म सानो छँदा
बुबाले भैंसी दुहुँदै गर्दा
दूध खान
म गिलास लिएर बस्ने गर्थें छेउमा
त्यसैबेला देख्थें म बुबाले कहिल्यै भैंसीका
दुई थुन दुहुनु भएन ।
धान काट्ने बेला खेतमा
म बुबाको पछि लाग्थें
कहिले खेतको आलीमा
कहिले ढुंगामा बसेर हेर्थें
बुबा भन्नु हुन्थ्यो-
खेतमा खसेका धानका बाला टिप्नु हुँदैन ।
बारीमा आलु खन्दै गर्दा
हामी केटाकेटी पछिपछि डुल्थ्यौं
र,
सिला टिपेका आलु पोलेर खान्थ्यौं
त्यस्तो देखेर बुबा भन्नुहुन्थ्यो-
बारीका सिलाहरु टिप्नु हुँदैन ।
मुसाले कोदो खाएर
कुना कुनामा प्वाल खोलेर थुपार्दा
बारीमा विष हाल्ने चर्चा हुन्थ्यो
बुबा भन्नुहुन्थ्यो-
मुसालाई विष हाल्नु हुँदैन ।
बालक म
सोधिरहन्थें-
बुबा किन त्यसो भन्नुभएको ?
एकदिन
मलाई बुबाले भन्नुभयो-
भैंसीका सबै दूध हामीले
खाइदियौं भने
पोखिएको सबै बाली हामीले घर लग्यौं भने
सबै मुसाहरु विष हालेर मा¥यौ भने
यिनीहरुको जीवन के हुन्छ ?
यिनीहरुका छोराछोरीको जीवन के हुन्छ ?
के संसार मान्छेको मात्रै हो ?
अहिले
बुबा हजुर बुबा हुनुभएको छ
म बुबा भएको छु
सडकमा माग्न बसेका
मान्छेहरु देख्दा
पशुपति र स्वयम्भूमा
बिरामी र भोका बाँदरहरु देख्दा
सडकमा गर्भिणी
कुकुर र बिरालाहरु देख्दा
म प्रश्न गर्छु आफैंसित-
यो संसार
कसको हो ?
प्रतिक्रिया 4