+
+

कञ्चनरुपमा सभासददेखि संघीय सांसदसम्म मेयरका आकांक्षी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते ९:०७

६ वैशाख, सप्तरी । पेडाको नामले प्रसिद्धी पाएको ठाउँ हो बरमझिया । सप्तरीको तत्कालीन बरमझिया गाविस अहिले कञ्चनरुप नगरपालिका बनेको छ । पेडा उत्पादनमा अग्रणी रहेको कञ्चनरुप नगरपालिका कोशी टप्पु वन्यजन्तु आरक्षलाई पनि छोएको छ । जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको यो नगरपालिकाको प्रमुखका लागि पूर्वमन्त्री, सभासददेखि अहिलेका संघीय सांसदसम्म आकांक्षी छन् ।

अहिले यो नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित मेयर वसन्त कुमार मिश्र छन् । उपमेयर भने कांग्रेसबाट निर्वाचित निरु पोखरेल छिन् । तर, अहिले मिश्रले नै मेयरमा दोहोरिने इच्छा देखाएका छन् । ‘नगरपालिकामा धेरै काम गरेको छु । भ्रष्टाचार हुन दिइएको छैन,’ मेयर मिश्र भन्छन्, ‘नगरलाई अझ राम्रो र व्यवस्थित गर्ने इच्छा छ ।’

नेकपा एमाले नगर कमिटिभित्र मिश्रसहित १० जनाले मेयर बन्ने इच्छा देखाएका छन् । त्यसमध्ये एक जना हुन् संघीय सांसद सरिता गिरी यादव पनि । एमालेको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य भएकी यादवले आफू तलबाट काम गर्न चाहेको बताएकी छन् । नगरलाई सुन्दर बनाउन आफू मेयरमा लड्न चाहेको भन्दै उनले पार्टीले मौका दिए सांसदबाट राजीनामा दिएर चुनाव लड्न तयार रहेको बताइन् ।

आफू मेयर बनेमा जिल्लाको १८ वटै स्थानीय तहमध्ये नमूना बनाउने बताइन् ।

कांग्रेसबाट सभासद्को आकांक्षी

यो नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट ललन गुप्ता उम्मेदवार बनेका थिए । निर्वाचनमा दोस्रो स्थानमा रहेका गुप्ताले यस पटक पनि टिकटमा दाबी गरेका छन् । ‘मलाई त नगरपालिकाको १२ वडामध्ये ९ वडाले सिफारिस नै गरेको छ’ क्षेत्र नम्बर १ का सभापति समेत रहेका गुप्ता भन्छन्, ‘गत वर्षको उम्मेदवारको नाताले पनि यस पटक मलाई उम्मेदवार बनाउनुपर्छ ।’

जित्नेमा विश्वस्त रहेको बताउँदै गुप्ता आफूले नगरको विकासका लागि सधैं तत्पर रहने बताए ।

यही नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट सभासद डा. सुबोध पोखरेल पनि आकांक्षी देखिएका छन् । २०७० सालमा समानुपातिक कोटाबाट सभासद बनेका डा. पोखरेल आफू निर्वाचनको तयारीमा लागिसकेको बताउँछन् ।

स्थानीय तहको धेरै भूमिका स्थानीय स्रोत परिचालन, विकास निर्माण, पूर्वाधार निर्माणमा योगदान दिनका लागि मेयर बन्न चाहेको उनको भनाइ छ । आफूलाई पार्टीले टिकट दिने उनको विश्वास छ ।

कांग्रेसबाट यो नगरपालिकाको मेयरका लागि पूर्ववातावरण मन्त्री हेमराज तातेडले पनि आकांक्षा राखेका थिए । पार्टीको नगर समिति बैठकमा मेयरको दावी पेश गरेका तातेड भने अहिले यो दौडबाट पछि हटेको बताए । ‘त्यस बेला नाम राखेको थिएँ, तर अब नलड्ने मनसाय बनाएँ’ उनले भने ।

एकीकृत समाजवादीबाट पति-पत्नी नै आकांक्षी

यो नगरपालिकाको मेयरका लागि एकीकृत समाजवादी पार्टीबाट चार जना आकांक्षी देखिएका छन् । पार्टीको नगर कमिटीले चारै जनाको नाम सिफारिस गरेको छ ।

यो पार्टीबाट मेयरका लागि प्रकाश खतिवडा, उषा पोखरेल, विष्णुदेव चौधरी र पुरुषोत्तम चौधरीको नाम सिफारिस भएका छन् । पार्टीका प्रचार विभागका केन्द्रीय सचिव खतिवडा र अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष रहेकी पोखरेल पति-पत्नी हुन् ।

पुरुषोत्तम नेकपा एकीकृत समाजवादी समर्थित जनजाति महासंघ केन्द्रीय सदस्य हुन् भने विष्णुदेव चौधरी नगर कमिटी अध्यक्ष हुन् ।

यो नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले भोला पासवानलाई मेयरमा प्रस्ताव गरेको छ । दलितका अगुवा एवं सञ्चारकर्मी पासवानलाई मेयरको रुपमा अघि बाउने निर्णय भएको जसपाका नगर समिति अध्यक्ष सुदम्बर यादवले जानकारी दिए ।

सीके राउत नेतृत्वको जनमत पार्टीले इन्द्रनारायण कगोडिया यादवलाई मेयरको रुपमा अघि सारेको छ । अन्य पार्टीबाट उम्मेदवार सिफारिस हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?