११ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैंले करोड बढीको सेयर खरिद गरेर राखेको पाइएको छ । गभर्नर अधिकारीले आजका मितिमा पनि करिब ४ करोड रुपैयाँ बराबरको सेयर राखेका छन् ।
राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय हो । आफैं नियामक भएर आफैंले सेयर खरिद बिक्री गर्दा स्वार्थ बाझिने भए पनि गभर्नर अधिकारीले सेयर कारोबार गर्ने गरेको पाइएको हो ।
गभर्नर अधिकारीले आफ्नै नाममा, श्रीमती सरिता अधिकारी पोखरेलको नाममा, छोरा सौगात अधिकारी र छोरी महिमा अधिकारीको नामबाट सेयर खरिद बिक्री गर्ने गरेका छन् । उनले आफ्नो घर परिवारको नाममा मात्रै ३ करोड ८४ लाख हाराहारीको सेयर खरिद गरेर राखेका छन् ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधनसहित) मा भएको व्यवस्था अनुसार राष्ट्र बैंंकका कर्मचारीले आफ्नो सेवा अवधिभर आफ्नो नाममा वा श्रीमान्/श्रीमती र अठार वर्ष नपुगेका छोरा छोरीको नाममा इजाजतप्राप्त कुनै बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्न हुँदैन ।
सोही विनियमावलीमा कुनै बैंक तथा वित्तीय संस्थाको शेयर दोस्रो बजारबाट खरिद गर्न नहुने समेत स्पष्ट लेखिएको छ । यसको प्रतिकूल हुने गरी गभर्नर अधिकारी आफैंले र आफ्ना घरपरिवारका नाममा सेयर खरिद गरेका छन् ।
तत्कालीन गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको पालामा राष्ट्र बैंकका गभर्नर वा अन्य कर्मचारीले बैंकहरुको सेयर किन्नै नमिल्ने व्यवस्था गरिएको थियो । क्षेत्रीले अवकास पाएपछि त्यसलाई हटाएर अठार वर्ष नपुगेका छोरा छोरीको नाममा र आफू पदमा बहाल हुँदामात्रै इजाजतप्राप्त कुनै बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्न नपाउने व्यवस्था गरियो ।
गभर्नर अधिकारीले पनि नियममा भएको लुपहोल खोज्दै दोस्रो बजारबाटै धमाधम सेयर उठाउने गरेका हुन् । राष्ट्र बैंकबाट अवकास पाएको केही वर्षमात्रै गभर्नर अधिकारी लगानी बोर्डको सीईओको रुपमा नियुक्त भए । २०७७ चैतमा गभर्नर नियुक्त भएका अधिकारीले गभर्नर नियुक्त हुनु केही समय अघिमात्रै सेयर आफ्नै नाममा खरिद गरेका थिए ।
दोस्रो बजारबाटै उठाउँथे सेयर
गभर्नर अधिकारीले साधारण सेयर आईपीओ भरेर पाएको सेयर समेत छ । तर त्यो भन्दा धेरै उनले सिधै दोस्रो बजारबाट समेत सेयर उठाउने गरेको पाइएको छ । राष्ट्र बैंकमा लामो समय जागिर खाएर डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीलाई तत्कालिन नेकपा एमाले नेतृत्वको सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
स्नातकोत्तरसम्मको अध्ययन पूरा नगरेको भनेर अधिकारी विरुद्ध त्यसबेला योग्यताको विषयमा सर्वोच्चमा मुद्दा समेत परेको थियो ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत छँदै उनले विभिन्न बैंकहरुको सेयर दोस्रो बजारबाट किन्ने गरेको पाइएको छ । उनले आफ्नो सम्पत्ति विवरण बुझाउने क्रममा नै नविल बैंक, हिमालयन बैंक, सनराइज बैंक लगायतका कम्पनीहरुको सेयर दोस्रो बजारबाटै उठाउने गरेको स्वीकार गरेका छन् ।
उनले धेरैजसो सेयर आफ्नो नाममा भन्दा श्रीमती र छोरा–छोरीका नामबाट खरिद बिक्री गर्ने गरेका छन् । गभर्नरमा नियुक्त भइसकेपछि भने उनले नजिकका नातेदारहरुलाई सूचना चुहाएर समेत सेयर खरिद गर्न लगाएको राष्ट्र बैंक निकट स्रोत बताउँछ ।
कहाँ कति छ सेयर ?
गभर्नर अधिकारीले आफ्नो नाममा ५ वटा औद्योगिक संस्थाहरुको सेयर राखेका छन् भने श्रीमती, छोरा र छोरीको नाममा नविल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक तथा प्रिमियर इन्स्योरेन्स लगायतका कम्पनीको २७ हजार १८४ कित्ता सेयर किनेको बताएका छन् ।
यी कम्पनीहरुको सेयर खरिद गर्दा ४८ लाख ३७ हजार ३९० रुपैयाँ आफूले खर्चिएको गभर्नर अधिकारीले बताएका छन् । तर अहिले यी कम्पनीहरुको सेयर मूल्य करिब ३ करोड रुपैयाँ पुगेको छ । गभर्नर अधिकारीले आफ्नो र श्रीमती सरिताको नाममा नबिल ब्यालेन्स फण्ड–२ को १ लाख ८० हजार कित्ता सेयर समेत किनेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् ।
यसैगरी गभर्नर अधिकारीले परिवारका सदस्यहरुको नाममा चिलिमे हाइङ«ोपावर, एचआईडीसीएल, सानिमा माई र माथिल्लो तामाकोशीको मात्रै २७ हजार ९२९ कित्ता सेयर खरिद गरेका छन् । अहिलेको बजार मूल्य अनुसार डेढ करोड रुपैयाँ हाराहारीमा पर्ने यो सेयर गभर्नर अधिकारीले आफूले दोस्रो बजारबाटै किनेको स्वीकार गरेका छन् । आफैं नियामक निकायमा बसेर यसरी दोस्रो बजारबाट सेयर उठाउनु नियम संगत होइन ।
यतिमात्रै होइन उनले मध्य तमोरको सेयर किन्न ५० लाख रुपैयाँ एडभान्स दिएको समेत सम्पति विवरणमा उल्लेख गरेका छन् । यसरी दोस्रो बजारबाट सेयर किन्ने गरेका अधिकारीले पछिल्लो समय सेयर बजारमा कडाइको नीति लिएका छन् । उनले मौद्रिक नीतिबाटै सेयर धितोमा जाने कर्जामा ४/१२ को क्याप लगाएका छन् ।
गभर्नर अधिकारी सेयरधनी रहेका केही कम्पनीहरु
१. नबिल बैंक
२. एभरेष्ट बैंक
३. बैंक अफ काठमाण्डु
४. हिमालयन बैंक
५. मेगा बैंक
६. ग्लोबल आइएमई बैंक
७. एनआईशी एशिया बैंक
८. नबिल ब्यालेन्स फण्ड–२
९. सिद्धार्थ बैंक
१०. माथिल्लो तामाकोशी हाइड्रोपावर
११. प्रिमियर इन्स्योरेन्स
१२. एचआईडिसिएल
१३. मेरो माइक्रोफाइनान्स
१४. चिलिमे हाइड्रोपावर
१५. नविल ब्यालेन्स फण्ड–३
१६. सानिमा माई हाइड्रो
१७. एनएमबि बैंक
१८ नेपाल इन्भेष्टमेन्ट बैंक
१९ नागरिक लगानी कोष
२०. सनराइज बैंक
२१. हरिसिद्धी इट्टा उद्योग
२२. ज्योति स्पिनिङ मिल
इन्साइडर ट्रेडिङको खतरा
यसअघि नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्म ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर अमेरिकामा रहेकी विवाहित छोरीको नाममा खरिद गरेका थिए । राष्ट्र बैंक बैंकिङ क्षेत्रको नियामक निकाय हो भने बोर्ड पुँजी बजार क्षेत्रको नियामक निकाय हो ।
बोर्ड अध्यक्षले भित्री सूचनाको आधारमा विवाहित छोरीको नाममा सेयर किनाएको भन्दै चर्को आलोचना भयो । त्यसपछि सरकारले उनलाई हटाउने निर्णय गरेको थियो । बोर्ड अध्यक्ष र गभर्नरको भूमिका फरक हो । तर बैंकिङ क्षेत्रको सर्वोच्च नियामक निकायका प्रमुखले यसरी दोस्रो बजारबाट सेयर उठाउँदा स्वार्थ बाझिने जानकारहरु बताउछन् ।
पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री स्वार्थ बाझिने क्षेत्रमा राष्ट्र बैंकका कुनै पनि कर्मचारीहरुले लगानी गर्न नहुने बताउँछन् । आफ्नो पालामा नियमावली नै बनाएर व्यवस्थित गर्न खोजेपनि पछि त्यसलाई हटाएर सहज बनाइएको उनले बताए । यसले भित्री सूचनाको आधारमा कारोबार (इन्साइडर ट्रेडिङ) को खतरा रहेको उनले बताए ।
नेपाल धितोपत्र ऐनले इन्साइडर ट्रेडिङलाई गैरकानूनी र कसुरजन्य भनेको छ । यस्तो कारोबार गर्ने कुनैपनि व्यक्तिलाई जेल सजायसम्म हुने ऐनमा व्यवस्था छ । स्वार्थ बाझिने कुनैपनि व्यक्तिले यसरी सेयर खरिद गरेमा इन्साइडर ट्रेडिङ हुने भन्दै पदमा बस्नेले सेयर खरिद गर्न नहुने पूर्व गभर्नर क्षेत्रीले बताए । ‘पदमा नहुँदा सेयर किन्न नपाइने होइन, पाइन्छ, तर पदमा हुँदा पनि धेरै कम्पनीको जोसुकै कर्मचारीहरुले सेयर राख्दा इन्साइडर ट्रेडिङ हुनसक्छ, स्वार्थ बाझिनसक्छ, स्वार्थ बाझिने गरी लगानी गर्नु हुँदैन’ उनले भने ।
जग्गामा पनि लगानी
गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । खोटाङ जिल्लाको खोटेहाङ स्थायी घर भएका गभर्नर अधिकारीले आफ्नो सम्पत्ति विवरण बुझाउँदा झापाको ५ ठाउँमा ४० विगाहा भन्दा धेरै जग्गा तथा काठमाडौं उपत्यकाको ललितपुरमा पनि ५ ठाउँमा ५८ रोपनी भन्दा धेरै जग्गा रहेको उल्लेख गरेका छन् ।
गभर्नर अधिकारीले हेटौंडा उपमहानगरपालिकामा समेत घडेरी जोडेको बताएका छन् । उनले यी सबै सम्पत्ति आफ्नो श्रीमती सरिताका नाममा राखेका छन् । ललितपुरमा २२ सय वर्गफिटमा फैलिएको भवनमा गभर्नर अधिकारी अहिले बसोबास गर्ने गरेका छन् ।
                    
                                    
                
                
                
                
                
        
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4