+
+
१० खेलाडीको गुनासो  :

मैदान बाहिर अल्मुताइरीको हस्तक्षेप अति भो !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते २०:०२

१५ वैशाख, काठमाडौं । नेपाली फुटबल समर्थकमाझ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लोकप्रिय छन् । टिमले राम्रो गर्दा खेलाडीहरुलाई जस दिन्छन्, नतिजा अनुकुल नआउँदा दोष आफूले लिने गरेका कारण पनि उनको तारिफ हुन्छ ।

नेपाली फुटबललाई सही बाटो देखाएकै कारण आफ्नै उपाध्यक्ष पंकज विक्रम नेम्बाङमाथि गम्भीर आरोप लगाउँदा पनि अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वले माफी मागेर अल्मुताइरीलाई नेपाल फर्काएको थियो ।

तर प्रशिक्षक अल्मुताइरी विवादमुक्त रहन सकेनन् । यो पटक भने लामो समय उनलाई साथ दिँदै आएका राष्ट्रिय टिमका सिनियर खेलाडीहरुले नै प्रश्न उठाएका छन् ।

नेपाली टोली एएफसी एशिया कपको तेस्रो चरणको छनोटको तयारीमा जुटेको थियो । तर सुरुमा रोहित चन्द र त्यसपछि ९ जना खेलाडी टिमबाट अलग भएपछि विवाद चर्किएको छ । सुरुमा खेलाडीहरुले होटल छाडेको भनिएको थियो, तर बिहीबार १० खेलाडीले पत्रकार सम्मेलन गरेर घटनाको बेलीविस्तार सुनाएका छन् ।

उनीहरुले बताएअनुसार उपत्यकाबाहिरका खेलाडी होटलमा बसेका थिए भने घरबाट आउने गरेका थिए । आइतबार प्रशिक्षक अल्मुताइरीले सोमबारदेखि बन्द प्रशिक्षण सुरु हुने जानकारी दिए । कप्तान किरण चेम्जोङ व्यवसायिक खेलका क्रममा माल्दिभ्समा भएकाले राष्ट्रिय टोलीका सिनियर खेलाडी रोहित नै थिए । खेलाडीहरुले होस्टलको सुविधामा सुधार गनुपर्ने, नभए होटलमा राख्नुपर्ने माग प्रशिक्षकसम्म राख्न रोहतलाई आग्रह गरे ।

रोहितले होटल बस्ने कि होस्टेल भन्ने प्रश्न उठाए । प्रशिक्षकले सुरुवातमा होस्टेलमा बस्ने जानकारी दिए । तर दैनिक उपभोगका लागि नुहाउने लुगा धुने पानी, खाने जस्ता सुविधा राम्रो थिएन । त्यही भनेका कारण प्रशिक्षकले रोहितलाई घर पठाए । अरु खेलाडी प्रशिक्षणमा जुटे । भोलिपल्ट पनि रोहित प्रशिक्षणमा नआएपछि खेलाडीहरुले प्रशिक्षकसँग कुरा गर्न खोजे । तर उनीहरुलाई नै घर जान भनियो ।

अल्मुताइरीले आफूहरुलाई पनि होटल छाड्न र आफू रहँदासम्म टिममा नराख्ने भनेको खेलाडीहरुको गुनासो छ । गाँस बासको सामान्य माग राख्दा प्रशिक्षकले रोहित चन्दलाई टिमबाट निकालेको र त्यसबारे कुरा गर्न खोज्दा आफूहरुलाई पनि अपमान गरेको भन्दै उनीहरुले भनेका छन्, ‘उहाँले तिमीहरुले युद्ध सुरु गर्‍यो, मैले अन्त्य गरेँ भन्नुभयो । मिडियामा नजान निर्देशन दिनुभयो ।’

मैदान बाहिर पनि हस्तक्षेप

प्रशिक्षक अल्मुताइरीले मैदान भित्र मात्र होइन, मैदान बाहिर पनि हस्तक्षेप गर्ने गरेको खेलाडीहरुले आरोप लगाएका छन् ।

आफूहरुको व्यक्तिगत स्वतन्त्रतामाथि समेत प्रशिक्षकले हस्तक्षेप गरेको खेलाडीको गुनासो छ । ‘तेरो कपाल लामो भयो, ट्याटु किन बनाइस् जस्ता कुरा नकिालेर दबाव दिनुभयो’, अनन्त तामाङ भन्छन्, ‘यस्तो अभ्यास अन्त कतै छैन होला ।’

बन्द प्रशिक्षण नभएको बेला बाहिर हिँड्दा जिन्सको ग्रञ्च पाइन्ट लगाउँदा सोधीखोजी गर्ने, सामाजिक सञ्जालमा फ्यानहरुसँग सम्वाद समेत गर्न नदिने गरेको उनीहरुको गुनासो छ ।

तामाङका अनुसार कुनै पत्रकार वा सञ्चार माध्यमले कुराकानी गर्न खोज्दा खेलाडीले प्रशिक्षकसँग अनुमति लिएर मात्र अन्तर्वार्ता दिन पाउँथे । प्रशिक्षकले यतिसम्म दबाव दिएका थिए कि, उनले लेखेका स्टाटससमेत खेलाडीले सेयर गर्नु पर्ने थियो ।

‘मानसिक रुपमा धेरै दबाव थियो । अति नै भएर हामी हिंडेको हौं’ फुटबलर तामाङले भने ।

अर्का खेलाडी विशाल राईले चित्त नबुझेको कुरा भन्दा कोचले निसानामा पार्ने गरेको बताए । पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उनले भने, ‘प्रशिक्षकले तँलाई राष्ट्रिय टिमबाटै निकाल्दिन्छु भनेर समेत चेतावनी दिने गरेका थिए ।’

प्रशिक्षकका रुपमा सम्मान

खेलाडीहरुले अल्मुताइरीकै कारण प्रशिक्षण छाड्नु परेपनि उनले नेपालको फुटबल सुधारका लागि काम गरेको बताए । अल्मुताइरकै पहलमा मैत्रीपुर्ण खेल भएको र यसकाले आफूहरुको आत्मविश्वास बढेको खेलाडीलाई पनि लागेको छ ।

‘कोचका रुपमा हामी अझै सम्मान गर्छौ उहाँलाई । खेलाडीको आत्मविश्वास बढाउने, ठूला टिमहरुसँग मैत्रीपूर्ण खेल खेलाउने काम गर्नुभयो उहाँले,’ इन्डोनेसियन क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका चन्दले भनका छन्, ‘कोचको रुपमा नभएर व्यक्तिगत रुपमा उहाँसँग समस्या भयो ।’

छानबिनको माग

खेलाडीले आफूहरुले टिम छाडेर हिंड्नु पर्ने स्थिति किन आयो भनेर छानबिन गर्न एन्फालाई आग्रह पनि गरेका छन् । प्रशिक्षण छाडेपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई भेटेर खेलाडीले समस्या समाधानका लागि आग्रह गरेका थिए ।

तर अध्यक्षले चुनावका कारण अहिले केही गर्न नसक्ने बताएको खेलाडीले जानकारी दिए । ‘हामीले प्रशिक्षकले हामीलाई दबाव दिनुभयो भनेर गुनासो गर्‍यौं ।’

विद्रोही होइनौं, पीडित हौं

प्रशिक्षण छाडेपछि सामाजिक सञ्जालमा विद्रोही भन्दै आफूहरुलाई गाली गरेकोमा खेलाडीले चित्त दुखाएका छन् ।

समर्थकहरुले आफूहरुके बाध्यता नबुझी आलोचना गरेको उनीहरुलाई लागेको छ । पत्रकार सम्मेलनमा विशाल राईले भने, ‘हामी विद्रोही होइनौं, पीडित हौं ।’

खेलाडीहरुले प्रशिक्षक हटाउनु पर्छ नभनेको तर अल्मुताइरीको प्रशिक्षणमा खेल्न गाह्रो हुने बताए । चन्दले भने, ‘हामीले कोच हटाउनुपर्छ भनेका छैनौं । तर हामीलाई उहाँको अण्डरमा खेल्न गाह्रो छ । उहाँलाई हामीप्रति ट्रस्ट हुन्न, हामीलाई पनि हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?