+
+

एनआरएनएको पुरानो घाउ धेरै नकोट्याऔं : अध्यक्ष आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १२:५८

७ वैशाख, बार्सिलोना । गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशनले सहमति कायम गर्दै तीन जना अध्यक्ष सहित नयाँ कार्यसमिति गठन गरेको छ । महाधिवेशनपछि कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका कुल आचार्य स्पेनको भ्रमणमा पुगेका बेला अनलाईनकर्मी बसन्त रानाभाटले उनीसंग गरेको कुराकानीको सम्पादित अंश:

तपाई पहिला पनि स्पेन आउनुभएको थियो, यस पटक कार्यकारी अध्यक्ष भएर आउँदा कस्तो अनुभूति भयो ?

कार्यकारी अध्यक्ष भएपछि पहिलो भ्रमण गर्ने अवसर पाएँ । गैर आवासीय नेपाली साथीहरुसँग स्पेनमा भलाकुसारी गर्ने अवसर पनि पाएँ । गैर आवासीय नेपाली संघको तिता मिठा कुराहरु हुँदै गर्दा केही साथीहरुले  तलमाथिको कुराहरु सोच्नु भएको होला ।

तर हिजो पनि म गैर आवासीय नेपाली संघको सिपाहीको रुपमा थिएँ आज पनि सिपाहीकै रुपमा छु । सबै साथीहरु मिलेर यहाँको कमिटी बनाउनेदेखि यहाँको चाडपर्व  मनाउनेसम्मका कुराले पहिलादेखि नै हामीहरुलाई प्रभाव पार्दै आएको छ । साथै यो गैर आवासीय नेपाली संघमा स्पेनबाट धेरै कामहरु पनि सुरु गरेका छौं ।

कतिपयले त कमिटी चयनलाई गाईजात्राको संज्ञा दिएका छन्, कार्यसमितिको ओज पनि घट्यो होइन त ?

विषम परिस्थितिमा हामीले आम सहमतिको महाधिवेशन गरेका छौं । यस्तो अवस्थामा धेरै पछाडि फर्किएर, यस्तो भयो उस्तो भयो भनेर धेरै घाउ नकोट्याइदिनुस् । संस्था ठूलो भएर चलायमान भएपछि त्यहाँ उतार चढाव हुन्छ नै । तर हामी सबै एकैठाउँमा बसेर आम सहमति गरेर एक जनाले गर्ने ठाउँमा ३ जनाले गर्छौं । १७ जनाले गर्ने ठाउँमा ५९ जनाले गर्छौं भनेर प्रण गरेको अवस्थामा यसलाई अगाडि लाने किसिमले सोचिदिनु भयो भने हामीले गरेको प्रयासमा सहयोग हुन्छ ।

यहाँ नछिपेको कुरा के हो भने हामीले समयमा अधिवेशन गर्न सकेनौं । डेलिगेट्सको विवाद समाधान गर्न पनि सकेनौं । यी कुराहरु त छदै छन्, अब संस्थालाई चलायमान बनाउनका लागि हामी मिलेर एक ठाउँमा बस्नुको विकल्प छैन भनेर प्रण गरेर आइसकेको अवस्थामा अब धेरै पछाडि फर्काइरहनु पर्दैन । त्यसका लागि तपाईंहरुले पनि अब एनआरएनएलाई गतिशील बनाउनका लागि सहयोग गर्नुपर्छ । हाम्रो ठूलो टिम भए पनि केही राम्रो काम गर्ने प्रण पनि गरेका छौं ।

तपाईंले आम सहमतिको कुरा गर्दा अर्को पक्ष त बाहिर छ नि ?

जसरी गैर आवासीय नेपाली संघ एनआरएनको अधिवेशनमा नेपाल उद्योग वाणिज्य महासंघ र परराष्ट्र मन्त्रालयले सहयोग गर्छ । अहिले पनि परराष्ट्रको सहकार्यमा हामीले अधिवेशन सम्पन्न गरेका हौं । यद्यपि केही कुराहरुमा कन्फ्यूजन छ ।

यो कुरा समाधान गर्ने विषयमा हामी अत्यन्त चिन्तित छौं । हामीले अति आवश्यक पर्ने विधान संशोधन गरेर परराष्ट्रले छाप  लगाइसकेको छ भने हाम्रो अधिवेशन राष्ट्रपतिले उद्घाटन र प्रधानमन्त्रीले समापन गर्नुभएको कुरा त सार्वजनिक नै छ । त्यसैले कोही पनि कन्फ्यूजनमा रहनु पर्दैन ।

 शेष घलेको नेतृत्वमा भएको अधिवेशन अवैधानिक भन्न खोज्नु भएको हो ?

गैर आवासीय नेपाली संघको ट्रेन्ड अहिलेसम्मको के छ, र हामी परराष्ट्र मन्त्रालयको साथ कता छ भन्ने कुरामा झुक्किनु हुँदैन । निवर्तमान प्रमुख संरक्षक शेष घलेको पहल र संस्थालाई जिवन्तता प्रदान गर्न उहाँले भूमिका खेल्नु भएको छ ।

जनवरी ९ तारिखमा पूर्व अध्यक्ष, प्रमुख संरक्षकहरुलाई राखेर संरक्षक परिषद्ले पहल गर्नुपर्ने निर्णय त कुल आचार्यले गरेको हो नी । त्यो समिति कहिँ न कहिँ चुक्यो । हामीसँग दुई वटा बाटो थियो । कि संसारभरका नेपालीहरुलाई दुई चिरा बनाएर जाने वा सकभर हामीले गरेका गल्ती कमजोरीहरु सुधार गर्दै संस्थालाई एकीकृत राख्दै आम सहमतिमा कमिटी बनाउने ।

तपाईं पदलोलुप हुनुभयो भन्ने आरोप पनि छ ?

राम्रा नराम्रा कमेन्टलाई म सल्लाह र सुझावको रुपमा लिन्छु । हामीले सबैसँग सहकार्य गर्नुको एउटा मात्रै उद्देश्य थियो । त्यो उद्देश्य भनेको संस्थालाई एकै ठाउँमा राखौं । अग्रजहरुलाई सम्मान गरौं र गैरआवासीय नेपालीको  समस्यालाई समाधान गरौं भनेर हामीले अन्तिमसम्म प्रयास गरेका हौं ।

अहिले कसै कसैले कुल आचार्यले धोका दिए भन्दै पनि आएका छन् । यसमा मेरो जवाफ के हो भने भएका विकृतिलाई हटाउँदै सबैलाई साथ लिएर जाने हो । पूर्व अध्यक्षहरु मिलेर अघि बढे यो समस्या समाधान हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?