+
+

गणेशमान सिंह रोड रेसको उपाधि गोपी र राजपुरालाई

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १८:०२

१७ वैशाख, काठमाडौं । एपीएफका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाइले वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् ।

वीर गणेशमान सिंह फाउन्डेसनको स्पोर्ट्स कमिटीले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ३१ मिनेट ११.४ सकेन्डमा निर्धारित दूरी पार गर्दै पार्कीले नयाँ कोर्स रेकर्डसहित उपाधि जिते ।

गोपीले आफ्नै नाममा रहेको ३१ मिनेट ४४.४९ सेकेन्डको कोर्स रेकर्ड सुधार गरेका हुन् । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी ३१ मिनेट १५.२ सेकेन्ड र आर्मीकै राजन रोकाया ३१ मिनेट २०.४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

महिलातर्फ राजपुराले निर्धारित दूरी ३७ मिनेट १०.५ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्स रेकर्डसहित उपाथि जितिन् । उनले सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३.४५ सेकन्डको कीर्तिमान तोडेकी हुन् ।

एपीएफकी पुष्पा भण्डारी ३८ मिनेट ०४.३ सेकेन्डमा दोस्रो तथा एपीएफकै विन्द्रा धन्के श्रेष्ठ ४० मिनेट २८.९५ सेकेन्डमा तेस्रो स्थानमा रहे ।

विजेताले ६० हजार, उपविजेताले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरे । नयाँ कीर्तिमान बनाएका गोपी र राजपुरालाई थप १०–१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

पाँच किलोमिटरतर्फ पुरुषमा आर्मीका मुकेशबहादुर पाल र महिलामा एपीएफकी फूलमती रानाले पहिलो स्थान हासिल गरे । मुकेशले १४ मिनेट ३३.८८ सेकेन्डमा निर्धारित दूरी तय गरे ।

दोस्रो भएका एपीएफका सन्तोषविक्रम विष्टले १४ मिनेट ५९.८६ सेकेन्ड तथा तेस्रो स्थानका आर्मीका सुवास कार्कीले १५ मिनेट १४.०२ सेकेन्डमा दौड पूरा गरे ।

फूलमतीले १७ मिनेट ४२.३१ सेकेन्ड खर्चिन् । आर्मीकी निर्मला केसी १८ मिनेट १५.३४ सेकेन्डमा दोस्रो र आर्मीकै पूर्णलक्ष्मी न्यौपाने १८ मिनेट २३.९४ सेकेन्ड दौड पूरा गरेर तेस्रो बने । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ प्राप्त गरे ।

पाँच किलोमिटरतर्फको रेस पहिलो पटक आयोजना गरिएको हो भने १० किलोमिटरतर्फ यो तेस्रो संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?