+
+

ओलीलाई खानेपानीमन्त्रीको जवाफ : विदेशी हैन, अब मेलम्चीकै शुद्ध पानी पिउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १२:४४

११ वैशाख, काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई मेलम्चीको पानी पिउन आग्रह गरेका छन् । एक कार्यक्रमका बीच काठमाडौंमा मेलम्चीको पानी वितरणको शुभारम्भ गर्दै मन्त्री चौधरीले प्रतिपक्षी दलका अध्यक्ष ओलीले मेलम्चीबारे झुठो र कपोकल्पित कुरा गरेको आरोप लगाए ।

शुक्रबार स्थानीय तह चुनावका लागि घोषणापत्र सार्वजनिक गर्दै ओलीले आफ्नै बाचाअनुसार चैतभित्र मेलम्चीको पानी काठमाडौं खसाल्न नसकेको भन्दै गठबन्धन सरकारको आलोचना गरेका थिए ।
सरकारले वर्षामा बाढी पसेपछि पानी होइन, भल टनेलमार्फत काठमाडौंमा खसाल्ने उनले बताएका थिए । ‘यिनीहरुले त्यतिबेला पानी ल्याउछँन्, जतिबेला त्यहाँ भल पस्छ । मेलम्चीको टनेलबाट बाढी पसाउँछन् । भल पसेपछि फेरि बनाउँछु भन्छ र फेरि बनाउनका लागि २/३ वर्ष लगाउँछन्, २/४ अर्ब खान्छन्,’ उनले भनेका थिए ।

त्यसकै जवाफमा मन्त्री चौधरीले ओलीलाई मेलम्चीको शुद्ध पानी शुद्ध छ कि अशुद्ध छ अनुभव लिनका लागि पिउन आग्रह गरे ।

‘पूर्वप्रधानमन्त्री ओलीज्यूलाई सुन्दरीजलमा रहेको टि्रटमेन्ट प्लान्टबाट शुद्ध गरी काठमाडौंबासीको घर-घरमा जोडिएको पाइपबाट आएको मेलम्चीको पानी पिउन आग्रह गर्न चाहान्छु । म त यही धर्तीको पानी खाँदै आएको छु,’ मन्त्री चौधरीले भने,’तर उहाँ सायद विदेशबाट मगाएर पानी पिउनु हुन्छ कि ? कहाँको पानी पिउनु हुन्छ मलाई थाहा छैन, मेलम्चीको पानी शुद्ध छ । गुणस्तरीय छ कि यो बाढीको छ भन्ने अनुभव लिनको लागि पनि एक पटक पानी पिउनको लागि उहाँलाई आग्रह गर्न म चाहान्छु,’ मन्त्री चौधरीले अघि भने ।’उनले  खानेपानीको नाममा राजनीति नगर्न आग्रह गरे ।

असार १ गते मेलम्ची नदीमा आएको बाढीले मेलम्चीे खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो । मेलम्ची खानेपानीको पुनः वितरण सुरु भएसँगै अब प्रतिदिन १७ करोड लिटर खानेपानी उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ ।

खानेपानी पुनः वितरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दीर्घकालिन सञ्चालनको लागि एसियाली बिकास बैंकले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण र त्यसको कारण र स्थायी समस्या समाधानका उपायका लागि अध्ययन गरेकाले प्रतिवेदन तयार भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताए ।

उनले वर्षायाममा मेलम्ची नदीमा बाढी आएमा पूर्व सुचना दिनका लागि ‘अर्ली एलर्ट मेसिन’ जडान गरिएको बताए । मन्त्री चौधरीले मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई व्यवस्थापन गर्नका लागि मन्त्रालयमा सचिवको संयोजकत्वमा समन्वय समिति गठन गरेको बताए । उनले वषर्ायाममा मेलम्चीको पानीको विकल्पको रुपमा बाग्मती नदीको पानि शुद्धिकरण गरी ल्याउने प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?