+
+

भागबण्डा मिल्यो, भोट मिलाउन बाँकी

सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा भागबण्डाको सहमति भए पनि कार्यकर्तास्तरमा असन्तुष्टि देखिएको छ । जनकपुर, नेपालगञ्ज, पोखरा, हेटौंडा, चितवन लगायत प्रमुख शहरमा विरोध सुरु भएको छ । कतिपय ठाउँमा एक्लाएक्लै चुनावमा जाने विज्ञप्ति सार्वजनिक गरिएका छन् ।

सइन्द्र राई दिपेश शाही सइन्द्र राई, दिपेश शाही
२०७९ वैशाख ७ गते २१:४९

७ वैशाख, काठमाडौं । स्थानीय चुनावमा साझा उम्मेदवार तय गर्ने निर्णय गरेको तीन सातापछि सत्ता साझेदार दलहरुले बुधबार महानगर र उपमहानगर पालिकाको भागबण्डा टुंग्याए ।

गएको १७ चैत २०७८ मा गठबन्धनका दलहरुले स्थानीय चुनावमा साझा उम्मेदवार तय गर्ने निर्णय गरेको थियो ।

तर भागबण्डा मिल्न नसक्दा महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगाउने भाका तीन पटक सारिएको थियो । प्रधानमन्त्रीको कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाको आआफ्नो दाबीका कारण महानगर र उपमहानगरको सकस लम्बिदै गइरहेको थियो ।

यही सकसलाई लक्षित गर्दै मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु दलले आफ्नो हैसियत भन्दा धेरै मागेका कारण भागवण्डा मिल्न नसकेको दिक्दारी आफ्नो पार्टीको बैठकमा पोखेका थिए । तर एमालेकै जित रोक्न भएपनि गठबन्धन त गर्नैपर्छ भन्ने निष्कर्षमा सत्ताधारी दलहरु थिए ।

एक साता अगाडि (३० चैतमा) विगतको चुनावमा पाएको नतिजा र वर्तमान अवस्थाका आधारमा भागबण्डा गर्ने मापदण्डमा सहमति जुटाएको थियो । तर पनि सकेसम्म धेरै भाग लिने दलहरुको अडानका कारण जुट्न नसकेको भागबण्डा अन्ततः बुधबार टुंगो लाग्यो ।

गठबन्धनका दलहरूबीच जुटेको सहमति अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका पाएको छ । नेकपा माओवादी केन्द्रले भरतपुर, नेकपा एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्जमा मेयरको उम्मेदवार तय गर्नेछन् । महानगरको उपमेयरमा कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरमा उम्मेदवार उठाउनेछन् । माओवादी केन्द्रले ललितपुर, एकीकृत समाजवादीले काठमाडौं र जसपाले विराटनगरमा उपमेयरको उम्मेदवार उठाउनेछन् ।

गठबन्धनले उपमहानगर पालिकाको भागबण्डा पनि टुंगो लगाएको छ । ११ उपमहानगरमध्ये कांग्रेसले सात, माओवादी केन्द्रले दुई, एकीकृत समाजवादी र जसपाले एक/एक ठाउँ पाएको छ । कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगर पालिकाको नेतृत्व पाएको छ । माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकामा मेयर उठाउनेछ । एकीकृत समाजवादीले हेटौडा र जसपाले जनकपुरको मेयरका उम्मेदवार चयन गर्नेछ ।

उपमहानगरपालिकाको उपमेयरमा कांग्रेसले जितपुर सिमरा, घोराही, हेटौडा र जनकपुर पाएको छ । माओवादी केन्द्रले धरान र धनगढी, एकीकृत समाजवादीले इटहरी, बुटवल र तुलसीपुरमा उपमेयरको उम्मेदवार उठाउनेछ । जसपाले कलैया र नेपालगञ्जमा उपमेयरको उम्मेदवार तय गर्नेछन् ।

भागबण्डामा परेको यी उम्मेदवारलाई गठबन्धनमा आवद्ध अन्य दलको समर्थन रहनेछ । २०७४ को चुनावको नतिजालाई आधार मान्ने हो भने पाँच दलले साझा उम्मेदवार उठाउँदा एमाले उम्मेद्वार दबावमा पर्ने देखिन्छ । कतिपय स्थानमा एमाले उम्मेदवार ठूलो मतान्तरले पछाडि पर्नेछन् भने कतिपय स्थानीय तहमा रोचक प्रतिस्पर्धा हुनेछ ।

‘प्रतिगामी प्रवृत्तिलाई निरुत्साहित गर्न । प्रजातन्त्रप्रेमी, लोकतन्त्र प्रेमी, परिवर्तनगामीहरुको एकता आवश्यक छ । त्यसैले हामीले स्थानीय तहदेखि नै भोलिसम्मकै लागि एकता गर्न चाहिरहेका छौं,’ कांग्रेस नेता रामचन्द्र पौडेल भन्छन् ।

०७४ को चुनावमा कांग्रेसका उम्मेद्वार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पछि पार्दै एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको मेयर जितेका थिए । त्यसबेला शाक्यले ६४,१९३ मत पाउँदा जोशीले ४५,२६९ मत पाएका थिए ।

यसपटक गठबन्धन हुँदा एमालेसँग मतान्तर पाँच हजारमा झर्नेछ । ०७४ मा पाएको गठबन्धनको मत जोड्दा ५९,४७४ हुन्छ । एमालेबाट अलग एकीकृत समाजवादीले पाउने मतले गठबन्धनलाई लाभ र एमालेलाई नोक्सान पुग्ने सहज अनुमान लगाउन सकिन्छ ।

ललितपुर महानगरमा यसअघि पनि कांग्रेसले नै जितेको थियो । त्यसबेला एमाले उम्मेदवार  कांग्रेससँग झिनो मतान्तरले पराजित भएको थियो । तर यसपटक गठबन्धन हुँदा एमाले धेरै पछि पर्नेछ । ०७४ को चुनावी हिसाब गर्ने हो भने गठबन्धनसँग ४०,१७८ मत छ भने एमालेसँग २७,६७२ मत छ ।

विराटनगरको हिसाब पनि त्यस्तै छ । एमालेको मत १७,३२१ छ भने गठबन्धनको ३७,३२१ मत छ । ०७४ को चुनावमा पनि कांग्रेसले नै विराटनगर महानगरपालिका जितेको थियो ।

गत चुनावमा वीरगञ्ज महानगरपालिकामा मेयरका लागि परेको मत हेर्ने हो भने गठबन्धन र एमालेबीचको मतान्तर आकाश पातालको फरक हुन्छ । फोरम लोकतान्त्रिक कांग्रेसमै समाहित भइसकेकाले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुले पाएको मत जोड्दा ५३,५९५ हुन्छ । जबकी एमालेले उठाएको मेयरका उम्मेद्वार बसरुद्धिन अन्सारी त्यो चुनावमा ८,६८८ मत पाएका थिए ।

भरतपुर महानगरपालिकामा अघिल्लोपटक पनि गठबन्धनबाट रेनु दाहालले मेयर जितेकी थिइन् । अहिले पनि त्यो गठबन्धन कायमै रहेको छ । त्यसबेला एमाले भन्दा ५५९ मत बढी ४३ हजार ४८३ मत गठबन्धनले पाएको थियो । पोखरा महानगरमा भने गठबन्धन पछाडि छ । गठबन्धनका दलहरु मिल्दा पनि १३ हजार अन्तरले एमालेले मेयर जितेको थियो । एमालेका उम्मेदवार मानबहदुर जिसीले ६० हजार ३७६ मत पाउँदा गठबन्धनबाट उम्मेद्वार बनेका रामजी कुँवरले ४९ हजर ५८६ मत पाएका थिए ।

उपमहानगरपालिकाहरुमा गठबन्धन र एमालेले ०७४ को चुनावमा पाएको अंकगणित पनि महानगरपालिकासँग मिल्दो छ । त्यो चुनावमा केही स्थानमा मात्रै कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । तर यसपटक सबै ठाउँ तालमेल भएकाले गठबन्धनका उम्मेदवार उत्साहित हुनु स्वभाविक हुनेछ ।

तर त्यो उत्साह जोगाउन गठबन्धनलाई ठूलो चुनौती भने कार्यकर्ता मनाउन सक्नु हो । किनकि जतिले टिकट पाएका छन्, त्यो भन्दा ठूलो संख्यामा नपाउने पंक्ति तयार भएको छ । महानगर र उपमहानगरमा जनमोर्चाले कतै पनि पदाधिकारी पाएनन् ।

गठबन्धनमा यो शक्ति सानो भएकाले त्यसैकारण ठूलो असर नपर्न सक्छ । तर बाँकी चार दलमा पनि हरेक स्थानीय तहमा दुई दलले कुनैपनि पदाधिकारी पाएका छैनन् । विशेष गरी कांग्रेसभित्र असन्तुष्टि संख्या ठूलो छ ।

एमालेकै हाराहारीको शक्ति भएपनि कांग्रेसले लगभग आधा स्थान गठबन्धनका दलहरुलाई छोडेको छ । यसको असर रोक्न सक्नु गठबन्धनको सफलता हुनेछ । तर सजिलो भने देखिन्न । भागबण्डा टुंगिएको घोषणा भएलगत्तै सार्वजनिक रुपमै असन्तुष्टि देखिएको छ ।

‘यो तालमेल आत्माघाती हो । यसले पार्टी कमजोर बनाउँछ’, कांग्रेस नेता विमलेन्द्र निधि भन्छन् । मधेश प्रदेशमा महत्वपूर्ण अर्थ राख्ने वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिका जसपालाई दिने निर्णयप्रति निधिको असन्तुष्टि देखिन्छ । उनी भन्छन्, ‘यो निर्णयले पार्टीलाई कमजोर बनाउँछ । कार्यकर्ताको भावना सम्बोधन गर्दैन ।’

चर्को असन्तुष्टि

काठमाडौंमा भागबण्डा मिलेको घोषणा हुनासाथ मधेश प्रदेशको राजधानी जनकपुरमा कांग्रेस कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले नेतृत्वविरुद्ध टायर बालेर प्रदर्शन गरे ।

‘मधेश प्रदेशसँग पार्टी सभापति शेरबहादुर देउवाले विभेद गर्नुभएको छ’ नगर समिति सभापति मनोज साह भन्छन्, ‘जसपालाई मेयर दिने निर्णय अबिलम्ब नसच्याए हामी कडाभन्दा कडा कदम उठाउन तयार छौं ।’ उनी जनकपुरमा जसपालाई कुनै हालतमा भोट हाल्न नसकिने अडान लिन्छन् ।

कांग्रेस संस्थापन इतरका नेता डा. शेखर कोइराला स्वयं पनि यो तालमेलप्रति असन्तुष्ट छन् । ‘आज के, कति कारणले, किन, हामीहरू कम्युनिष्टहरूसित मिलेर, गठबन्धन गरेर, अगाडि गइराख्या छौं ? के कारणले नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयलाई पन्छाएर शीर्ष नेताहरू गठबन्धनको बैठकमा निर्णयहरु गरेर जिल्ला–जिल्लामा पठाइरहनु भएको छ ?’ उनको प्रश्न छ । तालमेलको निर्णयले कांग्रेस कमजोर हुने उनको तर्क छ । कोइराला भन्छन्, ‘मलाई लाग्दैन नेपाली कांग्रेस कमजोर छ ।’

जनकपुरजस्तै नेपालगञ्ज, पोखरा, हेटौडा, चितवन लगायत प्रमुख शहरमै विरोध सुरु भएको छ । कतिपय ठाउँमा एक्लाएक्लै चुनावमा जाने विज्ञप्ति सार्वजनिक गरिएका छन् । पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने निर्णयपछि कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।

कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी भागबण्डा गरिएकाले नसच्याएसम्म ताला नखोल्ने कांग्रेस महानगर सचिव गणेशबहादुर थापा बताउँछन् । माग पूरा नभए नेतृत्वविरुद्ध विद्रोह गर्ने उनको चेतावनी छ ।

नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसलाई दिने नेतृत्वको निर्णयविरुद्ध जसपाका नेताहरुले पार्टी परित्यागकै चेतावनी दिएका छन् । ‘हामी गठबन्धन मान्दैनौं, चुनाव लड्छौं । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिन्ह लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं,’ जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राई भन्छन् ।

जसपा बाँकेले तालमेल भए छुट्टै चुनाव लड्ने लिखित पत्र लेखेको थियो । तर पार्टी नेतृत्वले नेपालगञ्ज कांग्रेसलाई दिएपछि स्थानीय नेताहरु भने आक्रोशित बनेका छन् । ‘राष्ट्रिय पार्टी बनाउने, वैकल्पिक शक्ति बनाउने भनेर कार्यकर्तालाई सपना बाँड्ने तर, मधेश प्रदेशमा मात्रै अवसर दिने हो भने अरूले मेहनत गर्नुको के औचित्य ?’ केन्द्रीय कार्यकारिणी सदस्य एवम् पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको भनाइ छ ।

गृहमन्त्री रहेका कांग्रेस नेता बालकृष्ण खाँणले गठबन्धनको निर्णय नमाने कारवाहीको चेतावनी दिनुले पनि असन्तुष्टि चर्किएको बुझ्न सकिन्छ । ‘नेपाली कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनमा प्रतिबद्ध छ’, खाँण भन्छन्, ‘पार्टीको निर्णय विपरीत जाने नेता कार्यकर्ताहरुको गतिविधि नोटिस गरिएको छ, उनीहरूलाई कारवाही गरिने छ ।’

तर कारवाहीकै चेतावनी समेत कांग्रेस कार्यकर्ताको असन्तुष्टि रोकिएको छैन । हेटौडा उपमहानगरपालिका एकीकृत समाजवादीलाई दिने निर्णयप्रति विज्ञप्ति जारी गरेरै कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् । नगरपालिका सभापतिसहित सबै वडा सभापतिको बैठकले गठबन्धनका दलहरुसँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको छ ।

भरतपुर महानगरपालिकाको मेयर छोड्ने निर्णयप्रति स्थानीय नेताहरुले पहिलेबाटै विद्रोहको चेतावनी दिँदै आएका छन् । २७ वडा सभापतिले विद्रोहको चेतावनी सार्वजनिक गरेका थिए ।

अघिल्लोपटक माओवादी केन्द्रलाई भोट हालेकाले यसपटक कांग्रेसले भरतपुर महानगर पाउनुपर्ने उनीहरुको तर्क छ । तर तल्ला कमिटीहरुमा देखिएको असन्तुष्टि विस्तारै चिरिदै जाने माओवादी केन्द्रका नेता वर्षमान पुनको भनाइ छ ।

‘एउटाको नाम सिफारिस हुँदा अर्काे छोड्ने या विरोध हुने हुन्छ भने यो त पाँच दलबीचको गठबन्धन हो,’ पुनले अनलाइनखबरसँग भने, ‘विस्तारै गठबन्धनको आवश्यकता र औचित्य बुझाउँछौं, आ–आफ्नो पंक्तिलाई हामीले विश्वासमा लिन्छौं ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?