+
+
Shares

रास्वपामा सोबिताको छलाङ, तोसिमालाई ब्रेक

महाधिवेशन प्रतिनिधिले यस पटक सोबितालाई जिताए भने तोसिमाको राजनीतिक छलाङमा ब्रेक लगाइदिए ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८३ असार १२ गते १९:२४

१२ असार, काठमाडौं । सोबिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो निर्वाचित महिला उपसभापति बनेकी छन् । यो पदमा गौतम र डा. तोसिमा कार्की उम्मेदवार थिए । ७८९ मत ल्याएर सोबिताले चुनाव जित्दा तोसिमाले ५७२ मत प्राप्त गरिन् ।

योसँगै सोबिताले शक्तिशाली पार्टीको पहिलो निर्वाचित महिला उपसभापति भएर इतिहास रचिन् । डा. तोसिमा भने उपविजेतामा सीमित रहिन् ।

यी दुवै नेता वैकल्पिक धारको वकालत गर्दागर्दै रास्वपामार्फत पछिल्ला केही वर्षमै नेपाली राजनीतिमा तीव्र गतिले उदाएका पात्र हुन् ।

२०५२ सालमा दोलखामा जन्मिएकी सोबिता रास्वपाकी संस्थापक सदस्य हुन् । विद्यार्थी जीवनदेखि नै नेतृत्व, सार्वजनिक बहस र सामाजिक मुद्दामा सक्रिय रहँदै आएकी उनी २०७९ सालमा रास्वपा स्थापना गर्नमै खटिएकी थिइन् ।

२०४६ सालमा ललितपुरमा जन्मिएकी तोसिमा पनि उस्तै प्रखर नेता हुन् । सुशासनको पक्षमा सडक संघर्षमा देखिँदै आएकी पात्र हुन् उनी । डा. गोविन्द केसीको आन्दोलनमा उनको सक्रिय भूमिका देखिन्थ्यो । तोसिमा रास्वपाकी संस्थापक सदस्य हुन् ।

यी दुई नेताको पृष्ठभूमि फरक छ, तर राजनीतिक उतारचढाव र शैलीमा समानता पाइन्छ । रास्वपाको प्रथम महाधिवेशनमा दुवै जना प्रथम उपसभापतिमा भिडे । महाधिवेशन प्रतिनिधिले यस पटक सोबितालाई जिताए भने तोसिमाको राजनीतिक छलाङमा ब्रेक लगाइदिए ।

सोबिता अधिवक्तासमेत हुन् । केही समय उनले नेपाल टेलिभिजनमा ‘स्वास्थ्य सरोकार’ नामक कार्यक्रमसमेत सञ्चालन गरेकी थिइन् ।

डा. तोसिमा चिकित्सक हुन् । ललितपुरको किस्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी डा. तोसिमा नेपाल मेडिकल काउन्सिलको जनरल शल्यचिकित्सक हुन् ।

यी दुवै जना अघिल्लो प्रतिनिधिसभामा सुनिएका आवाज हुन् । २०७९ साल असार ७ गते स्थापना भएको रास्वपा सोही वर्षको मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी भयो । सोबिताले काठमाडौं–२ बाट र तोसिमाले ललितपुर–३ बाट प्रत्यक्ष चुनाव जिते । तत्कालीन प्रतिनिधिसभामा रास्वपा चौथो दलको रूपमा रह्यो ।

कम उमेरमै प्रत्यक्ष चुनाव जितेका यी दुवै तत्कालीन संसद्मा प्रस्तुतिकै कारण थप परिचित भएका हुन् ।

पत्रकारिता र सामाजिक अभियानबाट राजनीतिमा प्रवेश गरेकी सोबिताले संसद्मा आक्रामक, स्पष्ट वक्ता र जनपक्षीय मुद्दा उठाउने नेताको छवि निर्माण गरिन् । महिला अधिकार, सुशासन, युवा सहभागिता र सामाजिक न्यायको विषयमा ज्यादा प्रश्न उठाइन् ।

प्रतिपक्षमा रहँदा सरकारलाई कडा प्रश्न गर्ने, भ्रष्टाचार र प्रशासनिक कमजोरीका विषयमा मुखर हुने उनको शैलीले पार्टीभित्र भूमिका प्राप्त गर्नसमेत मद्दत गर्‍यो । संसदीय जिम्मेवारीका अलावा उनी संगठन विस्तार र जनतासँग प्रत्यक्ष संवादमा पनि सक्रिय थिइन् ।

डा. तोसिमा पनि जनतासँग प्रत्यक्ष संवादमा उस्तै गरी जोडिइरहने नेता हुन् । जाजरकोट भूकम्पदेखि मनसुनजन्य प्राकृतिक विपद् बाढी–पहिरोले अप्ठ्यारोमा परेका ललितपुरका नागरिकलाई प्रत्यक्ष भेटेर समस्या सुनेर समाधानमा अग्रसरता लिने शैलीले तोसिमालाई भुईं तहका नागरिकको आवाज सुन्ने नेताको परिचय दिलाएको छ ।

संसद्मा पनि डा. तोसिमाले ज्यादा स्वास्थ्यका विषय उठाइन् । स्वास्थ्य क्षेत्रका बेथिति र सुधारका सुझाव, सुशासन, शिक्षामा उनको विशेष चासो रह्यो । उनले शान्त, तथ्यमा आधारित र नीतिमुखी नेताको राजनीतिक छवि निर्माण गरेकी छन् ।

२०७९ सालमा एकै पटक सांसद भएका सोबिता र तासिमामध्ये कार्यकारी भूमिकामा भने तोसिमा पहिले पुगिन् । ३ माघ २०७९ देखि २२ माघ सम्म १९ दिन उनी स्वास्थ्य राज्यमन्त्री बनिन् ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा सोबिता कानुन मन्त्री बन्ने चर्चा चल्यो । उपसभामुख बन्ने चर्चामा पनि रहिन् । तर अघिल्लो कार्यकालमा सोबिताले केवल विधायकी भूमिका मात्रै प्राप्त गरिन् ।

२१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोबिताले निर्वाचन क्षेत्र फेरिन् । काठमाडौं–२ छाडेर चितवन–३ गइन् । चुनाव जितेर आएपछि १३ चैत २०८२ मा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनिन् ।

डा. तोसिमा भने ललितपुर–३ बाटै उम्मेदवार बनिन् र जितिन् । अघिल्लो पटक संसद्मा २१ सिटसहित चौथो दलको रूपमा रहँदा गठबन्धनको सरकारमा केही दिन स्वास्थ्य राज्यमन्त्री बनेकी डा. तोसिमा यसपटक मन्त्रिपरिषद्मा अटाएकी छैनन् ।

रास्वपाका संसदीय दलका नेता बालेन शाह दुई सिट कम दुई तिहाइ बहुमतको एकल सरकारको नेतृत्व गरिरहेका छन् । यही बेला रास्वपाको प्रथम महाधिवेशन भएको हो ।

महाधिवेशनमार्फत पार्टीमा रास्वपाका संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन समूह हावी हुने प्रयासमा रहे । यस बाहेक पार्टीमा समायोजन भएर आएका पार्टी र समूहले समेत स्थान खोजे ।

गत २१ फागुनको निर्वाचन अगाडि रास्वपामा बालेन समूह मिसिएको हो । साझा विवेकशील पार्टी रास्वपामै समाहित भएको थियो । थरुहट/थारुवान अभियन्ताहरू रास्वपामा समाहित भएका थिए । खगेन्द्र सुनार नेतृत्वको दल रास्वपामै विलय भएको थियो । जेनजी अगुवाहरू पनि रास्वपामा जोडिएका थिए ।

सबैलाई मिलाउने प्रयास महाधिवेशनका क्रममा भयो । रास्वपाका ९९ केन्द्रीय सदस्य निर्वाचनबाट तय हुने विधानको व्यवस्था छ । बाँकी ५१ सदस्य सभापतिले मनोनीत गर्ने छन् ।

केन्द्रीय सदस्यमा सोबिता र तोसिमा उम्मेदवार भए र जिते । २६४१ मत पाउँदै सोबिता दोस्रो पपुलर मत प्राप्त गर्न सफल भइन् । तोसिमा भने २३०२ मत प्राप्त  गर्दै पपुलर मतमा पाँचौं स्थानमा रहिन् ।

सभापति र वरिष्ठ नेतामा सर्वसम्मत भए पनि पदाधिकारीमा भएन ।

केन्द्रीय सदस्यमा निर्वाचित व्यक्ति मात्रै पदाधिकारीको उम्मेदवार बन्न पाउने विधानको व्यवस्था छ । यसअनुसार पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन भयो । यसअघि रास्वपामा पदाधिकारी संख्या १२ थियो । यसपालि विधान संशोधन गरेर पदाधिकारीको संख्या १९ पु‍र्‍याइएको छ ।

नयाँ विधानअनुसार सभापति एक, वरिष्ठ नेता एक र उपसभापति तीन जना रहन्छन् । तीन जनामध्ये एक मनोनीत हुन्छन् । दुई पदमध्ये एक जना पुरुष सभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध भए । अर्को महिला उपसभापति पदमा सोबिता र डा. तोसिमाले दाबी नछाडेपछि निर्वाचन भएको हो ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?