+
+

बुटवलको मेयर उम्मेदवारमा कांग्रेसबाट खेलराज पाण्डे सर्वसम्मत सिफारिस

उपमेयरमा ८ जना सिफारिस

टोपराज शर्मा टोपराज शर्मा
२०७९ वैशाख ६ गते १२:५५

६ वैशाख, बुटवल । नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयर पदको उम्मेद्‍वारमा खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ ।

पार्टीको बुटवल उपमहानगर समिति वैठकले पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको कांग्रेस नगर सचिव छाया पोखरेलले जानकारी दिए ।

नगरको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गर्नुपर्नेछ । एकल नाम सिफारिस भएकाले मेयर पदमा कांग्रेसबाट पाण्डेको उम्मेद्‍वारी निश्चित भएको सचिव पोखरेलले बताए । पाण्डेसँगै कांग्रेसबाट क्षेत्रीय सभापति हरि लम्साल, व्यवसायी महेशमान सिंहलगायत पनि मेयरका आकांक्षी थिए ।

पाण्डे पार्टीका नगर सभापतिसमेत हुन् । उनी अघिल्लो स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग करिब २४ सय मत अन्तरले पराजित भएका थिए । सुवेदीले २३ हजार २ सय ४९ मत पाउँदा पाण्डेले २० हजार ८ सय ५१ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

यस्तै उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता केसी,रिता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवाली सिफारिस भएका छन् ।

५ दलीय गठबन्धनमा आबद्ध दलहरुले पनि कांग्रेसबाट खेलराज पाण्डे मेयरको उम्मेद्‍वार हुनुपर्ने मत राख्दै आएका थिए । बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले पनि दावी गर्दै आएको छ ।

नेकपा एमालेले बुटवलबाट अहिलेका मेयर शिवराज सुवेदी, बाबुराम भट्टराई, गोपाल राना, तेजेन्द्र केसी, गोमादेवी आचार्य, सूर्यबहादुर भट्टराई, सावित्रा अर्याल र रामप्रसाद रेग्मीको नाम सिफारिस भएको छ । उपमहानगरपालिकाको हकमा कसलाई टिकट दिने भन्ने निर्णय केन्द्रबाटै हुने भएकोले कसले टिकट पाउँछ भन्ने टुंगो छैन ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?