+
+

देउवाकै गृह जिल्लामा नहुने भयो चुनावी तालमेल

रामहरि ओझा रामहरि ओझा
२०७९ वैशाख ९ गते १९:०७

९ वैशाख, डोटी। डडेल्धुरामा सत्तारुढ दलहरुबीच चुनावी तालमेल नहुने भएको छ ।

पार्टीभित्र चर्को विरोधका बाबजुद प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दलसँग महानगर र उपमहानगरपालिकाको भागबण्डा गरेका थिए ।

तर देउवाकै गृहजिल्ला डडेलधुरामा भने सत्तारुढ दलहरु तालेमल नगर्ने निर्णयमा पुगेको छन् । ‘दुई पटक सत्ता गठबन्धन दलहरुको बैठक बस्यो, दलहरुले आ–आफ्नो दाबी पेश गरे,’ कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारीले भने, ‘दाबीअनुसार भागबण्डा मिल्ने जस्तो लक्षण नदेखिएपछि गठबन्धन दलको बैठकबाटै एक्लाएक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरियो ।’

एक–आपसमा स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय गरेर सबै दलले आ–आफ्नो केन्द्रीय समितिलाई पठाएको उनी बताउँछन् । भण्डारी भन्छन्, ‘कांग्रेसले पहिलेदेखि नै जिल्लाका सातवटै पालिकामा एक्लै चुनाव लड्ने सोच बनाइरहेको थियो, अन्यदलहरुको दाबी पनि अलि नमिल्दो भएपछि गठबन्धन नगर्ने निर्णयमा पुग्यौं ।’

अब जिल्ला तहमा तालमेलबारे कुनै छलफल नहुने, तर केन्द्रबाट निर्देशन आए मान्न बाध्य हुने उनले बताए । भन्छन्, ‘यसरी बुझ्नुहोस् कि ९९ प्रतिशत चुनावी तालमेल हुँदैन, तर केन्द्रको निर्देशन आए तालमेल हुने सम्भावना छ ।’

उनका अनुसार जिल्ला समितिले सातवटै पालिकामा उम्मेदवारी दिने तयारी गरिसकेको छ । ‘हामीले सवै पालिकामाआफ्ना उम्मेदवार तय गरिसकेको अवस्था छ’ भण्डारी भन्छन्, ‘वडाहरुको पनि उम्मेदवार करिब करिब छनौट भइसकेको छ ।’

नेकपा एकीकृत समाजवादीका डडेल्धुराका अध्यक्ष तुलाराम बोहरा पनि जिल्लामा चुनावी तालमेल नहुने बताउँछन् । भन्छन्, ‘माओवादी र हाम्रा बीचमा स्थानीय स्तरमा आवश्यकता अनुसार तालमेल हुनसक्छ, तर जिल्लाभरि नै सत्ता गठबन्धनबीच तालमेल नहुने भयो ।’

चुनावी तालमेलका लागि छलफल भएको, तर स्वच्छ प्रतिस्पर्धा गर्ने गरी एक्लाएक्लै जाने निर्णय भएको नेकपा माओवादी केन्द्र डडेल्धुराका जिल्ला संयोजक उमेशप्रसाद भट्टले जानकारी दिए । ‘एक्लाएक्लै लड्दा पनि जो जिते पनि गठवन्धन दलभित्रैबाट जित्ने हो भन्ने कुरा भयो,’ संयोजक भट्टले भने, ‘त्यसैले हामीले चुनावी तालमेलमा जोड दिएनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?