+
+

आजबाट सुरु भयो राष्ट्रिय कृषि गणना, तथ्यांक संकलन ४५ दिनसम्म

अच्युत पुरी अच्युत पुरी
२०७९ वैशाख ६ गते १२:०१

६ वैशाख, काठमाडौं । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि राष्ट्रिय कृषि गणना सुरु भएको छ । मंगलबारबाट ४५ दिनसम्म फिल्डमा खटिएर गणकले तथ्यांक संकलन गर्ने र यसको काम सुरु गरिएको विभागका विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार कृषि गणनाका लागि देशभर गणक र सुपरिवेक्षक गरि ६ हजार ४६३ जना फिल्डमा खटिएका छन् । राष्ट्रिय जनगणना जस्तै कृषि गणना समेत हरेक १०/१० वर्षमा हुने गर्छ । राष्ट्रिय जनगणना पुरा भएकै वर्ष कृषि गणना गरिने प्रचलन रहेको छ । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो । त्यसयता हरेक १०÷१० वर्षमा यस्तो गणना हुँदै आएको छ । कृषि गणनामा करीव १ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान छ ।

यसमध्ये सबैभन्दा धेरै गणक र सुपरिवेक्षको पारिश्रमिकमा हुन्छ । कृषि गणनामा लिइएका व्यक्तिगत विवरण विभागले गोप्य राखि तथ्यांकहरु मात्र सार्वजनिक गर्ने बताएको छ । कृषिगणना १९ जेठसम्म चल्नेछ । कृषि गणनामा कागज र कलमसहितको अन्तरर्वार्ता विधि र ट्यावलेट प्रयोग गरिने छ । यसवर्ष कृषि गणनाको नारा ‘कृषि गणनाको सार–कृषि योजनाको पूर्वाधार’ दिइएको छ ।

दुई दर्जन प्रश्न, के के विवरण भरिन्छ ?

कृषि गणनाको प्रयोजनका लागि दुई दर्जन प्रश्न समेटेर प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने कार्कीले बताए । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरि प्रश्नावली बनाइएको छ ।

नेपाल कृषिप्रधान मुलुक हो । कृषिले अर्थतन्त्रमा गरिरहेको योगदानलाई तथ्यांकमा देखाउन गणनाले ठूलो सहयोग गर्ने विभागको भनाइ छ । कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ ।

कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाई, पशुपंक्षी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्यांक संकलन गरिने छ ।

यसबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा मुलुकलाई आवशयक पर्ने तथ्यांक उपलब्ध हुने भएको छ । कृषकले कृषि प्रयोजनमा ऋण लिएको भए त्यसको समेत विवरण संकलन गरिने भएको छ । ऋण लिए पनि गणनाको अघिल्लो दिनसम्म तिरिसकेको भए त्यस्तो विवरण भने राखिदैंन ।

साढे ३ लाख परिवारबाट विवरण लिइने

कृषि गणनाका दौरान जनगणनामा जस्तै हरेक घरमा भने गणक पुग्ने छैनन् । विभागका अनुसार देशभरका साढे ३ लाख घर परिवारलाई प्रतिनिधिमुलुक घरका रुपमा छानिने छ ।

नमूना छनोटमा परेका घरमा गणकहरु पुगेर विवरण भर्नेछन् । ‘जनगणनामा हरेक घरमा पुग्ने गरि गणक पठाइन्छ,’ कार्कीले भने, ‘कृषि गणनामा ठूलो स्तरको नमूना लिएर त्यहाँबाट तथ्यांक संकलन गरिन्छ ।’ त्यसरी प्राप्त हुने तथ्यांकलाई औसतमा निकालेर तथ्यांक विश्लेषण गरिन्छ ।

यसक्रममा मुलुकका हरेक क्षेत्र समेट्ने गरि नमूना छनोट गरिएको विभागको भनाइ छ । यसले कृषिका पकेट क्षेत्र पत्ता लाग्ने छ । विगतमा सामान्यतया एक वडालाई एक क्षेत्र मानेर नमूना छनोट गरि विवरण संकलन गरिएको थियो ।

गणकले छानिएका परिवारमा पुगेर विवरण ल्याउँछन् भने सुपरीवेक्षकहरुले सामुदायिक प्रश्नावलीबाट विवरण संकलन गर्नेछन् । विभागका अनुसार जनगणनामा करीव ४१ लाख कृषक परिवारको सूचिकृत भएको छ । कृषि गणनामा भने जनगणनाबाट प्राप्त कृषक परिवारबाट छानिएका ३ लाख ५० हजार परिवारमा पुगेर गणकले फारम भराउने भएका छन् ।

महिलाको सहभागितासम्बन्धी छुट्टै विवरण आउने

विभागका अनुसार नेपालको कृषि प्रणालीमा महिलाको बढ्दो सहभागितालाई ध्यानमा राखी महिलाको अगुवाइमा भइरहेका खेतिपातीको विवरण कृषि गणनामा संकलन गरिने छ ।

महिलाको स्वामित्वमा रहेको कृषि जग्गा, महिलाको कृषि कार्यसम्बन्धी निर्णयमा सहभागिता, महिलाले कृषि कार्यमा दिइएको समय लगायतको विवरण संकलन गरिने भएको छ ।

कृषि गणनाको नतिजा प्रतिवेदनमा महिला विषयक विश्लेषणसहितको एउटा छुट्टै प्रतिवेदन समेत प्रकाशन गरिने विभागले जनाएको छ । प्रतिवेदनमा भोकमरी, खाद्य असुरक्षा, ग्रामिण गरिबीको अन्त्यसँग सम्बन्धित तथ्यांकको विश्लेषण गरिने विभागले जनाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?