+
+

चुनावले साना होटलको व्यापार बढ्यो, ठूला होटलमा छैन उत्साह

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते २१:२५

१८ वैशाख, काठमाडौं । निर्वाचनले अर्थतन्त्र चलायमान बनाउँछ, यसो भन्दै गर्दा कोरोना भाइरसको महामारीले लामो समय थला परेका होटेल व्यवसायी खुसी हुनुपर्ने थियो । तर, निर्वाचन नजिकिँदै गर्दा ठूला होटल व्यवसायीमा उत्साह भने छैन । तर, स्थानीय क्षेत्रमा लज र सनना होटलहरुमा भने चहलपहल बढ्न थालेको छ ।

होटेल संघ नेपाल -हान)का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार निर्वाचनले ठूला होटेलमा उत्साह ल्याउँदैन । यस्तो ट्रेण्ड दक्षिण एसियाली भेगका धेरै जसो मुलुकमा देखिन्छ । उनका अनुसार निर्वाचन भन्नासाथ यो भेगमा हिंसात्मक घटना बढी हुन्छन् भन्ने मान्यता छ ।

यो मनोवैज्ञानिक कारणले निर्वाचनको समयमा सामान्यतया पर्यटकले घुमफिरको योजना बनाउँदैनन् । यो आन्तरिक तथा बाहृय दुबै पर्यटकमा देखिने उनको भनाइ छ । उनका अनुसार निर्वाचनको मिति वरपर विदेशी पर्यटकले सकेसम्म नेपाल यात्राको योजना बनाउँदैनन् ।

बनिसकेका योजनामा समेत यात्रा पर धकेल्ने प्रवृत्ति देखिन्छ । ‘निर्वाचनले ठूला होटेलमा उत्साह ल्याउँदैन,’ शाहले अनलाइनखबरसँग भने, ‘हाम्रो जस्तो मुलुकमा निर्वाचन शान्तीपूर्ण हुँदैन भन्ने मान्यता विदेशीमा छ ।’

३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनका दिन शुक्रबार परेको छ । यो दिन सामान्यतया धेरै नेपालीले एक वा दुई रातका लागि घुमफिरको योजना बनाएर शहर नजिकका गन्तब्यमा जाने दिन हो ।

तर, निर्वाचन भएका कारण आन्तरिक गन्तब्यका धेरै होटेल खाली हुने उनले बताए । एक त मानिस निर्वाचनको माहोलमा हुन्छ,’ उनी भन्छन्, अर्को केही भइहाल्छ कि, बाटो घाटो अवरुद्ध हुन्छ की भन्ने त्रासले सकेसम्म बाहिर ननिस्कने गरेको पाएन्छ ।’

निर्वाचनमा ट्रेड युनियनका माध्यमबाट मजदुरको प्रयोग बढी हुन्छ । यस्तो प्रवृत्ति पछिल्लो दिनमा भने केही घटेको अनुभव व्यवसायीको छ । १ मेमा पर्ने विश्व श्रमिक दिवसका दिन राजधानीका सबै होटेलबाट ट्रेड युनियनले मजदुरलाई नारा जुलुसमा लैजाने गर्थे ।

यो पटक निर्वाचन आचारसंहिताका कारण यसरी मजदुर लैजाने काम निकै कम भएको अनुभव व्यवसायीले गरेका छन् ।

निर्वाचनको समयमा मजदुरले काम नगर्दा व्यवसायमा पर्ने प्रभावले समेत ठूला होटेल व्यवसायीहरु निर्वाचनमा समस्या हुने गरेको अनुभव गर्छन् ।

खानपिन र लजमा भने बढ्छ व्यवसाय

निर्वाचनले आतिथ्य सेवाको अर्को पाटो खानपिन र ग्रामिण भेगका साना होटेल/लजमा भने व्यवसाय बढाउँछ । शाहका अनुसार अनौपचारिक अर्थतन्त्र बढी चलायमान हुने यस समयमा ग्रामिण भेगमा खुलेका होटेल तथा लजमा गतिविधि बढ्छ ।

त्यहाँको विजनेस पनि बढ्छ । तर, त्यो व्यवसाय औपचारिक प्रणालीमा आवद्ध नभएका कारण अर्थतन्त्रको प्रभाव कति हुन्छ भन्न सक्ने स्थिति भने हुँदैन । यसले स्थानीय उत्पादनको खपत बढ्ने हुँदा ग्रामिण अर्थतन्त्रमा सकारात्मक प्रभाव भने पार्ने उनको भनाइ छ ।

खासगरी राजमार्गमा यात्रु सामान्य अवस्थामा बढ्ने भएकाले ती भेगमा रहेका रेष्टुरेन्ट तथा खाजा घरले भने राम्रो व्यापार गर्ने उनले बताए ।

बढ्दैछन् होटेलमा पाहुना

कोरोना महामारी कम भएसँगै खुलेको पर्यटकीय बजारका कारण समग्रमा होटेलमा पाहुना भने बढ्ने क्रममा छन् । केही समय अगाडी पर्वतारोहणमा आएका विदेशका कारण भरिएका होटेलका कोठामा अहिले भारतीय पर्यटकको बाहुल्य बढी छ ।

चर्को गर्मी खेपिरहेको भारतबाट मध्यमवर्गीय परिवारहरुले घुमफिरका लागि नेपाल आउने गर्छन् । नेपाल र भारतबीच भिसा आवश्यक नपर्ने र कोभिड प्रोटोकलहरुसमेत खुला भएका कारण होटेलको अक्कुपेन्सी बढाउन भारतीय पर्यटकले ठूलो भूमिका खेलेको उपाध्यक्ष शाहले बताए ।

उनका अनुसार वायुसेवा कम्पनीले भारतका विभिन्न शहरबाट काठमाडौं उडानको संख्या बढाएसँगै अहिले पर्याप्त मात्रामा भारतीय पर्यटक नेपाल आइरहेका छन् ।

सरकारले १ जेठबाट लागु हुने गरी सातामा दुई दिन बिदा दिने घोषणा गरेको छ । यो घोषणाबाट सबैभन्दा धेरै उत्साहित पर्यटन व्यवसायी छन् । किनकी दुई दिन बिदाका कारण मुलुकमा आन्तरिक गन्तब्यमा घुमफिरको माहोल बिस्तार हुने र यसले व्यवसाय उकास्न सहयोग पुग्ने अपेक्षा व्यवसायीको छ ।

प्यासिफिक एशिया ट्राभल एसोसिएसन पाटाका सीइओ सुरेशसिंह बुडाल पर्यटन पुनरुत्थानको चरणमा रहेका कारण सकारात्मक खबर प्रवाहलाई जति धेरै बढाउन सक्यो, मुलुकले फाइदा लिन सक्ने बताउँछन् । यसका लागि सरकारसँगै पर्यटनमा आवद्ध सबै सरोकारवालाको एक स्वर हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?