+
+
रोल्पा नगरपालिकामा दलका घोषणा पत्र :

कांग्रेस भन्छ कानुनी शासन, माओवादीले शहीदको नाममा टावर बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते ८:२४

१९ वैशाख, रोल्पा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिएसँगै रोल्पामा दलहरू आफ्ना प्रतिवद्धता र घोषणापत्रसहित प्रचारप्रसारमा लागेका छन् ।

नेपाली कांग्रेस रोल्पा नगरपालिकाले कानुनको शासनलाई पहिलो प्राथमिकतामा राखेर घोषणा पत्र जारी गरेको छ । उसले विकास र सम्वृद्धिको पहिलो शर्त कानुनको शासन भनेको छ ।

आवश्यकता र औचित्यतताको आधारमा नगर विकास गुरुयोजना निर्माण गरी त्यसैका आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी यातायात, खानेपानी ढल निकास, ऊर्जा विकास, संचार, पर्यावरणलगायतका क्षेत्रमा कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने भनेको छ ।

कांग्रेसले दोस्रो प्राथमिकतामा शिक्षालाई राखेको छ । कांग्रेस रोल्पा नगरपालिकाले शैक्षिक संस्थाको पुनरसंरचना र वर्गीकरण गरी विद्यालय शिक्षादेेखि नै शोधमा आधारित सिकाइ प्रणाली लागू गर्ने कार्यक्रम अघि सारेको छ । जसका लागि उसले नगरपालिकामा अनुसन्धान विभागको स्थापना गर्ने भनेको छ । स्थापना गरिने विभागले स्थानीय तहका विभिन्न मुद्दाको वैज्ञानिक अनुसन्धान गरी सोही अनुसारको योजना र कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने भनेको छ ।

उसले स्वास्थ्य सेवालाई तेस्रो प्राथमिकतामा राखेको देखिएको छ । उसको घोषणा पत्रमा रोल्पा अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालको रुपमा निरन्तरता दिंदै रेफरल अस्पतालको रुपमा विकास गर्ने भनेको छ । नगरभित्रका स्वास्थ्य केन्द्रहरूको गुणस्तर सुधार गरी चौविसै घण्टा सेवादिने उल्लेख गरेको छ ।

नेपाली कांग्रेस रोल्पा नगरपालिकाले चुनावी घोषणा पत्रमा स्थानीय स्रोतमा आधारित आर्थिक प्रणालीको विकास गर्ने भनेको छ ।
सामाजिक सुरक्षा, भ्रष्टाचार नियन्त्रण र सुशासन नगरभित्रका सडकहरूको गुणस्तर सुधारका लागि एक विशेष कार्यदल निर्माण गर्ने भनेको छ ।

कार्यदलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहकार्य गरि विज्ञ इन्जिनियरको नेतृत्वमा एक विशेष कार्यदल गरी नगरभित्रका योजनाको अनुगमन, प्रोत्साहन र कारबाहीको सिफारिस गर्ने भनेको छ ।

कांग्रेसले भ्युटावर निर्माण गर्ने योजना भने अघि सारेको छैन । ‘भ्युटावर, प्रवेदश द्वार जस्ता विषय घोषणा पत्रमा समावेश नगर्ने पार्टी निर्देशन छ’ कांग्रेस रोल्पाका सचिव शेरबहादुर थापाले भने, ‘पूरा गर्न सकिने कुरा मात्रै घोषणा पत्रमा समावेश भएका छन् ।जनतालाई अनावश्यक सपना देखाउँदा नैराश्यता बढ्छ,’ थापाले भने ।

स्थानीय सरकारको स्रोतलाई आधार मानेर घोषणा पत्र जारी गरेको कांग्रेसका तर्फबाट रोल्पा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थापाले भने ।

रोल्पा नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरमा शेरबहादुर थापा र उपमेयरमा पुष्पा श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यसअघि नगरपालिकामा जित हात पारेको नेकपा (माओवादी केन्द्र) ले  भने आफ्नो पार्टी नेतृत्वमा बनेको स्थानीय सरकारले उल्लेख्य काम गरेको दाबी गरेको छ ।

गाउँगाउँमा सिंहदरबारको नारा औचित्य पुष्टि भएकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र आर्थिक विकासको आधार तयार भएको बताउँदै त्यसैको जगमा अघि बढ्ने चुनावी प्रतिबद्धता गरेको छ ।

माओवादीले सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको छ । नगर रिङरोड, वडावडाका मूल र सहायक सडकको स्तरोन्नती, केही रणनैतिक सडक कालो पत्रे र नगरपालिकाको केन्द्रबाट वडा कार्यालयसम्म पुग्ने सवै सडकलाई वाह्रै महिना गाडी चल्ने गरी ग्रावेल सडकको रुपमा विकास गर्ने भनेको छ ।

माओवादीको दोस्रो प्राथमिकतामा पुल परेको छ । स्वास्थ्यलाई तेस्रो प्राथमिकतामा राखेको माओवादीले शहीद परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम अघि सारेको छ ।

शिक्षालाई चौथो प्राथमिकतामा राखेको माओवादी केन्द्रले शैक्षिक हबको योजनालाई निरन्तरता दिने भनेको छ । नगरपालिकाभित्र स्नातक तहको इन्जिनियरिङ कलेजको स्थापना गर्ने भनेको छ । माओवादीले खानेपानी, कृषि, संचारलगायतका १६ विषय समेटेर प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

भ्युटावरको विरोध भइरहेका बेला माओवादीले पर्यटन शीर्षकमा जनयुद्ध स्मृति टावर, रक गार्डेन, गुरुङ गाउँ गुरिल्ला ट्रेल, गुरुङ गाउँ सामुदायिक होम स्टे तथा डर्कवाङ जलासयलाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ । रोल्पा नगरपालिकाको यसअघिको नेतृत्वले ६ करोड लगानीमा भ्युटावर बनाएको भन्दै चर्को विरोध भएको थियो ।

माओवादी केन्द्रको तर्फबाट रोल्पा नगरपालिकामा मेयरमा सुरेन्द्र थापा घर्ती र उपमेयरमा गीता आचार्यले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?