+
+

गठबन्धनमा एकीकृत समाजवादी : केन्द्रमा प्राथमिकता, जिल्लामा बेवास्ता

रामकुमार डिसी रामकुमार डिसी
२०७९ वैशाख ११ गते १९:०५
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ।

११ वैशाख, काठमाडौं । सत्तारुढ दलहरुबीचको भागवण्डामा महानगरपालिकामा एक प्रमुख र एक उपप्रमुख तथा उपमहानगरपालिकामा एक प्रमुख र तीन उपप्रमुखको उम्मेदवार पाएपछि नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले अध्यक्ष माधव नेपालको प्रशंसा गरे ।

‘माधव नेपाल जत्तिको कुशल राजनीतिक खेलाडी कोही रहेनछ,’ भागबन्डाबाट उत्साहित चौधरीले भनेका थिए, ‘मैले मेरो अध्यक्ष भएर भनेको होइन, आजको सहमतिबाट मलाई खास त्यस्तै लाग्यो ।’

सत्ता गठबन्धनबीच लगातार दुई दिन बालुवाटारमा वार्ता भएर ७ वैशाखमा भएको सहमतिमा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुख, काठमाडौं महानगरको उपप्रमुख, हेटौंडा उपमहानगरको प्रमुखको उम्मेदवार पाएको थियो । त्यस्तै इटहरी, तुलसीपुर र बुटवल उपमहानगरको उपप्रमुखको उम्मेदवार पनि पाएको थियो ।

सत्ता गठबन्धनबीच केन्द्रमा एकीकृत समाजवादीले पाएको हिस्सा माओवादी केन्द्रकै जत्तिको हो । यसमा निश्चय पनि माधव नेपालको नेतृत्व र ‘प्रेसर’ले काम गरेको छ । तर, सत्ता गठबन्धनबीच जिल्ला–जिल्लामा भागबन्डाको अवस्था त्यस्तो छैन । धेरै ठाउँमा कांग्रेस र माओवादी केन्द्र मात्रै मिलेर अघि बढेपछि एकीकृत समाजवादीले आफूलाई उपेक्षा गरेको महसुस गरेको छ ।

जिल्लामा उपेक्षा !

ललितपुरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले मात्र पालिकाहरुको भागवण्डा गरे । त्यसबाट आक्रोशित भएको एकीकृत समाजवादीले ललितपुर महानगरमा सत्तारूढ गठबन्धनको भागबन्डा विपरीत प्रमुख र उप्रमुखमा उम्मेदवार घोषणा गरेको छ ।

प्रमुखमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय एकीकृत समाजवादीको छ । सत्ता गठबन्धनबीच महानगरमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले लिने सहमति भएको भए पनि एकीकृत समाजवादीको निर्णयले गठबन्धन तोडिएको छ ।

जिल्ला जिल्लामा यस्ता धेरै उदाहरण छन्, जहाँ कांग्रेस र माओवादीले मात्रै तालमेलको सहमति गरेका छन् । सायद यही अवस्थालाई हेरेर हो, एकीकृत समाजवादीका अध्यक्ष नेपालले जिल्ला–जिल्लाको अवस्था आशावादी र उत्साहित हुने खालको नभएको टिप्पणी गरेका थिए ।

‘तल जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी र उत्साही हुने अवस्था छैन,’ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शनिबार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भनेका थिए, ‘देशैभर हाम्रो पार्टीको सञ्जाल छ । न्यूनतम कम्तीमा पनि एउटा पालिका हामीले पाउनुपर्छ भन्ने हो । एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक रहन्छ तर यहाँ गडबड गर्न खोजिएको छ ।’

जिल्ला जिल्लामा खटिएका एकीकृत समाजवादीका नेताहरु पनि उत्साहजनक अवस्था नभएको बताउँछन् । पोखरा महानगरको मेयरमा सिफारिस भए पनि उम्मेदवार बन्न नसकेकी पोलिटब्यूरो सदस्य दिलु पन्त महानगरको प्रमुख आफूहरुले पाए पनि वडा बाँडफाँटमा अवस्था सन्तोषजनक नभएको बताउँछिन् ।

‘यहाँको महानगरको वडा र पालिकाहरुमा सन्तोषजनक प्रस्ताव छैन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘गठबन्धनको मर्म कांग्रेस र माओवादीले पनि बुझ्नु पर्‍यो । हामीले पनि सबै ठाउँमा न्यायोचित उपस्थिति पाउनुपर्‍यो नि ।’ महानगरको वडामा तालमेलका लागि नेपाली कांग्रसले वास्ता नगरेको गुनासो पन्तको छ ।

आफ्नो गृह जिल्ला उदयपुरमा तालमेलका लागि खटिएका उपमहासचिव जगन्नाथ खतिवडाले जिल्लामा आंशिक रुपमै मात्र तालमेलको सम्भावना रहेको जानकारी दिए । ‘म आफ्नै जिल्ला उदयपुर खटिरहेको छु,’ खतिवडाले भने, ‘यहाँ आंशिक प्रकारको गठबन्धन मात्रै छ । माओवादी र कांग्रेस मिलेर हाम्रो घाँटी रेट्ने गठबन्धन छ अहिले ।’

उनले थपे, ‘हामीलाई मज्जा पनि लागेको छ। उहाँहरुका लागि चुनौती रहेछौं भन्ने भित्र भित्रै हामीलाई पनि लागेको छ । उदयपुरमा अधिकांश स्थानमा प्रतिस्पर्धामा जाने भयो ।’

सुदूरपश्चिम इन्चार्ज गरिमा शाह पनि जिल्ला–जिल्लामा चित्त बुझ्दो अवस्था नभएको बताउँछिन् । उनका अनुसार प्रदेशभर बझाङमा मात्रै सत्ता गठबन्धनकाबीच मिलेर प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

उनका अनुसार दार्चुलामा कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई उपेक्षा गरेर तालमेलको सहमति गरेका छन् । कञ्चनपुरमा भने माओवादी र एकीकृत समाजवादी मिलेर जाने कुरा भइरहेको शाहको भनाइ छ ।

‘कैलालीमा खाए खा, नखाए घिच भने जस्तै भएको छ,’ उनले भनिन्, ‘उनीहरुले दुईवटा प्रमुख र एकवटा उपप्रमुख लिने भए लिनुहोस्, नत्र अगाडि बढ्छौं भनिराखेका छन् । हामीले त्यो कुरा मानेका छैनौं ।’

आफूहरुलाई पन्छाउने कोशिस भइरहेको दाबी गर्दै उनी यो गठबन्धनको मर्म विपरीत भएको बताउँछिन्। ‘गठबन्धनको भावना र मर्म विपरीत काम भइरहेको छ’, शाहको गुनासो छ, ‘हामीलाई ‘साइड’ लगाउने जुन काम भइरहेको छ। यो एकदमै राजनीतिक बेइमानी हो ।’

प्रदेश १ का उपाध्यक्ष धर्मराज निरौला गठबन्धनबीच तालमेलको अवस्था सन्तोषजनक नभएको बताउँछन् । प्रदेशका धेरै पालिकामा गठबन्धनबीच तालमेल नटुंगिएको उनको भनाइ छ ।

‘कतै दुई पक्षीय, कतै त्रिपक्षीय गठबन्धन भएको छ,’ निरौलाले भने, ‘हामी परिक्षित भइनसकेको पार्टी पर्‍यौं । यद्यपि हामीले एमालेको लिगेसी बोक्छौं । तर, त्यसको सम्मान गठबन्धन दलले गर्न सकेनन् ।’

निरौलाको धेरै गुनासो भने माओवादी केन्द्रप्रति छन् । ‘अहिले हामी जुन ट्रेन्डमा गइरहेका छौं, यो ट्रेन्डले एकीकृत समाजवादी अघि बढ्यो भने माओवादीलाई हामी वाम आन्दोलनको नेता हुँदैनौं भन्ने भित्री डर छ,’ उनको भनाइ छ, ‘त्यो भावनाले अभिप्रेरित भएर उनीहरु बसिरहेका छन् ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?