+
+

यस्तो छ नास्टले बनाएको विद्युतीय स्कुटर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १४:०८

८ वैशाख, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विद्युतीय स्कुटर बनाएको छ । बिहीबार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले विद्युतीय स्कुटर सार्वजनिक गरेकी हुन् । स्कुटर बनाउन लुम्बिनी प्रदेश सरकारले पनि सहयोग गरेका थियो ।

स्कुटरलाई सार्वजनिक गर्दै मन्त्री भुसालले प्रदेश सरकारहरुसँग समन्वय गरेर उद्योगको रुपमा नास्टले अगाडि बढाउनुपर्ने बताइन् । भुसालले नास्टको प्राविधिक सहयोगमा प्रदेश सरकारहरुले व्यवसायिक ढंगले यस्ता विद्युतीय सामाग्रीहरुको उत्पादनमा जोड दिनुपर्ने बताइन् ।

विकसित देशहरुले जलवायु बिगार्दा नेपाल जस्तो देशले समस्या भोग्नु परेको भन्दै वातावरण स्वच्छ बनाउन जलविद्युतको उच्च प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउँदै विद्युतीय खपत बढाउन सरकार लागि परेको सुनाइन् । ‘अबको केही वर्षमा नेपालकाे जलविद्युत बंगलादेशदेखि श्रीलंकासम्म बेच्न सकिने अवस्था आउने छ । हामी अब जलविद्युत उपभोग बढाउने मात्रै नभई निर्यातसम्म गर्छौं’ उनले भनिन् । नास्टले पनि अब अरु देशले बनाएको जस्तै नवीन कुरा अनुसन्धान गर्नुपर्ने बताइन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिला देवी बज्रचार्यले नास्टले गर्ने रिसर्चहरु अझै वृहत रुपमा अगाडी बढाउनुपर्ने बताइन् । उनले नयाँ आविष्कार र अनुसन्धानलाई मन्त्रालयले सधैं साथ दिने भन्दै जीवन उपयोगी अनुसन्धानहरु गर्न समेत आग्रह गरिन् ।

एक पटक चार्ज गर्दा ५० किलोमिटर

नास्टले बनाएको विद्युतीय स्कुटरको मुख्य विशेषता भनेको एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने क्षमता हो । नास्टका प्रविधि संकाय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र ढकालका अनुसार ३ लाख भन्दा धेरै खर्चमा उक्त स्कुटर निर्माण भएको हो । एउटा मात्रै स्कुटर निर्माण गर्न धेरै खर्च लागेता पनि एकैचोटी धेरै स्कुटर निमार्ण गरे कम खर्चमा निर्माण हुने ढकालले बताए ।

स्कुटरमा अगाडि सामान र पछाडि मान्छे समेत बस्न मिल्ने छ । उकालोमा पनि एकजना चड्दा सजिलै चल्ने नास्टको दाबी छ । घरायसी प्रयोजनको लागि, कार्यालय प्रयोजनका लागि विद्युतीय स्कुटर उपयोगी हुने नास्टको भनाइ छ ।

स्कुटरमा दुई किलोवाट दूई ब्याट्री जडान भएको छ । नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले विद्युतीय स्कुटर जीवन उपयोगी हुने बताए । उनले नास्टले आगामी दिन अझै यस्ता विषयहरुमा अनुसन्धानलाई तीव्रता दिँदै स्कुटर निर्माणमा सहभागी प्राविधिक टोलीलाई सम्मान समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?