+
+

कर्णालीका ८ जिल्लामा सत्तारुढ गठबन्धनले टुंग्यायो भागवण्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १६:४७

१२ वैशाख, सुर्खेत । सत्तारुढ गठबन्धनले कर्णाली प्रदेशका आठ जिल्लमा भागवण्डा टुंगो लगाएको छ ।

स्थानीय तहको नेतृत्व भागवण्डा टुङ्गयाउन बिहीबारदेखि जारी गठबन्धनको बैठकले सोमबार दिउँसोसम्म आठ जिल्लाका स्थानीय तहमा भागवण्डा टुंगो लगाएको हो ।

सुर्खेत र रुकुम (पश्चिम) बाहेक आठ जिल्लाका ६४ पालिकाको नेतृत्व बाँडफाँटमा टुंगो लागेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।

‘सुर्खेत र रुकुम पश्चिममा सहमति जुट्न सकेको छैन्, अहिलेसम्म आठ जिल्ला टुंगो लागेको छ । बाँकी दुई जिल्लाको नेतृत्व बाँडफाँटमा सहमति जुट्न सकेन । अब जिल्लालाई नै जिम्मेवादी दिने तयारीमा छौं’ अध्यक्ष केसीले अनलाइनखबरसँग भनिन् ।

गठबन्धनले टुंगो लगाएका आठ जिल्लाको विवरण अनुसार माओवादी केन्द्रले प्रमुख÷उपप्रमुख गरी ५१, कांग्रेसले ४७ र एकीकृत समाजवादीले २९ वटा पद पाउने भएको छ ।

जाजरकोटमा माओवादी केन्द्र र कांग्रेसले प्रमुख/उपप्रमुखमा ३/३ र समाजवादीले एक प्रमुख र एक उपप्रमुख पाएको छ । डोल्पामा माओवादी केन्द्रले ३ प्रमुख २ उपप्रमुख, कांग्रेसले १ प्रमुख ३ उपप्रमुख र समाजवादीले ४ प्रमुख ३ उपप्रमुख पाएको छ ।

दैलेखमा सबैभन्दा धेरै कांग्रेसले पाएको छ । कांग्रेसले ६ प्रमुख र ५ उपप्रमुखमा पाएको छ । यस्तै माओवादी केन्द्रले दुई प्रमुख र चार उपप्रमुख पाएको छ भने समाजवादीले ३ प्रमुख र दुई उपप्रमुख पाएको छ ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा माओवादी केन्द्रले ५ वटा प्रमुख पाउँदा कांग्रेसले ३ वटा स्थानीय तहको नेतृत्व पाएको छ । समाजवादीले ३ वटा उपप्रमुख पाएको छ भने माओवादी केन्द्र र कांग्रेसले २/२ वटा उपप्रमुख पाएका छन् ।

मुगुमा कांग्रेसले दुई प्रमुख र दुई उपप्रमुख पाएको छ । माओवादी केन्द्रले प्रमुख/उपप्रमुख एक/एक र एकीकृत समाजवादीले पनि एक/एक पाएको छ ।

सल्यानमा कांग्रेस/माओवादी केन्द्रले ४/४ प्रमुख पाउँदा एकीकृत समाजवादीले दुई प्रमुख र दुई उपप्रमुख पाएको छ । माओवादी केन्द्रले उपप्रमुखमा ५ वटा पाउँदा कांग्रेसले ३ वटा पाएको छ । सल्यान एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला हो ।

जुम्लामा कांग्रेसले चार प्रमुख, माओवादी केन्द्रले तीन र एकीकृत समाजवादीले एक प्रमुख पाएका छन् । माओवादी केन्द्रले पाँच वटा उपप्रमुख पाएको छ भने कांग्रेसले दुईवटामा चित्त बुझाएको छ । एकीकृत समाजवादीले एक उपप्रमुख पद पाएको छ ।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालीकोटमा माओवादीले पाँच पालिका प्रमुख र चार उपप्रमुख पाएको छ ।

कांग्रेसले दुई पालिका प्रमुख र तीन उपप्रमुखमा चित्त बुझाएको छ । एकीकृत समाजवादीले दुई प्रमुख र दुई उपप्रमुख पाएको छ । माओवादीको प्रभाव क्षेत्र मानिएको कालीकोटमा यसअघि नेपाली कांग्रेसले एक्ला एक्लै चुनाव लड्ने निर्णय समेत गरेको थियो ।

सुर्खेत र रुकुम पश्चिमको भागबण्डा मिलाउँन जिल्लाबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता बिच नै छलफल भै रहेको नेताहरुले बताएका छन् । सुर्खेत नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला हो भने र रुकुम पश्चिम माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला हो ।

खड्का र शर्माबीच छलफल जारी रहेको र माथिको निर्देशन कुरिरहेको बैठकमा सहभागी एक नेताले बताए । ‘यो विषय जिल्ला र प्रदेशको भन्दा पनि केन्द्रीय शीर्ष नेताहरुको कन्सर्नको विषय भन्यो । यही कारणले सहमति जुट्न नसकेको हो । माथिको निर्देशन पर्खिएका छौं’ ती नेताले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?