तर्गत पहिलो श्रृंखलामा हामी काठमाडौंको वाग्मती किनारका सुकुम्बासी बस्तीमा पुगेका छौं ।)

क्यामेरा : शंकर गिरी र आर्यन धिमाल /सम्पादन : दिलिप तामाङ ‘गरब’

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?