+
+

५ वर्षअघि मृत्यु भएका व्यक्तिको नाम मतदाता सूचीमा

एसबी जेरो एसबी जेरो
२०७९ वैशाख १० गते १८:२२

१० वैशाख, ओखलढुंगा । सुनकोशी गाउँपालिका– १ बलखु आम्बोटका रत्नबहादुर राईको २७ मंसिर २०७४ मा मृत्यु भएको थियो । उनको परिवारले वडा कार्यालयमा गएर २० पुस २०७४ मा मृत्यु दर्ता गर्‍यो । तर निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उनको नाम कायम भएर आयो । सिनं ११२५ मतदाता नं. ०९६१३०७४ मा रत्नबहादुर राईको नाम निर्वाचन आयोगको सूचीमा छ ।

५ वर्ष अघि मृत्यु भएका व्यक्तिको नाम मतदाता नामावलीमा रहेको व्यहोरा जानकारी गराउँदा पनि अद्यावधिक नभएको रत्नबहादुरका छोरा दुर्गा जेरोले बताए । केही समय अघि नामावली हेरेर त्यो अद्यावधिक गर्नु भनेर सूचना दिएको भएपनि वडा र निर्वाचन कार्यालयले सुधार नगरेको जेरोको भनाइ छ ।

यस्तै बलखुकै युद्धबहादुर राईको मृत्यु भएको तीन वर्ष जति भयो । ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने व्यक्तिको सूचीमा उनको पनि नाम छ । सि.नं. १०९७ मतदाता नं. ०९६१३०९४ मा उनको नाम कायम छ ।

मृत्यु भएको व्यक्तिको मात्रै होइन, गाउँमै नभएका मानिसको नाम पनि मतदाता नामावलीमा कायम भएको भेटियो । मतदाता नामावलीको १५१४०३२६ नम्बरमा सुनकोशी गाउँपालिका– १ मा चन्द्रबहादुर गुरुङको नाम कायम भएर आएको छ । तर, चन्द्रबहादुर गुरुङ नाम गरेको मानिस उक्त वडामा कोही पनि छैन । स्थानीय हविन्द्र राईका भनाइमा उक्त नाम गरेको व्यक्ति करिब एक दशक अघि बलखु गाउँबाट सिद्धिचरण नगरपालिका– ४ रुम्जाटार बसाइ सरेका थिए । तर अहिलेसम्म पनि उनको नाम यहाँको मतदाता नामावलीमा कायमै छ ।

जिल्लाका ८ वटै स्थानीय तहमा मृत्यु भएर मृत्यु दर्ता समेत गरेका धेरैजसोको मानिसको नाम मतदाता नामावलीमा समावेश भएको भेटिएको छ ।

२०७४ को निर्वाचनमा मतदान गरेका जिल्लाका ३५७ जनाको मृत्यु भएको व्यहोरा सहित कार्यालयले हटाएको थियो । स्थानीय तहको समन्वयमा विवरण माग गरेर ३५७ जनाको नाम हटाएपनि समय अभावले अरुको अद्यावधिक गर्न नसकिएको ओखलढुंगाका जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले बताए । ‘अद्यावधिक गर्ने समय जम्मा दुई दिनको थियो । त्यो पर्याप्त भएन’ निर्वाचन अधिकारी न्यौपानेले भने ।

‘मृत्यु भएका, त्यसमा पनि सरकारी अभिलेखमा मृत्यु दर्ता समेत जनिएका व्यक्तिको नाम मतदाता नामावलीमा समावेश हुनु गम्भीर लापरबाही हो,’ नेपाल पत्रकार महासंघ ओखलढुगां शाखाका सचिव तथा नागरिक अगुवा पूर्णप्रसाद न्यौपाने भन्छन्, ‘मृतक व्यक्तिको नाममा कसैले मतदान गरेमा निर्वाचनको निस्पक्षतामै प्रश्न उठ्छ । यसमा आयोग गम्भीर हुनुपर्छ ।’

ओखलढुंगामा मतदाताको संख्या एक लाख १७ हजार ८५ कायम भएको छ । जिल्लामा पुरुष मतदाता ५९ हजार १ सय ६२ रहेकोमा महिला मतदाता ५७ हजार ९ सय २२ छन् । जिल्लामा महिला मतदाता भन्दा पुरुष मतदाताको संख्या १२ सय ४० ले बढि छ । जिल्लामा अन्य (तेस्रोलिङ्गी) बाट एक जना मतदाता रहेको आयोगको सूचनामा उल्लेख छ ।

अन्तिम मतदाता नामावली अनुसार जिल्लाको सिद्धिचरण नगरपालिकामा सबैभन्दा धेरै २० हजार ७ सय ९० र सबैभन्दा कम चिशंखुगढी गाउँपालिकामा ११ हजार ६ सय २० मतदाता छन् । यस्तै मानेभञ्ज्याङ गाउँपालिकामा १५ हजार ३ सय ९०, सुनकोशी गाउँपालिकामा १५ हजार ३ सय ४२ र चम्पादेवी गाउँपालिकामा १५ हजार ४७ मतदाता छन् ।

त्यसैगरी लिखु गाउँपालिकामा १३ हजार ४ सय ११, मोलुङमा १३ हजार १ सय ७ र खिजीदेम्वा गाउँपालिकामा १२ हजार २ सय ९८ जना मतदाता छन् । जिल्ल्लामा मतदान स्थल ७९ वटा छन् । खिजीदेम्बा ६ महभिरमा एउटा मतदान स्थल थप गरेर ७९ वटा बनाईएको हो । यसअघि जिल्लामा ७८ वटा मतदानस्थल थिए । मतदान केन्द्रको संस्या १५० छ । जसमा सिद्धीचरण नगरपालिकामा सबैभन्दा धेरै १४ मतदान स्थल र २५ मतदान केन्द्र छन् । २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा कुल मतदाता संख्या ९१ हजार ५ सय ८ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?