+
+
Shares

०३५ सालको औषधि ऐनले वर्तमान अवस्थालाई सम्बोधन गर्न सक्दैन : तोसिमा कार्की

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद डा. तोसिमा कार्कीले २०३५ सालको औषधि ऐनले २०८३ सालको वर्तमान अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै परिमार्जन गर्नुपर्ने बताइन् ।
  • उनले औषधिको गुणस्तर कायम राख्न सप्लाइ चेन सुधार गरी समयमै उपभोक्ता र बिरामीसम्म औषधि पुर्‍याउनुपर्नेमा जोड दिइन् ।
  • पीडानका पदाधिकारीहरूले नयाँ नीति नबनेसम्म औषधि बजार सहज नहुने भन्दै बिरामीलाई सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउन सरकारसँग आग्रह गरे ।

३ असोज, काठमाडौं । रास्वपा सांसद डा. तोसिमा कार्कीले २०३५ सालको औषधि ऐनले २०८३ सालको वर्तमान अवस्थालाई सम्बोधन गर्न नसक्ने बताएकी छिन् ।

नेपाल औषधि थोक ब्यवसायी संघ (पीडान) केन्द्रीय समितिको १० औं वार्षिक साधारणसभालाई काठमाडौँमा शनिबार सम्बोधन गर्दै डा. कार्कीले समय सापेक्ष औषधि ऐनलाई परिमार्जन गरिनुपर्ने बताइन् ।

’२०३५ सालको औषधि ऐनले २०८३ सालको वर्तमान अवस्थालाई सम्बोधन गर्न सक्दैन, यो विषयमा सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्नु पर्छ,’ उनले भनिन् ।

उनले औषधिको गुणस्तर खस्कन नदिन औषधिको ‘चेन’ प्रणालीलाई नै ब्यवस्थित बनाउनु पर्नेमा समेत जोड दिइन् ।

‘समयमा उपभोक्ता तथा बिरामीसम्म औषधि पुग्नु पर्ने औषधि कहीँ थुप्रेर बसेको छ, कहीँ औषधि पाइँदैन, नपाइने ठाउँमा पनि औषधि पुग्नु पर्छ। त्यसो हुँदा औषधिको गुणस्तर पनि कायम रहन्छ । औषधि पुग्नु पर्ने ठाउँमा छिटो नपुग्दा गुणस्तर कायम नहुन सक्छ, त्यसका लागि औषधिको चेन प्रणालीमा सुधार गर्नुपर्छ,’ उनले भनिन् ।

रास्वपाका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित सांसद डा. कार्कीले औषधिको सप्लाइ चेनलाई नै सुधार गर्दा धेरै समस्या समाधान हुने पनि अपेक्षा गरिन् ।

‘औषधिको सप्लाइ चेनलाई कहाँकहाँ सुधार गर्नु पर्छ त्यसका लागि छलफल गरौं, बरु त्यसको आयोजना म आफैँ गर्छु, तपाइँहरुलाई पनि बोलाउछु, छलफल गरौं, अहिले त्यसलाई विधेयकका रुपमा अगाडि लैजाने हो भने पनि म तयार छु,’ उनले भनिन् ।

उनले जबर्जस्ति माग भन्दा बढी औषधि थुपार्ने प्रवृत्तिलाई पनि रोक्नु पर्ने बताउँदै छिटो एक्स्पायर हुन जाने औषधिलाई सदुपयोग कसरी गर्ने भन्ने विषयलाई पनि  समयमा नै ध्यान दिइनु पर्ने र त्यसमा औषधि ब्यवस्था बिभागले आफ्नो भूमिकालाई पनि प्रभावकारी रुपमा देखाउनु पर्ने बताइन् ।

औषधि थोक ब्यवसायी संघका अध्यक्ष गणेश नेपालले औषधि ब्यवसायीका विषयमा पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको बताए ।

उनले नयाँ नीति नबनेसम्म नेपालको औषधि बजारको अवस्था सहज नहुने हुँदा सरकारले ध्यान दिनु पर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले बिरामीलाईसमेत सहज रुपमा सस्तो मुल्यमा गुणस्तरीय औषधि उपलब्ध गराइनु पर्नेमा पनि जोड दिए ।

संघका संस्थापक अध्यक्ष शिराज बाँस्कोटाले सरकारले नीति नियम बनाउँदै गर्दा भोलिका दिनमा आउने समस्यालाई समेत ख्याल गरेर अघि बढ्न आग्रह गरे ।

उनले अबको औषधि नीति बनाइँदा थोक ब्यवसायीको भूमिका पनि स्पष्ट गरिदिन उनले माग गरे ।

‘औषधि ऐन बन्दै गर्दा हाम्रो भूमिका के हो प्रष्ट पारिदिनु होला, ३५ वर्ष पुरानो औषधि ऐनमा प्रश्न छ,’ उनले भने ।

एकै व्यवसायीले धेरै ठाउँमा ब्यवसाय दर्ता गर्न धाउनु पर्ने अवस्था रहेको बताउँदै उनले धेरै ठाउँमा कर तिर्नु पर्ने बाध्यताले ब्यवसायी हैरान भएको हुँदा कर करले मात्र नभइ रहरले तिर्ने ब्यवस्था बनाइदिन पनि आग्रह गरे ।

संस्थापक अध्यक्ष बाँस्कोटाले औषधि ब्यवस्था विभागको संरचना अहिलेकै संरचना अनुसार अघि बढ्न नसक्ने बताउँदै कमजोर बनेको विभागमा वरिष्ठ सचिवको दरवन्दी कायम गरेर बिभागलाई बलियो बनाउनु पर्ने विकल्प पनि देखाए ।

त्यसका लागि विशिष्ट श्रेणीको सचिवलाई नेतृत्व दिइनु पर्ने उनको धारणा थियो ।

कार्यक्रममा नेपाल औषधि आयातकर्ता संघ (मीयान) का महासचिव मधु पौडेलले सबै कुरा राम्रो हुँदा सबैको साथ हुने असहज अवस्थामा एक्लै लड्नु पर्ने अवस्था औषधि क्षेत्रले भोग्दै आएको बताए ।

उनले एउटा मात्र ‘चेन’ले गर्दा औषधिमा समस्या हुँदा असर नपर्ने भन्दै समग्रतामा समस्या हुँदा असर पर्ने उल्लेख गरे ।

औषधि उत्पादन गर्दा वा आयात गर्दा मात्र बिरामीको हातमा नपुग्ने बताउँदै बिचका तहले पनि त्यसको गुणस्तरीयता कायम गर्दै बिरामीसम्म पुर्‍याउन आवश्यक हुने उनको भनाइ थियो ।

यसैगरी पीडानका लुम्बिनी प्रदेश उपाध्यक्ष तुफानबाबु श्रेष्ठले सुपथ मुल्यमा बिरामीले गुणस्तरीय औषधि पाउनु पर्ने बताए । त्यसका लागि औषधिको सम्पुर्ण ब्यवस्थापकीय निकाय नै सुदृढ हुनु पर्ने अनि मात्र औषधि ब्यवसाय मर्यादित हुन सक्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?