+
+

डडेलधुराका पालिका प्रमुखमा एकजना र उपप्रमुखमा १८ जना महिला उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १४:३५
नेकपा एकीकृत समाजवादी पार्टीबाट अमरगढी नगरपालिका प्रमुखमा उम्मेदवार बनेकी संगिता भण्डारी

१४ वैशाख, डडेलधुरा । डडेलधुराका सात पालिकामध्ये एक पालिकामा मात्रै प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छ । दुई नगरपालिका र पाँच गाउँपालिका गरी जम्मा सात वटा स्थानीय तह रहेको डडेलधुरामा अमरगढी नगरपालिकामा मात्रै प्रमुख पदमा महिलाको उम्मेदवारी परेको हो । पालिका उपप्रमुखमा भने १८ जना महिलाको उम्मेदवारी परेको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा आइतबार र सोमबार राजनीतिक दलहरुका उम्मेदवारहरुले गरेको मनोनयन दर्तामा प्रायः पालिकामा पुरुषहरुको उम्मेदवारी परेको छ ।

डडेलधुराको अमरगढी नगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादी पार्टीबाट नगरप्रमुखमा संगिता भण्डारीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको मुख्य कार्यालयले जनाएको छ । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नगर उप्रमुखमा निर्वाचित भएकी थिइन् । नेकपा फुटेपछि उनी एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् ।

अमरगढी नगरपालिकाको उपप्रमुखमा भने २ जना महिलाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट पार्वती झुकाल र  नेकपा माओवादी केन्द्रबाट शशी अवस्थीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

परशुराम नगरपालिकाको उपप्रमुखमा ४ जना महिलाले उम्मेदवारी दिएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसबाट कलावती बोहरा, नेकपा माओवादी केन्द्रबाट बिमला महता, एकिकृत सामाजवादीबाट कमला धामी र नेकपा विप्लव समूहबाट पूर्णिमा धामीले उम्मेदवारी दिएका छन् ।

गन्यापधुरा गाउँपालिकाको उपाध्यक्षमा एकजना महिलाको मात्रै उम्मेदवारी परेको छ । ज्ञानु सेटीले स्वतन्त्रबाट उम्मेदवारी दिएकी हुन् ।

अजयमेरु गाउँपालिकामा उपाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसबाट वसन्ती पाल र नेकपा माओवादी केन्द्रबाट कलावती भाणले उम्मेदवारी दिएका छन् ।

भागेश्वर गाउँपालिकामा पनि दुई जना महिलाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । उपाध्यक्षका कांग्रेसबाट पुष्पा ठकुराठी र नेकपा माओवादी केन्द्रबाट गीता भट्टले उम्मेदवारी दिएका हुन् ।

नवदुर्गा गाउँपालिकाको उपाध्यक्षमा ३ जना महिलाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा कांग्रेसबाट निर्मला बोगटी,  नेकपा एकीकृत समाजवादीबाट चन्द्रा देवी रुपाली र नेकपा माओवादी केन्द्रबाट बिस्ना बोहराले उम्मेदवारी दिएका हुन् ।

आलिताल गाउँपालिकाको उपाध्यक्षमा ४ जना महिलाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा कांग्रेसबाट ज्वालादेवी बिष्ट, माओवादीबाट मैनाकुमारी बोहरा, नेकपा एकीकृत समाजवादीबाट लक्ष्मी धामी र नेकपा एमालेबाट शान्ति भट्टले उम्मेदवारी दिएका छन् ।

कतिपय पालिकामा पुराना जनप्रतिनिधि पुनः दोहोरिए पनि महिला प्रमुख भने दोहोरिएका छैनन् । प्रमुख कार्यकारी पदमा एक सिट महिलाको अनिवार्य हुने संवैधानिक व्यवस्था भएपछि गत निर्वाचनमा अधिकांस पालिका उपप्रमुख, उपाध्यक्षमा महिलाको उम्मेदवारी परेको थियो । तर यस पटक सत्ता साझेदार दलहरुले गठबन्धन नै गरेर निर्वाचनमा जाने निर्णय गरेपछि उपप्रमुख एवं उपाध्यक्षमा समेत पुरुषहरुको उम्मेदवारी बढी परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?