+
+

इटहरीमा कांग्रेसलाई गठबन्धनको आश, एमालेलाई विरासतको भर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते २०:१५
इटहरी उपमहानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार यामकुमार सुब्बा (बाँया) र नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल ।

१८ वैशाख, इटहरी । प्रदेश–१ को मुख्य शहर इटहरी उपमहानगरपालिकाको नेतृत्व लिन सत्तारूढ गठबन्धन र विपक्षी दल नेकपा एमालेका उम्मेदवारबीच बलियो प्रतिस्पर्धा हुने देखिएको छ ।

इटहरीको नेतृत्व नगुमाउने योजनाका साथ अगाडि बढेको एमालेले यामकुमार सुब्बालाई मेयरको उम्मेदवार बनाएको छ । ०७४ को निर्वाचनमा ८ वडाध्यक्ष सहित एमालेबाट द्वारिकलाल चौधरी मेयर र लक्ष्मी गौतम उपमेयर निर्वाचित भएका थिए ।

चौधरी र गौतम यसपटक पनि आकांक्षी थिए । कतिपयले उपमेयर गौतमले मेयरको टिकट ल्याउनसक्ने आँकलन गरेका थिए । तर उपमहानगर कमिटी अध्यक्ष सुब्बा मेयरका उम्मेदवार बने । एमाले नेताहरु, उपमहानगरको नेतृत्व नगुमाउने योजनाका साथ सुब्बालाई अगाडि बढाइएको बताउँछन् ।

‘यसपटक जनप्रतिनिधि नदोहोर्‍याउने नीति एमालेले लियो । फ्रेस अनुहार अगाडि बढाएका छौं’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भन्छन् । तेस्रो कार्यकाल उपमहानगर कमिटीको नेतृत्व गरिरहेका सुब्बालाई अगाडि बढाउनुमा जनजाति समुदायको सहानुभूति तान्न खोजिएको अनुमान गर्न सकिन्छ ।

एमालेले थारु मत तान्न संगीता चौधरीलाई उपमेयरको उम्मेदवार बनाएको छ । संगीताले इटहरी उपमहानगरपालिकको विकट क्षेत्रको मत तान्न सक्ने एमालेको आश छ । ०७४ को चुनावी परिणामका कारण पनि एमालेले चौधरी समुदायलाई छुटाउन नचाहेको देखिन्छ । गत चुनावमा कांग्रेसले २० मध्ये १२ वडाध्यक्ष जितेपनि एमालेबाट द्वारिकलाल चौधरीले मेयर जितेका थिए ।

०५४ कै जनप्रतिनिधि द्वारिकसँग अहिले पनि राम्रै व्यक्तिगत मत रहेको नेताहरु बताउँछन् । त्यसैले मेयरको टिकट पाउनासाथ सुब्बा चौधरीकै घर पुगेका थिए । एमाले नेतृत्वसँग पछिल्लो समय रुष्ट रहेका चौधरी सहयोग माग्न सुब्बा घरमै आएपछि चुनावी अभियानमा निस्किसकेका छन् । उनले कांग्रेसविरुद्ध आक्रामक प्रचार थालेका छन् ।

एमालेको विरासत तोड्न गठबन्धनले कांग्रेसका हेमकर्ण पौडेललाई अगाडि बढाएको छ । नगर सभापति पौडेललाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन छ । उपमेयरमा भने एकीकृत समाजवादीका केशवकुमार विष्ट उम्मेदवार छन् ।

सत्तारुढ दलहरुबीच गठबन्धन हुँदा इटहरीको मेयर पद एकीकृत समाजवादीकै भागमा पर्ने प्रचार गरिएको थियो । तर कांग्रेसभित्र डा. शेखर कोइराला समूहको दबावपछि कांग्रेस नगर सभापति पौडेल मेयरका उम्मेदवार बन्न पुगे । पौडेल अघिल्लो पटक पनि मेयरका उम्मेदवारको आकांक्षी थिए । तर रोहित प्रसाईंले टिकट पाएपछि पौडेल समर्थक सडक प्रदर्शनमै उत्रिएका थिए ।

यसपटक मेयरको टिकट पाएका पौडेल गठबन्धनको समर्थन र एमाले विभाजनको फाइदा उठाउने योजनामा छन् । ०७४ को चुनावमा छुट्टै चुनाव लडेको फोरम लोकतान्त्रिक कांग्रेसमै बिलय भइसकेकाले यसको फाइदा पौडेलले पाउनेछन् । राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव विष्ट उपमेयरको उम्मेदवार भएकाले एमालेकै कतिपय कार्यकर्ताको मत गठबन्धनका उम्मेदवारले पाउने पौडेलको विश्वास छ । विष्ट एमालेकै पुरानै नेता हुन् । पार्टी विभाजनपछि एकीकृत समाजवादीतिर लागेका विष्टले एमालेभित्र १० बुँदे पक्षधरको मत तान्नसक्ने अनुमान छ ।

एमाले र गठबन्धनका उम्मेदवारको नतिजा अन्य दलका उम्मेदवारले पाउने मतले प्रभावित बन्न सक्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेयर सहित १ वडा र जनता समाजवादी पार्टीले मेयर, उपमेयर सहित २ वडामा उम्मेदवारी दिएको छ । इटहरी राप्रपाका नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाको गृह नगर हो ।

यसपटक उनका छोरा आकाश हाङ लिम्बुले मेयरमा उम्मेदवारी दिएका छन् । पूर्वमन्त्री सुब्बाकै छोराले मेयरमा उम्मेदवारी दिएकाले राम्रै मत ल्याउने अनुमान गरिएको छ । जसपाबाट मेयरमा डिल्लीप्रसाद सुब्बाको उम्मेदवारी परेको छ । राप्रपा र जसपाले लिम्बु समुदायबाट उम्मेदवार बनाउनुको नोक्सान भने एमालेलाई पर्न सक्छ ।

तर एमालेले भने आफ्नो मत घट्ने नभएर झनै थपिएको दावी गरेको छ । ०७४ को चुनावमा राप्रपाबाट उम्मेदवार बनेका रमेश कार्की, माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार बनेका भीमप्रसाद सुवेदी र सुनसरी–२ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका माओवादीका डम्बर सुवेदी पार्टी प्रवेश गरेकाले यसपटक पनि एमालेले जित्ने नेताहरु दावी गर्छन् ।

०७४ को चुनावमा एमालेका द्वारिकलाल चौधरीले २२ हजार ६८९ मत ल्याएर मेयर जित्दा कांग्रेसका रोहित प्रसाईले १९ हजार ९८५ मत ल्याएका थिए । राप्रपाका रमेश कार्कीले तीन हजार ७१५, माओवादी केन्द्रकी हरिमाया जिमीको तीन हजार ३६४ र फोरम लोकतान्त्रिकका अरुण चौधरीले एक हजार ४३७ पाएका थिए । त्यो चुनावमा ५२ हजार ५२२ मत खसेको थियो ।

यसपटक २८ हजार मतदाता थपिएका छन् । थपिएको सहित इटहरी उपमहानगरपालिकामा मतदाता संख्या एक लाख चार हजार ६२६ पुगेको छ । थपिएको मतदाता तान्न दलहरूले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?