
काठमाडौं । बलिउडका ‘तीन खान’ शाहरुख खान, आमिर खान र सलमान खानको भारतमा मात्रै नभई विश्वभर ठूलो संख्यामा प्रशंसकहरु छन् । उनीहरुका फिल्म प्रायः प्रशंसकका लागि उत्सवको रूपमा आउँछन् र विश्वव्यापी बजारमा पैसा छाप्ने मेसिन बन्छन् ।
तर पछिल्लो समय यी मेगास्टारत्रय बक्स अफिसमा संघर्ष गरिरहेका छन् किनभने उनीहरु अभिनित फिल्मले दर्शकको मन जित्न सकेनन् ।
तीनै खानका लागि उनीहरूका आगामी फिल्मले दर्शकको मन मात्र जितेर हुँदैन, बक्स अफिसमा विजेता बन्नुपर्ने चुनौती पनि छ ।
पछिल्लो फिल्ममा असफलता
दुर्भाग्यवश, तीनै खानका पछिल्ला फिल्मलाई दर्शकले राम्रो साथ दिएनन् । आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’ र शाहरुख खानको ‘जिरो’ बक्स अफिसमा असफल साबित भए । अर्कोतर्फ कोरोना महामारीका कारण ओटीटी प्लेटफर्ममा रिलिज भएको सलमान खानको ‘राधे’ले फ्यान र ट्रेड विश्लेषकबाट नकारात्मक समीक्षा बटुल्यो ।
लामो अन्तर
तीनै खान लामो समयदेखि पर्दाबाट टाढा छन् । उनीहरूका पछिल्ला फिल्मले जादू सिर्जना गर्न असफल भएकाले फ्यानहरू आफ्ना मनपर्ने स्टारले बक्स अफिसमा आक्रामक पुनरागमन गर्ने आशा गरिरहेका छन् । आमिर र शाहरुखका पछिल्ला फिल्म सिनेमा हलमा रिलिज हुँदा सलमानको ‘राधे’ गत वर्ष कोरोना संकटको कारण ओटीटीमा रिलिज भएको थियो ।
दर्शकको प्राथमिकता
पछिल्ला केही वर्षमा जहाँ हामीले महामारीको अवस्थाका कारण बलिउडमा फिल्म रिलिजमा कमी देख्यौं, दक्षिण भारतीय फिल्मले उत्तरी क्षेत्रमा प्रभुत्व जमाउँदै अहिले बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । अल्लु अर्जुनको ‘पुष्पा’, जुनियर एनटीआर र राम चरणको ‘आरआरआर’ र यशको ‘केजीएफ–२’ हालसालै दक्षिण भारतीय ब्लकबस्टर फिल्म साबित भए । हिन्दीमा डब गरिएका यी फिल्मले मुम्बई, दिल्लीसहितका क्षेत्रमा पैसा छाप्न सफल रहे ।
त्यसैले सलमान, शाहरुख र आमिरको लागि यो अव्यवस्था तोड्नु र आफ्ना फ्यानहरूलाई बलिउडले पनि उत्कृष्ट फिल्म बनाउन सक्छ भन्ने विश्वास दिलाउनका लागि काम गर्नुपर्ने चुनौती छ ।
बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खान यो वर्षको अगस्टमा ‘लाल सिंह चड्डा’बाट दर्शकमाझ आउँदैछन् । अद्वेत चन्दनद्वारा निर्देशित यस फिल्ममा करिना कपुर, मोना सिंह र नागा चैतन्यको पनि प्रमुख भूमिका रहेको छ ।
अर्कोतर्फ सलमान अर्को पटक फरहाद सामजी निर्देशित ‘कभी ईद कभी दिवाली’मा देखिनेछन् । साजिद नाडियाडवालाले निर्माण गरेको यस फिल्ममा पूजा हेग्डेको पनि मुख्य भूमिका छ । यो फिल्म ३० डिसेम्बर २०२२ मा रिलिज हुनेछ ।
बलिउड बादशाह भनिने शाहरुख खानको फिल्म ‘पठान’ पनि आउने तयारीमा छ, जसमा दीपिका पादुकोण र जोन अब्राहम पनि देखिनेछन् । ‘वार’ र ‘ब्याङ ब्याङ’ फेम्ड सिद्धार्थ आनन्दद्वारा निर्देशित यो फिल्म यशराज फिल्मको ब्यानरमा बन्न लागेको हो । यो जनवरी २३ मा रिलिज हुनेछ ।
प्रतिक्रिया 4