+
+

विभाजित मन लिएर निर्वाचनमा कांग्रेस !

गठबन्धन पक्षधर भन्छन् : अन्तर्घात हुँदैन

कांग्रेसभित्र ‘तालमेल गर्नुपर्छ र गर्नै हुदैन’ भन्ने दुईथरी मत छ । पार्टीभित्र डा. शेखर कोइराला पक्षले तालमेल गर्न नहुने विचारलाई तल्लो तहसम्म प्रवाह गरेको छ । केन्द्रले निर्णय गर्ने र तल्लो तहलाई लाद्न खोज्ने प्रवृत्तिले निर्वाचनमा सोचेअनुसार नतिजा आउनेमा संशय पैदा भएको कांग्रेसकै कतिपय नेताहरु बताउँछन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ वैशाख ८ गते २०:५१

८ वैशाख, काठमाडौं । आन्तरिक असन्तुष्टि साम्य नगरी सत्ता घटकको प्रमुख दल नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा होमिएको छ । पार्टीभित्रको असन्तुष्टि कायमै राखेर चुनावी प्रतिस्पर्धामा जाँदा आशातित लाभ हुन नसक्ने हो कि भन्ने आशंका कांग्रेसभित्रै हुन थालेको छ ।

सत्ता गठबन्धनका दलहरु बीच ‘तालमेल गर्नुपर्छ र गर्नै हुदैन’ मत राख्ने पार्टीका दुई धार छन् । निर्णयका क्रममा सहमति बने पनि दुई समूहको मनमा एकत्व भने हुन सकेको छैन । पार्टीभित्रको एक धार (डा शेखर कोइराला पक्ष)ले ‘तालमेल गर्न नहुने’ विचारलाई तल्लो तहसम्म प्रवाह गरेको छ ।

शेखर पक्षको विचारले तल्लो तहका कतिपय कार्यकर्तालाई प्रभावित बनायो । कांग्रेसको एकल शक्तिकै बलमा प्रतिस्पर्धा गर्ने मानसिकतामा तल्लो तहका कार्यकर्ता पनि थिए । केन्द्रले गरेको निर्णय कार्यान्वयनका लागि मात्रै तल्लो तहलाई ‘लाद्न खोज्दा’ सोचे अनुसार सिटमा विजय प्राप्त हुनेमा संशय पैदा भएको कांग्रेसका नेताहरु बताउँछन् ।

एक पक्षलाई ‘बेवास्ता’ गर्दाको परिणाम

१४ औं महाधिवेशनमा सभापतिमा पराजित भएपछि डा. शेखर कोइरालाले पार्टी भित्र भागवण्डाको राजनीति नगर्ने सार्वजनिक रुपमा बोलेका थिए । त्यसका लागि उनको शर्त भने थियो, शेरबहादुर देउवाबाट हुने निर्णय ‘न्यायसंगत्’ हुनुपर्दछ ।

एक पक्षको नेतृत्व गर्दै आएका शेखरलाई स्थान नदिएर देउवाले नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको साथ लिँदै आए । महत्वपूर्ण बैठकमा पौडेल र सिटौला भने सहभागी हुने गरेका छन् ।

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनित गर्दा सभापतिले पार्टीभित्र परामर्श गर्नुपर्ने केन्द्रीय समितिको निर्णय थियो । परामर्श नगरी देउवाले नेविसंघमा दुजाङ शेर्पा र तरुण दलमा विद्धान गुरुङ मनोनित गरेपछि शेखर पक्ष थप आक्रोशित बन्यो ।

संस्थापन पक्षका श्रृङ्खलावद्ध ‘एकपक्षीय निर्णय’लाई प्रतिवाद गर्ने बलियो माध्यम तालमेलको मुद्दा बनिदियो । तालमेलको विरुद्धमा रहेको शेखर पक्ष र कार्यकर्ताको इच्छा एकत्रित विचारका रुपमा देशका विभिन्न स्थानमा देखिए ।

‘शेखर दाइको समूहलाई सभापतिले महाधिवेशन पछि सँगसँगै लान सकेको भए यस्तो अवस्था आउने थिएन’ संस्थापन पक्षका एक केन्द्रीय सदस्य भन्छन्, ‘तालमेल गर्नै हुदैन भन्ने उहाँहरु र तल्लो तहका कार्यकर्ताको मन मिल्न गयो ।’

तालमेलको निरन्तर विपक्षमा

सरकारले २४ माघमा स्थानीय तहको निर्वाचनको घोषणा गरेको चार दिनपछि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता शेखर कोइरालाले तालमेलको विपक्षमा धारणा राखेका थिए ।

‘हाम्रो राजनीतिक आदर्श विपरीत अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरुको न्यायोचित व्यवस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ,’ शेखरले बैठकमा भनेका थिए, ‘यही जितको बलले प्रदेश र संघीय निर्वाचनमा समेत कांग्रेसले एक्लै बहुमत प्राप्त गर्न सक्छ ।’

केन्द्रीय समितिमा सभापति देउवा पक्षका अत्यधिक सदस्य रहेकाले तालमेलको निर्णय गरियो । चैत १५ मा केन्द्रीय समितिको बैठकबाट तालमेल गर्ने औपचारिक निर्णय गरेको थियो ।

‘स्थानीय अवस्था र आवश्यकता अनुरुप’ गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने निर्णय गरिएको थियो । स्थानीय अवस्था र आवश्यकता अनुरुप तल्लो तहले तालमेल गर्न सक्ने केन्द्रीय समितिको निर्णय उल्लंघन गरिएको शेखर पक्षको बुझाइ छ ।

‘आज के कति कारणले कांग्रेसले कम्युनिस्टहरुसँग गठबन्धन गरिरहेका छौं ?’ नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसमा बोल्ने क्रममा नेतृत्वलाई शेखरले प्रश्न गरे, ‘केन्द्रीय समितिको निर्णय किन लागु गरिएन?’

तालमेलको मोडालिटी तय गर्न तथा महानगर र उपमहानगरका उम्मेदवारको भागवण्डा टुंग्याउने बैठकमा महामन्त्री गगन थापालाई सधैं बोलाइयो । तर, पछिल्ला तीन बैठकमा उनी सहभागी भएनन् । तालमेलको विपक्षमा रहेका उनी घोषणापत्र तयारीका लागि भन्दै बैठकमा सहभागी भएनन् ।

शेखर पक्षका एक नेताका अनुसार उनी बैठकमा सहभागी हुन नचाहेर नै सहभागी नभएका हुन् । ‘महत्वपूर्ण बैठकमा उहाँले चाहेको भए गइहाल्नुहुन्थ्यो नि । नचाहेर जानुभएन,’ संस्थापनइतरका ती नेताले भने, ‘कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न तयार छ भने किन तालमेलको भागवण्डा गर्न भन्दै बैठकमा जानु ?’

कांग्रेस नेता पौडेलको नेतृत्वमा रहेको संयन्त्रका सदस्यसमेत रहेका थापाका वैशाख १ पछिका मात्रै बोली सुन्दा पनि उनी तालमेलको कट्टर विरोधी रहेको देखिन्छ । तालमेलको संस्कृति गलत भएको उनको निष्कर्ष छ ।

पार्टी केन्द्रीय समितिको बैठकको निर्णय स्वीकार्नुपर्ने वाध्यता पनि उनले सुनाए । ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदैछैन ।’ नयाँ वर्षको पहिलो दिन बोल्ने क्रममा उनले भनेका थिए, ‘तर, पार्टीको निर्णय मानेको छु । मान्नुपर्छ । तालमेलको यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन ।’

पार्टी संस्थापन पक्षले भने संघीय निर्वाचनसम्म सँगै अघि बढ्ने गरी गठबन्धन बनेकाले सहकार्य गर्नुपर्ने तर्क गर्दै आएको छ । ‘सरकार गठनकै बेला सहकार्य गरी अघि बढ्ने सहमति बनेको हो,’ देउवा पक्षीय नेता एनपी साउद भन्छन्, ‘तालमेल गर्ने यो निर्णय त्यसकै निरन्तरता हो ।’

मत्थर हुँदै स्थानीय तहको दबाव

बुधबार सत्तागठबन्धनले भागवण्डा टुंग्याएसँगै असन्तुष्टिका स्वरहरु बाहिर आइरहेका छन् ।

भरतपुर, विराटनगर, वीरगञ्ज पोखरा, जनकपुर लगायतका स्थानमा कांग्रेसका कार्यकर्ताको चर्को असन्तुष्टि देखिएको थियो÷छ । असन्तुष्टि क्रमशः कम हुँदै गएको छ भने जिल्ला नेतृत्व पालिकाको भागवण्डाको छलफलमा केन्द्रित भएको छ ।

वीरगञ्ज र जनकपुर जनता समाजवादीबाट मेयर उठ्ने निर्णय सत्ता गठबन्धनले गरेसँगै नेता विमलेन्द्र निधिले कांग्रेसका लागि आत्मघाती निर्णयको संज्ञा दिए । ‘यो निर्णयले पार्टीलाई कमजोर बनाउँछ । यो तालमेल आत्माघाती हो’, निधिले भने ‘कार्यकर्ताको भावना सम्बोधन गर्दैन ।’

जनकपुरधामको मेयरको उम्मेदवार जसपाको भागमा परेपछि सभापति देउवाको विरोध गर्दै जनकपुरमा प्रदर्शन समेत गरिएको छ । जनकपुर नगर समितिले पार्टी केन्द्रलाई ‘निर्णय सच्याउन’ २४ घन्टे अल्टिमेटम दिएको छ ।

‘कांग्रेसकै मेयरको उम्मेदवार बनाउनुपर्छ भनेर अल्टिमेटम दिएका छौं । मधेसमा कांग्रेस सिध्याउन देउवा लागेका छन्,’ नगर समिति सभापति मनोज साहले भने, ‘अल्टिमेटमको समय सकिएपछि मेयरको उम्मेदवार दिने किन नदिने भोलि निर्णय गर्छौं ।’

तालमेलको सर्वाधिक विरोधमा रहेका कांग्रेसका नेताहरुको बोली चितवनमा केही मत्थर भएको छ । केन्द्रले महानगर र उपमहानगरको भागवण्डा टुंग्याउँदै गर्दा बुधबार चितवनमा बसेको सत्ता गठबन्धनमा रहेका दलको बैठकले पालिकाको भागवण्डा गरेको छ । भरतपुर महानगरपालिका, ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको भागवण्डा गरिएको छ ।

भरतपुरबाहेक ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख कांगे्रेसको भागमा परेको छ । तालमेलको विरोध गर्ने कांग्रेस चितवनका सभापति राजेश्वर खनालकै नेतृत्वमा गठबन्धनको बैठक बसेको थियो ।

तालमेलको विरोध गरेपनि पार्टीको निर्णय मान्नुपर्ने वाध्यतामा रहेको भरतपुर नगरका कांग्रेस सभापति चित्रसेन अधिकारीले बताए । ‘कांग्रेसकै मेयर हुनुपर्छ भन्दै आएका हौं । पार्टीले माओवादी केन्द्रलाई दियो, निर्णय मान्नैपर्‍यो’, अधिकारीले अनलाइनखबरसँग भने, ‘जिल्ला भरिको भागवण्डा सकिएपछि गठबन्धनको माहोल बन्ला ।’

विराटनगरमा मेयरमा कांग्रेसका उम्मेदवार उठ्ने भएपनि नगर समिति एक्लै अन्य पदमा पनि लड्ने पक्षमा छ । ‘हामी तालमेलको पक्षमै छैनौं । उपमेयरको उम्मेदवार जसपालाई दिइएको छ’, विराटनगर नगर सभापति दीपक चापागाईंले भने, ‘विना तालमेल कांग्रेसले जित्ने ठाउँमा अरुलाई उम्मेदवार किन बनाउने ?’

पोखरामा सत्ता गठबन्धनमा कांग्रेस नै शक्तिशाली रहेकाले अन्य दललाई छोड्न नहुनेमा कास्कीका नेता कार्यकर्ताको जोड थियो । केन्द्रले पोखरा एकीकृत समाजवादीको भागमा मेयरको उम्मेदवार पारेसँगै कांग्रेस कार्यकर्ता रुष्ट भएका थिए ।

केन्द्रको निर्णयसँगै आक्रोशित कार्यकताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । वडा तहमा अधिकतम अध्यक्ष कांग्रेसबाट उठाउने संकेत पाएसँगै ताला खोलिएको छ ।

‘हामीले २६ वडामा कांग्रेसबाट वडाध्यक्षको माग गरेका छौं । २२ वडा कांग्रेसले पाउने करिब सहमति भइरहेको छ,’ पोखरा महानगरका कांग्रेस सचिव गणेशबहादुर थापाले भने, ‘सहमहामन्त्रीहरुलाई पनि कुरा राखियो । विरोध गरेर भन्दा मिलाउँदा नै ठीक हुने लाग्यो ।’ अन्य दल भएपनि रुख चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नुपर्ने मत समेत कतिपय जिल्ला नेताले राखेका छन् ।

पार्टीका शीर्ष नेताहरु सातै प्रदेशका चुनावी सभामा सहभागी भएपछि स्थानीय तहमा देखिएका असन्तुष्टि अन्त्य हुने केन्द्रीय सदस्य एनपी साउदको बुझाइ छ ।

गठबन्धन पक्षधर भन्छन् : अन्तर्घात हुँदैन

सत्ता गठबन्धनका दलमध्ये सबैभन्दा ठूलो तथा धेरै मतदाता भएको कांग्रेसका मतदाताले मत नदिने हो कि भन्ने आशंका अन्य दललाई छ । कांग्रेसको पक्षमा रहेका मतदाताले अन्य दलका उम्मेदवारलाई मत दिए मात्रै जीतको अवस्था बन्नसक्छ ।

पार्टीका कार्यकर्तालाई आश्वस्त पार्न तथा गठबन्धन मजबुत बनाउने ध्येयले सातै प्रदेशमा चुनावी सभा गर्न लागिएको छ । ‘परिवर्तनको एजेण्डा लिएर हामी चुनाव लड्ने हो । त्यसकारण यसका लागि देशैभरि अभियान चलाउँछौं’, कांग्रेस नेता रामचन्द्र पौडेल भन्छन्, ‘नेताहरु सबै ठाउँमा जान्छौं । जनतालाई अपिल गर्छाैं ।’ चार दिनमा ७ स्थानमा हुने उक्त सभाले गठबन्धनको पक्षमा माहोल बन्ने विश्वास सत्तारुढ दललाई छ ।

एकीकृत समाजवादीका तर्फबाट पोखरा महानगरको मेयरका उम्मेदवार हुने भएपछि उक्त दलमा उत्साह छ । गठबन्धनबाट मेयरको उम्मेदवार विजयी हुने एकीकृत समाजवादीका कास्कीका अध्यक्ष धनराज आचार्य दाबी गर्छन् ।

‘कांग्रेसले मेयर पाए जित्ने अरुले नजित्ने भन्ने हुँदैन । त्यो कुरा अस्तिसम्म थियो’, आचार्यले भने, ‘अब त गठबन्धनको दललाई जिताउने सबैको ध्यान हुन्छ नि ।’

कांग्रेसलाई प्राप्त हुने मत आफ्नो पार्टीको उम्मेदवारको पक्षमा खस्ने उनको दाबी छ ।

भरतपुरमा कांग्रेस कार्यकर्ताले रुखबाहेक अन्यत्र मत दिँदैनन् भन्दै स्थानीय नेताहरुले पटक पटक दोहोर्‍याइरहेका थिए । अन्ततः माओवादी केन्द्रलाई भरतपुर महानगरको मेयर भागमा परेको छ ।

कांग्रेसबाट गठबन्धनको विरुद्धमा मत नखस्नेमा माओवादी केन्द्र विश्वस्त छ । ‘जिल्लामा गठबन्धनका नेताहरुको बैठक दिनुहँ बसिरहेको छ । गठबन्धनको उम्मेदवारको पक्षमा माहोल बनेको छ’, माओवादी केन्द्रका भरतपुर महानगर अध्यक्ष ईश्वर सापकोटाले भने, ‘कांग्रेसलाई खस्ने कुल मतको ५० प्रतिशत खसे पनि हामीले जित्छौं ।’

तालमेल गर्ने दलहरु वीच अन्तर्घात नहुने कांग्रेस संस्थापन पक्षको बुझाइ छ । पार्टी केन्द्रले गरेको निर्णय अवज्ञा गर्नेहरुलाई अनुशासनको कारबाही हुने साउदले बताए । ‘पार्टीको निर्णय स्वीकार गर्नुपर्दछ । अनुशासन उल्लंघन गरे कारबाही हुन्छ । अनुशासन समिति पनि पार्टीले गठन गर्नेछ’ साउदले भने ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?