+
+
नियात्रा :

देशले भुलेको पाटो, रारा हुँदै शे-फोक्सुन्डोको बाटो

डा. नवराज केसी डा. नवराज केसी
२०७९ वैशाख १७ गते १७:५२

मैले अन्तिम पटक उनीलाई हेरें । हेरिरहें…। अनि हेरेको हेर्‍यै भएँ । माथि पहाडबाट हाम फालौं फालौं लागिरहृयो । मनले भने अघि नै हाम फालिसकेको थियो । म यतिबेला स्वर्गकी अप्सरा ‘रारा ताल’ नियाल्दै थिएँ । मलाई पुग्नु थियो राराकी मितिनी शे-फोक्सुन्डोसम्म । राराको खबर मनभरी बोकेर लुखुरलुखुर पूर्वतिर लागें । खिसिक्क हाँसेको सेतो हिमाल, पत्थर उमि्रने नाङ्गा पहाडहरू अनि लाइनमा बसेको यात्रीलाई ठेल्ने हावाको वेगसँग गफ गर्दै कतै नरोकिई जुम्ला कटेर म गुठीचौर पुगेको थिएँ ।

त्यहाँ पुगेपछि थाहा भयो मलाई दिनभरि बोक्ने एकथान खुट्टाहरू मोटाएका (सुन्निएका) रहेछन् । त्यहीं थचक्क बसें । खुट्टाहरू फिंजिए । अनि अगाडि टल्किएका सेता हिमालहरूसँग देउडा नाच्न सुरु गरौं झैं भयो । अलि पर दुई मितिनी दिदीहरू साँच्चिकै देउडामा मस्त थिए । केहीबेर उनीहरूलाई सुनियो । एकछिन त झुपुक्कै होला झैं भयो । फेरि एउटा फोटो खिच्न अनुरोध गरें, उनले एकछिन रोक्न भनिन् । नजिकैको भेडाको पाठोलाई च्याप्प काखमा हालिन् । ‘लौ अब खिच, फोटो’ ठूलो स्वरमा उनले आदेश नै दिइन् । मैले नि खिचिक्क पारें ।

उनले त्यसपछि जे बोलिन् म जीवनभर भुल्ने छैन । ‘बुढा नाई, छोरा सहर गैगए, यो भेडाको पाठोकन काखी लिंदा परिवारको माया भरिन्छ क्या । बुझ्यौ त ।’ म हाँसें । पाकेटमा भएको एउटा भिक्स चक्लेट दिएँ । त्यो भेडाको पाठोले मुन्टो बटार्‍यो । मुख बिगार्‍यो । आफूलाई खाना नदिएपछि रिसाए झैं गर्‍यो । म निःशब्द । एक धार्नी अक्षरहरूको संवाद सकेर बाटो लागें ।

नेपाली अर्थ-व्यवस्थाको एउटा टुक्रा यहाँ खसेको देखिन्थ्यो । डाँडाभरि घाँस उम्रिएका थिए । वरपर हिमाली हावा हिमालको काखबाट शीतल र स्वस्थ वातावरण बनाएका हुन्थे । जताततै भेडा, च्याङ्ग्रा र चौंरी देखिन्थे । यिनका शरीरभरि कपास उमि्रन्छ । पूरै हिमाललाई सेतो पोत्न मिल्ने गरी दूध र दही उत्पादन हुन्छ । त्यसबाट घ्यू, छुर्पी र चिजको ठूलै व्यापार गर्न सक्ने सम्भावना पनि थिए । तर युवायुवतीहरू सहर-बजार र विदेशतिर लाइन लागेका थिए ।

मैले मेरा दिमागका खुट्टाहरू पनि चलाएँ, मेरो खुट्टाको झैं वेगले । कतै हामीले विद्यालय र कलेजमा पाठ्यक्रम गलत त बाँडिरहेका छैनौं ? माटोको, गाउँको विकास गर्नु थियो । शायद हामी स-साना विद्यार्थीलाई रकेट विमानमा पोक्त बनाउन ठूलो खर्च बनाउँदै थियौं । यति सोचेपछि मैले सोच्न बन्द गरिदिएँ ।

साँझ झमक्क परिसकेको थियो । अगाडि एउटा मात्रै घर थियो । त्यहाँ थिए दुईजना बुढाबुढी । ढोकामा लेखिएको थियो- ‘होम स्टे’ । थकानको नशा यस्तो थियो कि बेलुका के खाइयो, कहाँ सुतियो पत्तै भएन । बिहान उठ्दा सिरानी नजिकै जडीबुटीयुक्त चिया र तातोपानी राखिएको थियो । उठें, पानी र चिया पिएँ । गाउँको सफा चर्पीमा नित्यकर्म भयो । अब बिदा हुने समय आयो । बसेको हिसाबकिताब कति भयो ? साहुनीलाई सोधें । ‘सानी छोरीकन किताब किन्नुथियो, दुईसय रुपैयाँ त्यही दिए भइगो’ साहुनी भन्दै थिइन् । त्यहाँ मूल्य आवश्यकताको पूरक मात्रै थियो । कोरोना कालको दुई वर्षपछि म पहिलो पाहुना थिएँ, उनीहरूको ।

‘एक महिना भयो विना कापी स्कुल जान्छे’ साहुनीको यो भनाइले मन खिल्न गरायो । शहरमा ढाड दोबि्रने गरी कापी-किताब बोकेर विद्यालय जाँदै गरेको विद्यार्थीको सम्झना आयो । वर्षभरि कापी किताब किन्न कति लाग्छ ? छोरीको ! मैले सोधें । २५०० जवाफ आयो । मैले २५०० निकालेर उनको हातमा राखिदिएँ । तर उनीले त्यो पैसा छुन पनि मानिनन् । ‘देउताले मार्नान्, मै कन् सर’ भन्दै उनले त्यो पैसा लिन मानिनन् । जीवनभर धर्म गरेको, डाक्टर हुँ । देउताकन ठाडै कुरा गर्छु म । शहरको धामी के डाक्टर । तम्रा देउतालाई म सम्झाइदिउँला । उनकै भाषामा सम्झाउने कोसिस गरें । ‘तपाईंले यो पैसा नलगे छोरी केमा लेख्छिन् ? अनि मेरो देउताले मलाई के भन्लान् ?’ मेरा यी शब्दले उनको चित्त बुझेछ शायद । उनले आफ्नो पटुकी खोलिन् त्यहाँ दुई वटा पुराना दुई रुपैयाँका नोट पहिले नै थिए । त्यसैमा मैले दिएका नोट च्यापिन् र पटुकी बन्द गरिन् ।

‘यसैमा राख्न्या हो, आलु बेचेको पैसा । कहिलेकाहीं तिमी जस्तै पाहुनाले दिएको पैसा’ पटुकी देखाउँदै उनले भनिन् । यति भन्दै उनी खिस्स हाँसिन् । मुस्कान सुन्दर थियो । बहुत सुन्दर ।

कर्णालीमा धेरै बैंक छन् । दस्तखत गर्नेहरूको भलो पनि भएको छ । राम्रा धेरै काम गर्दै, बैंकहरूलाई पनि राम्रो भएको छ । कर्णाली भूगोलका हिसाबले देशकै ठूलो प्रदेश पनि हो । र, सबैभन्दा थोरै मान्छे कर्णालीमै बस्छन् । तर अलिकति पहाड कटेपछि ती बैंक तथा वित्तीय संस्थाहरू भेटिंदैनन् । शहरको भीडमै हराएका छन्, ती ठूला बैंकहरू ।

कर्णालीका दुर्गम गाउँहरूमा बहुत काम लाग्ने । समाज चलाउने । कर्णालीका बालबालिका हुर्काउने । खाना पुग्ने । कृषि गर्ने बैंकहरू देखेको छु । यहाँका आमाहरूको कम्मरमा बेरिएका ‘पटुकी बैंक’ । यिनै पटुकी बैंकले चल्छ कर्णालीको दूरदराज ।

यात्राकै क्रममा केही अगाडि बढ्दै गर्दा एउटा सानो झरना आफ्नै वेगमा झर्दै थियो । उसको आवाजले अरू केही सुनिंदैनथ्यो । तर मेरो मन पनि कर्णाली गएको थियो । अबको अर्थतन्त्र यी ‘पटुकी बैंक’ केन्दि्रत होस् । सरकारको पैसा शहरका भित्ते र बाकसे बैंकमै नहराओस् । यो आवाज अर्थ मन्त्रालयको ढोकासम्म पुगोस् । सोच्दा सोच्दै नदी सकियो । सोझो बाटो पनि सकियो ।

अगाडि एउटा ठूलो हिमाल भीमसेन झैं उभिएको थियो । माथि फर्किएर हेर्दा उसको कम्मरमाथि नजर पुग्थेन । त्यो रहेछ, कान्जिरोवा हिमाल । कान्जिरोवा छाड्दै गर्दा, आँखाभरि आँशु थिए मेरा । यस्तो लाग्यो अब फेरि भेट हुने छैन । छुट्टनि लागेका प्रेमी-प्रेमिका झैं । शायद प्रकृतिको पनि त आत्मा हुन्छ होला, उनीहरू पनि त गहिरो पिरती गाँस्छन् होला ।

ओरालोले डोर्‍यायो, ओरालै ओरालो लागियो । बाटोमा बाटो बन्दै थियो तर त्यो बाटोमा ढुङ्गा बोक्ने, खन्ने सबै नारीहरू थिए । कर्णालीका नारीहरू कर्णालीका पत्थरमा आफ्नो भाग्य खोज्दै थिए । एक ठाउँमा म टक्क उभिएर, त्यहाँ हजुरआमा, छोरी र नातिनीसँगै थिए । सबैजना पत्थर बोक्दै थिए, बाटो बनाउन । मैले फोटो खिच्न अनुरोध गरें । आफूले बोकेको एक झोला बिस्कुट खुवाउँछु भनेपछि सबैले हुन्छ भने ।

आ-आफ्नो डोकालाई अगाडि झारेर लाइनबद्ध फोटो खिच्ने काम भयो । म धन्य भएँ, मैले दुनियाँका सबैभन्दा पौरखी, स्वाभिमानी अनि बलिया मानिसहरूको फोटो खिच्ने सौभाग्य प्राप्त गरेको थिएँ । एकजना महिलाले बिचबाट भनिन्, ‘हाम्रो फोटो मन्त्रीलाई पठाइदिनुहोला, हाम्रा दुःख तिनीले देखुन्’ मैले मनमनै भनें, ‘दिदी तिम्रा दुःख तिनीले देखुन् हैन, तिमीबाट तिनले र दुनियाँ सबैले सिकुन् ।’

त्यो लामो उकालो, ओरालोमा कत्ति नथाकिने कारण यस्ता मानिसहरू भेटिनु पनि थियो । ओरालोले डोर्‍याएर चौंरीकोट पुर्‍यायो । त्यहाँ भोटेनी दिदीको होम स्टेमा बसियो । चौंरीको घिउ र जडीबुटी चिया । मोटा, बाक्ला फापरका रोटी । पहाडी महमा चोपेर निलियो ।

अर्को दिन काई गाउँ हुँदै, डोल्पाको भित्र-भित्र हराउने काम भयो । ६ घण्टा उकालो चढेपछि लेक पुगियो । वरपर चौंरी चर्दैथिए । सरकारले चौंरी फार्म पनि बनाएको रहेछ । दुर्गममा पनि राम्रो काम देख्दा, खुसीको सीमा हुँदोरहेनछ । यो लेकको टुप्पोमा एउटा मात्रै घर थियो । त्यहाँकी साहुनी बैनीले मिठो रातो माम र हरियो खुर्सानी दिइन् । पेटभरि खाइयो । नजिकै उनी आफैंले कुँदेको काठको देउता, वरपर उनका जेठा, कान्छा खेल्दै थिए । बुढा विदेश गएका रहेछन् । आफू कहिलेकाहीं केही समय हराउनुपर्छ रे काममा । अनि उनले आफ्ना जेठा कान्छालाई भनेकी रहेछिन्, यो देउताले सबै हेर्छन् । धेरै टाढा नगएस् । घरमा देउतासँग खेल्ने । बच्चाबच्ची हेर्ने काठको देउता मैले पनि पहिलो पटक देखेको थिएँ ।

जेठा, कान्छालाई मैले फोटो खिच्न आग्रह गरें । उनीहरूले आफ्ना काठका खेल्ने देउतालाई च्याप्प अँगालो हाले । अनि तीनै जनाको फोटो आयो । जेठोले हेर्‍यो । कान्छोले नि हेर्‍यो । बोल्ला बोल्ला झैं देखिने त्यो काठका अनुहार अगाडि पनि एकपटक फोनको स्क्रिन राखिदिएँ । देउताले हेरे हेरेनन्, त्यो देउताकै भर छाडेर हामी ओरालो लाग्यौं । अबको गन्तव्य थियो डोल्पाको सदरमुकाम दुनै हुँदै शे-फोक्सुन्डोतर्फको यात्रा ।

यहाँसम्मको यात्रामा एउटा कुरा प्रष्ट थियो । वरपर दुनियाँमा नपाइने सुन्दरता छ । माटोमा आलु र फापर फल्छ । मानिसहरू होम स्टे तयार पारेर बसेका छन् । हिउँका डल्लाले भरिएका हिमाल, तिनै हिमालका काँधबाट बग्ने सुन्दर झरना, बाटोमा सुसेली हाल्ने नदीनाला र जंगलले दिने शीतल चिसो हावा । कतै नभेटिने चराचुरुङ्गी र रेडपाण्डा जस्ता दुर्लभ वन्यजन्तु । कर्णालीको एउटा कुनामा स्वर्गकी अप्सरा रारा अर्को कुनामा उल्कै सुन्दर उनकी मितिनी शे-फोक्सुन्डो । यो ट्रयाक, यो यात्रा ट्रेकिङ, हाइकिङ, साइकिलिङ आदिका लागि सबैभन्दा अद्भुत रुट हुन सक्छ दुनियाँको ।

यो राज्यले हराएको अवसर हो कि ? राज्य आफैं हराएको खै थाहा भएन । तर एउटा चोखो मनले म राज्यसँग यो रुटको विकास होस् भनेर अनुरोध गर्न चाहन्छु । ढुङ्गा खोज्दा देउता भेटिन्छ भने झैं, खुट्टाको ब्याट्री सकिंदैथियो । शरीरको इन्जिन बन्द हुनै लाग्दा बाटोमा दुईवटा मोटरसाइकल भेटिए । परिचयमै चिनजान भयो । उहाँहरूले हिंडेर करिब चार घण्टा लाग्ने बाटोसम्म पुर्‍याइदिनुभयो । त्यहाँ पुर्‍याइदिनुभयो, जहाँ प्यारी शे-फोक्सुन्डोलाई भेट्न उकालो लाग्नु थियो ।

मोटरसाइकल आफ्नै गतिमा गुड्दै गर्दा मैले वरपरका नाङ्गा पहाडहरूको बुई पनि हेर्न भ्याए । समथर जमिन कतै थिएन । पहाडको भिरालो पनि बडो डरलाग्दो थियो । तर त्यही डरलाग्दो भिरालोमा खेती गर्दै गरेका मिहिनेती डोल्पालीहरूको हिम्मत र मिहिनेत पनि प्रेरणादायी थियो । उनीहरूले त्यो भिरालोमा साना-साना घर ठूलै बस्ती बनाएका थिए । झट्ट हेर्दा लाग्थ्यो यस्ता झड्के भीरमा घर कसरी बनाए होलान् । धर्तीसँग पत्थर जोड्ने चुम्बक हुनुपर्छ डोल्पालीहरूसँग । उनीहरूलाई सलुट गर्दै म सुलिगाडबाट नीलो भेरीसँग आँखा जुधाउँदै उकालो-उकालो हिंडिरहेको थिएँ ।

मलाई बास बस्न त्यहाँ पुग्नु थियो जहाँ पुग्ने चाह मलाई शायद म जन्मिनुपूर्व नै थियो । यति नीलो प्रकृतिको निर मिसिएको रंगीन नदी कहिल्यै देखेको थिएन जीवनमा । वरपर स-साना झरनाहरू झर्दै थिए । ती पनि रंगी-विरंगी थिए । प्रकृतिको रंगीन जादुसँग जति उकालो चढियो, उति फुर्ति निकालियो । कहीं कतै नरोकिएर म त्यहाँ पुगेको थिएँ, जहाँ पुगेपछि मलाई अन्यत्र कतै पुग्नु थिएन ।

शब्दै पिच्छे कविता फुर्न थाले । लाग्थ्यो म आफैं नै एउटा कविता हुँ । सुलिगाड झरनाको त्यो अलौकिक, अद्भुत, शब्दमा वर्णन गर्न नसकिने सुन्दरताको छेवैमा बसेर मनमा चार लाइन साहित्य, मकैको फुल उठेजस्तै भुट्भुट् गर्दै, भुइँमा खसे, झरनाको संगीतले हो कि मनको साहित्यले हो । हिंडाइको नशामा म त भुतुक्कै भएछु ।

झरनाको बगरपारि झपक्क निदाएछु, भीरलाई अँटिया (सुत्ने टाँडको पलङ्ग) अनि ढुङ्गालाई सिरानी बनाएर । साथीले उठायो । उठ्ने बित्तिकै झरनाको संगीतमा अघि मनको मोडमा भुटेका मकैका दानाहरूको शब्द कोरें । सानो टुक्रा लालीगुराँसको सुकेको पातमा अनि झोलामा हालें । कविता संग्रहको लागि शब्दहरू थिए ।

‘सोचेथें एउता कविता लेखौंला
कर्णालीका सुन्दर झरनाहरूमा रुझेर
तालहरूमा डुबेर, चुचुराहरूमा हराएर
कस्तो अचम्म कवि कविता लेख्छ
कर्णाली त कवि पो लेख्दो रहेछ ।।’

अन्तिम बल लगाएर बेलुकको करिब ६ बजे शे-फोक्सुन्डोको किनारमा पुगियो । नजिकै व्यवस्थित होटल थियो । होटलमा मानिसहरू भरिभराउ थिए । अलि परैसम्म हिंडें, एउटा ढुंगामा थुचुक्कै बसें । पहाडै पहाडको एउटा ठूलो बस्ती थियो । आकाशबाट हिउँ खसेका रहेछन् । यी बडेमानका पहाडका ठूला-ठूला छाती-छातीसम्म समुद्रको भन्दा पनि गाडा नीलो पानी भरिएको थियो । खै किन हो यहाँ आएर मेरो मान्छे हुने चाहना सकिए झैं लाग्यो । यो बेला तालको सुन्दरताको यस्तो मोहनी लाग्यो कि माछा बनी यहाँभित्र डुबुल्की मारुँ, अनि सधैंभरिको र सधैंका लागि हराइदिऊँ ।

नेपालमा बलियो अर्थतन्त्रको ठूलो चर्चा हुन्छ, युगौंदेखि । २०१३ सालमा अर्थतन्त्रमा नोबेल पुरस्कार विजेता जापानका थोमस पिकेटीको एउटा भनाइ याद आयो । उनले भनेका छन्, ‘अर्थतन्त्र सृजनात्मक हुनुपर्छ । खोजेर आफैं सृजना गरेर मात्रै दिगो अर्थतन्त्र स्थापित गर्न सकिन्छ ।’ कलिला युवाहरूको कर्म विदेशमा बेचेर टन्न विदेशी सहयोगमा बनेको अर्थतन्त्र सृजनात्मक हुँदैन ।

आफैंले सृजना गरेको अर्थतन्त्र मात्र आफैंले विशाल गराउन सकिन्छ । यसका लागि खोजी गर्न जरूरी छ । रारादेखि शे-फोक्सुन्डोसम्मको प्राकृतिक, अलौकिक, रमणीय ट्रयाकको निर्माण व्यवस्थापनले कर्णालीको पर्यटन क्षेत्रको नयाँ ढोका खोल्नेछ । यो सृजनात्मक पर्यटन क्षेत्र देशले भुलेको पाटो रारादेखि शे-फोक्सुन्डोको बाटो । चाँडै व्यवस्थित र विस्तारित होस् । धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?