
११ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट आयात बन्दको अग्रिम सूचना लिएर कन्टिनेन्टल मोटर्स गैह्रीधाराले साढे ३६ करोड रुपैयाँ बराबरको थप २३५ थान गाडी आयातका लागि अनुमति पाएको खुलेको छ ।
योसँगै कोरियन कम्पनी कियाको नेपाली बिक्रेता कन्टिनेन्टल मोटर्स इन्टरप्राइजेजले राष्ट्र बैंकबाट अग्रिम सूचना चुहिएपछि आयात अनुमति पाएको सवारी साधनको संख्या ८६५ पुगेको छ । यसअघि कन्टिनेन्टलले चैत ११ र १७ गते ६३० थान कार आयातको एलसी (प्रतीतपत्र) खोलेको थियो ।
आयात बन्द गर्ने वस्तुहरुको सूची सुझावको रुपमा अर्थ मन्त्रालयमा राष्ट्र बैंकले बुझाएकै दिन यो कम्पनीले ३७ करोड मूल्य भन्दा बढीको इसुजु ब्राण्डको हाइल्याण्डर* पिकअप गाडीको एलसी खोलेको हो ।
नेपाल बैंकबाट जारी एलबीएल २२८४०० एलसी नम्बरबाट एस क्याब एचआचर डबल क्याब हाइल्याण्डर पिकअप ७५ थान र भी क्रस हाइल्याण्डर १६० थानका लागि एलसी खुलेको अनलाइनखबरलाई प्राप्त कागजातमा देखिन्छ ।
एस क्याब एचआचर डबल क्याब हाइल्याण्डर ७५ थानका लागि ६ करोड १६ लाख ५० हजार भारतीय रुपैयाँ र र भी क्रस हाइल्याण्डर १६० थान गाडीका लागि १६ करोड ६७ लाख २० हजार भारुमा एलसी खोलिएको छ ।
प्रतीत पत्रको कूल रकम २२ करोड ८३ लाख ७० हजार रुपैयाँ भारु अर्थात ३६ करोड ५३ लाख ९२ हजार रुपैयाँ नेपाली हुन्छ । प्रतीतपत्र खोलिएका गाडीको नेपाल आयातको सिपमेन्ट जेठ १९ गतेबाट सुरु हुने छ ।
कन्टिनेन्टल इन्टरप्राइजेज प्रालिका सञ्चालकद्वय सुहृद घिमिरे र पुरुषोत्तम पौड्याल अफसोर लगानी र बालुवाटार जग्गा प्रकरणमा संलग्न विवादित व्यापारी हुन् ।
(*समाचारमा यसअघि हाइल्याण्डर पिकअप हुनुपर्नेमा हायलक्स उल्लेख भएकाले सच्याइएको छ । सं.)
तस्वीर : चन्द्र आले
प्रतिक्रिया 4