+
+

अन्त विभाजित कांग्रेस काठमाडौंमा एक ढिक्का

नेताहरुले गाए सिर्जना सिंहको गुणगान

लिलु डुम्रे लिलु डुम्रे
२०७९ वैशाख १५ गते २०:१२

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले उम्मदेवार चयन गर्दा सिर्जना सिंहको नाम छनोट सम्भवतः कम विवादित बन्यो ।

देशभर उम्मेदवारहरुले टिकटका लागि तँछाड मछाड गर्दा काठमाडौं महानगरमा भने कांग्रेस कार्यकता शान्त देखिए । सिंहलाई काठमाडौं महानगरको मेयरको उम्मेदवार बनाउँदै गर्दा पार्टी भित्र असन्तुष्टिको आवाज पनि सुनिएन । सिंहको पक्षमा कांग्रेसमा देखिएको एकतालाई नेताहरु ‘अभूतपूर्व’ दाबी गर्दछन् । सिंहको नामलाई शीर्ष तहका नेताले सहज स्वीकारे ।

सिंहको पक्षमा पार्टी एक ढिक्का रहेको सन्देश प्रवाह गर्ने काम बिहीबार काठमाडौं महानगर समितिले गर्‍यो । स्थानीय निर्वाचन केन्द्रित संकल्पपत्र सार्वजनिक गर्ने कार्यक्रममा नेताहरु कांग्रेसका शीर्ष नेताहरु भेला भएका थिए । पार्टी भित्रका तीनवटै समूहका नेताहरु ठाउँमा उभिएर सिंहको पक्षमा गुणगानका शब्द खर्चे । देशभर उम्मेदवार चयन गर्दा विवाद र असन्तुष्टि देखिएको सुनाउँदै प्रवक्ता डा. प्रकाशरण महतले सिंहको नाममा भने एकमतले सहमति जुटेको दाबी गरे । करिब आधा घन्टा बोलेका महामन्त्री गगन थापाले गठबन्धनको साझा उम्मेदवार सिंहको गुणगानमै सबैजसो खर्चिए ।

१४ वर्ष अघि आजकै दिन विवाह बन्धनमा बाँधिएसँगै पत्नि अन्जना केसीलाई सिर्जना सिंहको अनुशरण गर्न सुझाएको समेत महामन्त्री थापाले सम्झिए । ‘विवाह पछि हामी दुई पोखरा घुम्न गएका थियौं । श्रीमान र श्रीमतीबाट हुने अपेक्षाको कुरा भएको थियो ।’ तत्कालीन समय स्मरण गर्दै नेता कार्यकर्तालाई थापाले भने, ‘तिम्रो आमा र सिर्जना सिंह जस्तै व्यवहार र सरलताको आशा म तिमीबाट गर्छु ।’

शालीनताको विषय उठान गरेपछि थापाले केही दिन अघि सिंहसँग आफ्नो भेटको सन्दर्भ उठाए । उक्त भेट सिंहको उम्मेदवारीको चर्चासँगै भएको थियो ।

त्यतिखेर काठमाडौंको मेयर भएपछि तपाईंले गर्ने कुरा के-के हुन् भनि सोधेको थापा बताउँछन् । उक्त प्रसँगमा सिंहले दिएको जवाफ बारे थापा भन्छन्, ‘केही अलमल पर्नुभयो । केही समय बोल्नुभएन । केही छिनमा भन्नुभयो,–न्यूरोडबाट हिँड्दै गर्दा एनएसी अघि बस र टेम्पो चढ्न मानिसहरुले घम्साघम्सी गरेको देख्छु । त्यहीबाट मेरो मनमा कुरा उठ्छ ।’ काठमाडौंका नागरिकका साना साना अपेक्षा रहेकाले ती पूरा गर्ने सपना सिंहमा भएको थापाले बताए ।

राजनीतिमा क्रियाशील भएका सबै नेता कार्यकर्ता उम्मेदवारको दाबी गर्ने हक रहेको उनले सुनाए । ‘कसैको श्रीमती, बुहारी, छोरी भएकै कारण हक खोस्न मिल्छ कि मिल्दैन ?’ थापा प्रश्न गर्छन् । भान्सा स्वच्छ भएपछि औषधि किन्न स्वतः कम हुने हुनाले पहिलो भान्सा नै स्वस्थकर बनाउने पहल सिंहबाट हुने थापा दाबी गर्छन् । घरलाई स्वस्थ बनाउन सक्ने सिंहले ‘महानघर’ (महानगर) पनि स्वस्थ राख्नसक्ने थापाको भनाइ छ ।

काठमाडौंको मेयर संघीय र प्रदेश सांसदसँग विकासका कार्यमा लयमा लय मिलाउने हुनुपर्ने थापाको तर्क छ । फरक दल भएकै कारण काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले आफूहरुका कुरा नसुनिदिएको उनले गुनासो पनि गरे ।

प्रवक्ता डा. महतले नेविसंघमा आफू क्रियाशील रहँदाका दिन सम्झँदै भने, ‘प्रकाशमान जीसँग सिर्जनाको वैवाहिक सम्बन्ध नहुँदै मैले उहाँलाई चिनेको हुँ । शंकरदेव क्याम्पसमा उहाँ र मैले सँगै नेविसंघको राजनीति गरेका थियौं ।’

राजनीतिक विरासत र प्रकाशमान सिंहको पत्नीका रुपमा मात्रै सिंहलाई नबुझ्न महतले आग्रह गरे । वैवाहिक सम्बन्ध पश्चात सिहंले घर परिवारको वातावरण सम्हालेकै कारण ससुरा, सासु र श्रीमान बहुदलीय व्यवस्थाका पक्षमा आन्दोलनमा सरिक हुन सम्भव भएको उनले बताए ।

घोषणापत्रको अर्को रोचक पक्ष एकै कार्यक्रममा सँगै कमै देखिने नेताहरु पनि सहभागी भएका थिए । कांग्रेस नेता प्रकाशमान सिंह र भीमसेनदास प्रधान एउटै समूहमा रहनै नसक्ने नेताका रुपमा कांग्रेसमा चर्चा हुने गर्दछ । नेता प्रधानले उम्मेदवार सिंहको शालीनताको प्रसंसा गरे । प्रकाशमानको व्यवहार रुखो रहेको टिप्पणी गर्दै प्रधानले भने, ‘आजको प्रकाशमान सिंह बनाउन सिर्जना सिंहको हात छ । सिर्जना सिंहमा शालीनता छ । प्रकाशमान जी रुखो स्वभावको हुनुहुन्छ ।’

काठमाडौं महानगरको मेयरको उम्मेदवारको चर्चा गर्दै गर्दा प्रारम्भमा निलकाजी शाक्य, तिर्थराम डंगोल, सुसन वैद्यको नाम चर्चामा थियो । सिंहको नाम अघि आएपछि उनीहरु सजिलै पछि हटे । मेयरको आकांक्षी भएपनि असन्तुष्टि देखाएर असहयोग गरेको बिहीबारका कार्यक्रममा पनि देखिएन ।

महानगरका सभापति तथा मेयरका आकांक्षी निलकाजी शाक्यले सिंहको प्रसंसा गरे । काठमाडौं मेयरको उम्मेदवारमा योग्य पात्र सिंह नै भएको दाबी गरे । अर्का आकांक्षी तथा महानगरका सचिव सुसन वैद्यले सक्षम नारीका रुपमा सिंहलाई चित्रण गर्दै कार्यक्रम सञ्चालन गरे ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?